Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

कक्षा १ देखि ५ सम्मका विद्यार्थी एउटै कोठामा !

मंगलबार, १० मंसिर २०७६

काठमाडौं १० मंसिर / सल्यानको छत्रेश्वरी गाउँपालिका स्थित त्रिभुवन जनमाध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी एउटै कोठामा बसेर पढ्ने गरेका छन्। एउटा कोठामा ५ वटा कक्षा शिर्षकमा मीना बुढाथोकीले लेखेको खबर अनुसार कोठा अभावका कारण विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका सुस्त श्रवण विद्यार्थी एउटै कोठामा बसेर पढेका हुन्।

विद्यालयमा सुस्त श्रवण स्रोत कक्षा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार र पाठ्यसामग्री अभाव छ। विद्यार्थीका लागि एउटै कोठा भित्र फरक–फरक स्थानमा कक्षा सञ्चालन गरिएको छ। यसरी पढाउँदा सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेको शिक्षिका शान्ता केसीले बताइन्। स्रोत शिक्षकसमेत रहेकी उनले भनिन्, ‘विद्यालयमा शैक्षिक सामग्रीसमेत पर्याप्त नहुँदा सुस्त श्रवण विद्यार्थी पढाउन कठिन हुने गरेको छ।’

विद्यालयको स्रोत कक्षामा ११ छात्र र चार छात्रा गरी १५ विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक जितबहादुर भण्डारीले ०५९ सालदेखि विद्यालयमा सांकेतिक भाषा कक्षा यसरी नै सञ्चालन गरिएको बताए। १० विद्यार्थीको कोटा भए पनि थप पाँच जना भर्ना गर्दा व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ।

‘भौतिक संरचना अभावले विद्यार्थीलाई कक्षाअनुसार छुट्टाछुट्टै कोठा व्यवस्थापन गर्न सकिएको छैन’, उनले भने, ‘यस विषयमा छलफल भइरहेको छ, आगामी शैक्षिक सत्रसम्म समस्या समाधान गर्ने प्रयासमा छांै।’

सांकेतिक भाषामार्फत अध्यापन गर्ने शिक्षिकाको व्यवस्था भएपछि पहिलेको तुलनामा सजिलो भए पनि कोठा अभावले समस्या हुने गरेको उनले सुनाए। जिल्लाका अन्य विद्यालयमा पनि सञ्चालन गरिएका स्रोत कक्षाको पठनपाठन प्रभावकारी बन्न सकेको छैन । शिवजन माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन कक्षाका विद्यार्थीले समेत ब्रेललिपिबिनै अध्ययन गरिरहेका छन्। यो विद्यालयमा पनि अन्य विद्यार्थीसँगै दृष्टिविहीन विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षक राजेश अर्यालले बताए ।

‘दृष्टिविहीन विद्यार्थीले नबुझ्दा एउटै कुरा पटक–पटक दोह‍ो¥याउनुपर्छ’, उनले भने, ‘ब्रेललिपिमार्फत पठनपाठन नहुँदा विद्यार्थीलाई सास्ती छ ।’ विद्यालयमा १९ दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन्। १७ वर्षदेखि स्रोत कक्षा सञ्चालन भइरहेको यो विद्यालयमा पनि पर्याप्त जनशक्ति र भौतिक संरचना अभावले पठनपाठनमा समस्या छ। 

प्रतिक्रिया