Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

वैशाखको शुल्कमा आधा छुट

आइतबार, ३१ जेठ २०७२

काठमाडौं ३१ जेठ / भूकम्पका कारण पठन पाठन नभएको अवधिको आधा शुल्क मिनाह हुने भएको छ । शुल्क छुटको माग गर्दै आन्दोलन कार्यक्रम घोषणा गरेका विद्यार्थी संगठनहरुले आईतबार बिहान प्रधानमन्त्रीलाई भेटी ध्यानाकर्षण समेत गराएका थिए ।

दिउँसो बसेको मन्त्री परिषद् बैठकमा प्रधानमन्त्रीले शिक्षा मन्त्रीलाई उक्त माग सम्बोधन गर्ने बारे निर्देशन दिएपछि शिक्षा मन्त्रालयले उक्त माग पुरा गर्न आवश्यक तयारी थालेको श्रोतले बताएको छ । सोही अनुरुप मन्त्रालयका प्रवक्ता डा.हरी लम्सालले विज्ञप्ति निकालेर आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन विद्यार्थी संगठनलाई आग्रह गरेका छन् । 

भूकम्प प्रभावित अभिभावकलाई राहत उपलब्ध गराउने मनसायका साथ वैशाख महिनाको समग्र मासिक शुल्कको पचास प्रतिशत छुट दिने सहमती भएकोले सोको कार्यान्वयन गर्ने मन्त्रालयले जनाएको छ । अन्य शैक्षिक संस्थाहरुमा समेत सो अनूरुपको राहत उपलब्ध गराउन शिक्षा मन्त्रालय अनुरोध गर्दछ, विज्ञप्तिमा भनिएको छ ।

भूकम्पका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षाको ब्यवस्था मिलाउने गरी काम गर्ने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुल्कका बारेमा वैशाख ६ गते भएको सहमती कार्यान्वयन गर्न मन्त्रालय प्रतिवद्ध रहेको पनि बताएको छ ।

मन्त्रालयको विज्ञप्तिलाई विद्यार्थी संगठनहरुले सकारात्मक भएको प्रतिकृया दिएका छन् । अखिल क्रान्तिकारीका संयोजक रमेश मल्लले शुल्क छुटको कुरा सकारात्मक भएको बताए । तर वैशाख ६ गतेको सहमती कार्यान्वयन मुख्य कुरा रहेकोले त्यो कार्यान्वयनको सुनिश्चितता आवश्यक रहेको बताए । तत्कालै विद्यार्थी संगठनको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेविसंघका प्रवक्ता यूपी लामिछानेले बताए ।

प्रतिक्रिया