Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

नियम मिचेर शिक्षक नियुक्ति

विहीबार, ०३ पुस २०७६

काठमाडौं ३ पुस / उत्तरी पाँचथरको याङवरक गाउँपालिका–१ स्थित विष्णु माविले गत वैशाखमा गणित शिक्षकका लागि आवेदन माग ग¥यो । नयाँ पत्रिकामा विज्ञान र गणितका शिक्षक अभाव हुँदा नियम मिचेर नियुक्ति शिर्षकमा सरोज शर्माले लेखेको खबर अनुसार कसैको आवेदन नपरेपछि असोजमा पुनः आवेदन खुलायो । दोस्रोपटकसमेत अध्यापन अनुमतिपत्र भएका कसैको पनि निवेदन नपरेपछि विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाले संयुक्त रूपमा निर्णय गरेर अध्यापन अनुमतिपत्र नभएको व्यक्तिलाई शिक्षक नियुक्त गरेका छन् ।

सरकारी शिक्षकसरह तलब सुविधा पाउने गरी नियुक्त गरिएका शिक्षकका लागि सबै सेवा–सुविधा गाउँपालिकाले व्यहोरेको छ । विद्यार्थीले अघिल्लो वर्षको एसइई परीक्षा शिक्षक नै नदेखी दिनुपरेपछि विद्यालय व्यवस्थापन समितिले लाइसेन्स नभएकै भए पनि शिक्षक राख्ने सोच बनाएको थियो ।

गाउँपालिकाले तोकेको प्रतिनिधि राखेर विद्यालय व्यवस्थापन समितिले शिक्षक नियुक्त गरेको प्रधानाध्यापक अग्नि पाठकले जानकारी दिए । दुईपटक आवेदन खुलाउँदा पनि अध्यापन अनुमतिपत्र भएका कोही नआएपछि लाइसेन्स नभएकै भए पनि शिक्षक नियुक्त गरिएको उनले बताए ।

याङवरक–२ को बुद्ध माविमा विज्ञान विषय लिएका शिक्षक आवश्यक भए पनि नपाएपछि गणित पढेका शिक्षक नियुक्त गरिएको छ । सोही गाउँपालिकाको वडा नम्बर ३ मा पनि विज्ञान र गणित शिक्षक छैनन् । पटक–पटक आवेदन खुलाउँदा पनि लाइसेन्स भएको कसैको निवेदन नपरेपछि लाइसेन्सविनाकै शिक्षक राख्ने तयारी भइरहेको बताइएको छ । 

जिल्ला शिक्षा समन्वय एकाइ पाँचथरका प्रमुख युगमणि सबेहाङले संघीय शैक्षिक कानुनअनुसार लाइसेन्स नभएकालाई शिक्षक नियुक्त गर्न नमिल्ने बताए । उनले भने, ‘यो शैक्षिक कानुनविपरीत हो । लाइसेन्स नभएकालाई शिक्षक नियुक्त गरे उसलाई दिइएको सेवा–सुविधा बेरुजुका रूपमा रहन्छ ।’ 

प्रतिक्रिया