Edukhabar
आइतबार, ०९ मंसिर २०८१
विचार / विमर्श

गुणस्तरीय शिक्षा : सवाल एक मापदण्ड अनेक

शनिबार, २८ मंसिर २०७६

गुणस्तरीय शिक्षाका मापदण्डको सम्बन्धमा समान अवधारणा पार्इंदैन । गुणस्तरीय शिक्षाका बुँदागत मापदण्डहरुमा समानता नभए पनि राज्यले तय गरेको शिक्षा नीति, शिक्षाको व्यक्तिगत, सामाजिक र राष्ट्रिय उद्देश्य प्राप्तिका लागि निर्माण गरिएका पाठ्यक्रम, पाठ्यपुस्तक, विद्यालयको भौतिक सुविधा, पठनपाठनको वातावरण एवं  मुल्याड्ढन जस्ता कुराहरुले गुणस्तरीय शिक्षामा भूमिका खेल्ने कुरामा भने दुईमत छैन । यसको साथै बिषयगत शिक्षकहरुको योग्यता, शिक्षण सीप, पेशा प्रतिको जवाफदेहीता र शैक्षिक व्यवस्थापन गुणस्तरीय शिक्षामा प्रभाव पार्ने माध्यम हुन् ।

आधारभूत रुपमा शिक्षाले बालबालिकाहरुको प्रतिभालाई जागृत गराउनु पर्दछ । कुनै पनि बिषयको आत्मबोध र आत्मानभूति हुन सक्ने शिक्षा गुणस्तरीय शिक्षाको प्रतिविम्व हो । शिक्षाको गुणस्तरीयता शिक्षार्थीको मानसिक, नैतिक, वौद्घिक एवं व्यवसायिक दक्षताले निर्धारण गर्दछ । शिक्षा मानिसको आन्तरिक शक्तिहरुलाई बाहिर ल्याउने माध्यम हो । आजको युगमा शिक्षालाई असल मानवीय जीवनको सार्थकता र सभ्य समाज निर्माणका साथै भौतिक विकासको पूर्वाधार मानिन्छ । अमेरिकन शिक्षाविद् जोन डिवेले त शिक्षा जीवनको लागि होइन, जीवन नै हो भनेका छन् । यसरी हेर्दा जीवनमा आवश्यक पर्ने सम्पूर्ण आवश्यकताहरुको परिपूर्ति गर्ने माध्यम शिक्षा हो ।

‘जस्तो बीऊ रोप्यो त्यस्तै फल पाइन्छ’ भन्ने नेपाली लोक बोली व्यवहारवादी दृष्टिकोणले वैज्ञानिक छ । बीऊ अनुसारको बोट भए जस्तै कस्तो शिक्षा प्रणालीबाट कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा राज्यको शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ विधी, मूल्याङ्कन पद्धति आदीले निर्धारण गर्दछ ।

दार्शनिक प्लेटोेले मानिसले प्राप्त गरेको शिक्षाले नै उसको भविष्यको दिशा निर्देश गरेको हुन्छ, भनेका छन् । यसको अर्थ कुनै पनि व्यक्तिले आर्जन गरेको शिक्षाको आधारमा उसको जीवनको बाटो निर्धारित हुन्छ भन्ने हो । व्यक्ति–व्यक्ति मिलेर समाज बन्दछ र धेरै समाजको सामुहिक गठबन्धनले देश बन्दछ । यसरी हेर्दा नागरिकले प्राप्त गरेको शिक्षाले व्यक्ति, समाज र सिङ्गो देशलाई प्रभाव पार्ने कुरामा दुईमत हुन सक्दैन ।

शिक्षाको कार्यक्षेत्र विस्तृत र व्यापक भएकोले यसको परिभाषामा पनि एकरुपता पाईंदैन । विवेकानन्दले मानिसमा भएको सम्पूर्णताको पहिचान शिक्षा हो भनेका छन् । शिक्षालाई रुशोले मानिसको आचरण निर्माणको माध्यम मानेका छन् ।  महात्मा गान्धीका अनुसार शिक्षा बालक र मानिसको शरीर, मन र आत्ममा रहेका असल कुराहरुलाई बाहिर निकाल्ने माध्यम हो । यसरी हेर्दा शिक्षा आदर्श एवं कर्मशील मानव जीवन तयार गर्ने साधन हो । शिक्षाले नागरिकलाई सभ्य, गतिशील र अनुशासित बनाउँछ ।

शिक्षाविद् म्याकेञ्जीले शिक्षालाई मानिसको शक्तिहरुको चेतना पूर्वक विकास र सुधार गर्ने साधनका रुपमा लिएका छन् । पेस्तालोजीले शिक्षालाई मानिसको आन्तरिक शक्तिहरुको स्वाभाविक, क्रमिक र प्रगतिशील विकास हो भन्दै गर्दा  दार्शनिक सोक्रेट्सले त प्रत्येक मानिसमा लुकेर बसेको सार्वजनिक वैधताको विचारलाई बाहिर ल्याउने शक्ति हो भन्ने धारणा राखे ।

पूर्वीय उपनिषद्हरुमा शिक्षालाई आनन्दको लक्ष्य प्राप्त गर्ने साधनको रुपमा लिईएको पाइन्छ । त्यसो त अनुभव शास्त्रीहरुले शिक्षालाई बालबालिकाहरुका लागि शिष्टता, धनीहरुका लागि आभूषण, बृद्घहरुका लागि आत्म सन्तुष्टि र गरिबहरुका लागि छाना हो भन्ने गर्दछन् ।

उल्लेखित व्यक्ति एवं व्यक्तित्वहरुको शिक्षा प्रतिको धारणाले अवश्य पनि गुणस्तरीय शिक्षाको विशेषता झल्केको पाइन्छ । स्वभाविक हो विद्यालयमा पुग्ने बालबालिका भनेका विभिन्न वर्ग, समुदाय, धर्म, संस्कृति, चलन र प्रचलनहरुको पृष्ठ भुमिका हुन्छन् ।

अब्राहम लिङ्कन, समाजका बालबालिकाहरुलाई शिक्षा दिन सकियो भने प्रौढहरुलाई सिकाउनु नै पर्दैन भन्ने धारणा राख्थे । यसर्थ नागरिकलाई गुणस्तरीय शिक्षा दिई सक्षम बनाउने आधिकारिक संस्था राज्य हो । राज्यले तय गरेको शिक्षाको संरचना भित्र रहेर शिक्षा प्रदान गर्ने काम शिक्षालयहरुको हो । शिक्षा क्षेत्रमा कार्यरत शिक्षक, प्राध्यापक तथा  यस क्षेत्रका प्रशासक लगायतका शिक्षा कर्मीहरुको हो । विडम्वना,  हाम्रा शिक्षालयहरु बेरोजगार शैक्षिक जनशक्ति उत्पादन गर्ने प्रयोगशालाको रुपमा प्रतिविम्बित भएका छन् । शिक्षाले आत्मनिर्भता, स्वावलम्बी, औद्योगिक ज्ञान र सीप भएका नागरिक उत्पादन गर्न नसकेको सामाजिक बहस छ । उल्लेखित सामाजिक बहसका प्रश्नहरुको तार्किक जवाफ दिन सक्ने मोडेलको शिक्षालाई गुणस्तरीय शिक्षा भन्ने की ?

अनुशासन मानव जीवनको पहिलो प्राथमिकता हो । शिक्षाले आफुलाई जन्मदिने आमा, बाबुको महिमा लगायत समग्र मानव समुदाय प्रतिको कर्तव्य र दायित्वलाई राम्ररी बुझाउन सक्नु पर्दछ । असल मानव व्यहारका साथै सामाजिक मुल्य, मान्यता र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम पनि शिक्षाको हो । अहिले समाजमा शिक्षित सन्ततिहरुबाट आप्mना वृद्घ आमा बाबुलाई वृद्घाश्रममा जान बाध्य बनाउनेहरुको संख्यामा वृद्धि हुँदै जाने क्रम बढ्दो छ । आफ्ना अन्धा आमा बाबुको  सेवा गर्ने श्रवणकुमारहरु जस्तै छोराछोरीहरु कतै इतिहासको पनामा मात्र सिमित हुने त होइनन् ! यस कोणबाट हेर्दा नैतिकवान, चरित्रवान, शिष्ट, सभ्य, शालीन, सुसंस्कृत, कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्न सक्ने शिक्षा नै गुणस्तरीय शिक्षाको एउटा पक्ष हुन सक्छ की ? 

अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । लोकतान्त्रिक समाजमा आफ्नो कर्तव्य, दायित्व एवं जिम्मेवारी बोध भएका नागरिकहरु आवश्यक हुन्छ । शिक्षाले व्यक्तिमा सहिष्णु व्यबहार, लोककल्याणकारी चिन्तन, परोपकारी कार्य र प्र्रजातान्त्रिक आचरणको विजारोपण गर्न सक्नु पर्दछ । समाजमा अन्य समुदायका सामाजिक मुल्य, मान्यता, संस्कार, धर्म, भाषा, प्रचलन आदि विविधताहरुलाई इज्जत गर्न सक्ने, समसामयिक समाजमा सामाजिकीकरण र सामञ्जस्य गर्न सक्ने गुण नै शिक्षित नागरिकका गुण हुन् । अहिले समाजमा शिक्षित नागरिकहरुमा नै सामाजिक अनुशासन, आपसी समझदारी, प्रजातान्त्रिक आचरण, सहिष्णु व्यबहार र शालीन व्यक्तित्वको अभाव देखिन्छ । यस सन्दर्भमा गुणस्तरी शिक्षा अन्तरगत नागरिक शिक्षाका आधारभूत गुण एवं लक्षणहरुले प्रशिक्षित नागरिक उत्पादन गर्ने शिक्षालाई सामाजिक दृष्टिकोणबाट हेर्दा गुणस्तरीय शिक्षा मान्दा कसो होला ?

संसार एक्काईसौं शताब्दीको दोस्रो दशकमा  छ । यो शताब्दी, ज्ञान, विज्ञान र प्रविधिको युग पनि हो । शिक्षाले शिक्षार्थीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विकास भएका वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र आविष्कारहरुको ज्ञान प्रदान गर्नुको साथै खोज मुलक चिन्तन र सिर्जनशील प्रतिभाका ढोकाहरु खोलिदिनु पर्दछ । आजको युगमा गुगल गुरुलाई उपयोग गर्न सक्ने कम्प्युटर शिक्षा वा ई–शिक्षाको महत्व बढ्दै गएको छ । विज्ञान र अनुसन्धानको क्षेत्रमा शिक्षाको पहुँच समयको माग हो । यसरी हेर्दा विज्ञान र प्रविधि मैत्री शिक्षालाई गुणस्तरीय शिक्षाको अर्को एउटा मापदण्ड स्विकार गर्दा के बिग्रन्छ ?

हाम्रो जस्तो गाउँँ नै गाउँहरुले भरिएको कृषि प्रदान देशका शिक्षार्थीलाई कोदालो देखि कम्प्युटर सम्मको ज्ञान आवश्यक हुन्छ । कृषि गर्ने परम्परागत शैलीको ज्ञानलाई बदलेर  आधुनिक  कृषि प्रणालीको ज्ञान र सीप आजको शिक्षाको अनिवार्य सर्त हो । वैज्ञानिक दृष्टिकोण भित्र जैविक विविधता अनुसारको कृषि, पशुपालन, फलपूmल खेति, जडीबुटी लगायतका कार्यगत सीपहरु शिक्षाको प्राविधिक क्षेत्र हो । यस अर्थमा शिक्षामा आधुनिकीकरण र उद्योगिकीकरणको प्राविधिक सीप शिक्षाको जगबाट आर्जन गर्नु समाजको आवश्यकता हो । यसरी हेर्दा कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यबसायीकिरण गरी आय आर्जनका बाटा र पाटाहरु सिर्जना प्राविधिक ज्ञान एवं सीप सहितको कृषि शिक्षालाई पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाइमा समावेश गरेमा गणुस्तरीय शिक्षाको एउटा खाडल पुरिन सक्छ की ?

हाम्रा देशका शिक्षालायहरुमा गुणस्तरीय पठन पाठनको स्तर खस्कदैं गएको जन गुनासो छ ।  हाम्रा गुरुहरु परम्परागत अध्यापनशैलीबाट आधुनिक शिक्षण कलामा रुपान्तरित हुन नसक्नुको नै गुणस्तरीय शिक्षाको एउटा व्यवधान हो भन्ने मत बढ्दो छ । शिक्षण पेशा एक प्राविधिक कार्य हो । जुनसुकै प्राविधिक कार्य सम्पन्न गर्नका लागि निश्चित सीप र दक्षताको आवश्यकता पर्दछ । शिक्षक तथा प्राध्यापकहरु गुणस्तरीय शिक्षा सम्पे्रषणका सारथी हुन् । यी सारथीहरुमा मौलिक शिक्षण शास्त्रको निपूर्णता र पेशागत इमान्दारिता नभएमा स्तरीय सिकाइ संभव हुन सक्दैन । यस अर्थमा शिक्षण पेशामा संलग्न गुरुजनहरुले आधुनिक शिक्षण सिकाइमा आवश्यक पर्ने सैद्धान्तिक, मनोवैज्ञानिक, व्यवहारिक एवं प्राविधिक ज्ञान तथा सीपलाई शिक्षण पेसाको लागि अनिवार्य प्राज्ञिक सर्तलाई गणस्तरीय शिक्षाको एउटा मापदण्ड मान्न सकिन्छ की ?

उल्लेखित मन्थन, गन्थन र थनथनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने  राज्यले शिक्षा जस्तो प्राज्ञिक थलोलाई हचुवाको भरमा निर्णय गर्ने काम बन्द गर्नु पर्दछ । विद्यमान शिक्षालाई गुणस्तरीय बनाउन समाजका विज्ञ, विशेषज्ञ, शिक्षक, प्राध्यापक, विद्यार्थी, अभिभावक, बुद्घीजीवी, प्राज्ञ, विषयविद्, शिक्षाविद् लगायतका सरोकारवालाहरुसंग राय, सल्लाह, सुझाव एवं विचारहरु आदान प्रदान गरी आजको समाज, समय र भोलिको पुस्ताको आवश्यकताको आधारमा गुणस्तरीय शिक्षाका मापदण्डहरु तय गरिनु पर्दछ ।

अन्त्यमा गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । यसको लागि वर्तमान शिक्षाको अवस्था र यसका कमी कमजोरीहरुमा सुधार गर्न जरुरी छ । यसो गर्दा  वर्तमान शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ विधि लगायतका क्षेत्रमा समय सापेक्ष शंसोधन, परिमार्जन र परिवर्तन गर्दै शिक्षालाई गुणस्तरीय, व्यवहारिक, जीवन उपयोगी, रोजगार मैत्री एव अनुसन्धानमूलक बनाउन जरुरी छ ।

प्रतिक्रिया