Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

शिक्षकको सञ्चय कोषको रकम गायव ! कोषका कर्मचारीको आलटाले जवाफ

शुक्रबार, ०६ मंसिर २०७६

काठमाडौं - सञ्चय कोषमा जम्मा गर्न कट्टा गरी पठाएको रकम गायव भएको भन्दै शिक्षकले हार गुहार गरेका छन् । कालिका मावि हेलौछा, भोजपुरका शिक्षक हेमन्त जंग कठेतले २ वर्ष अघि विद्यालयवाट एक चौमासिकको रकम कट्टि गरि पठाईएको भए पनि हालसम्म जम्मा नभएको भन्दै गुनासो गरेका छन् । २०७६ वैशाख देखि असार सम्म कोषमा पठाईएको रकम मध्ये कसैको जम्मा भएको र कसैको नभएको पाहिएको उनले बताए । 

आफ्नो तलबबाट कट्टा गरी पठाएको रकम जम्मा नभए पछि विराटनगर स्थित कोषको कार्यालयमा जम्मा गरेको भौचरको अर्धकट्टी सहित सोधखोज गर्दा पनि सुनुवाई नभएको उनको आरोप छ । 

'सँगै कट्टा गरी पठाएको रकम मध्ये कसैको जम्मा भएको छ तर मेरो छैन मेरो त ३३ हजार रुपैंया नै गायव भयो, यो रकम कहाँ छ कसरी जम्मा हुन्छ ?' प्रश्न गर्दै उनले भने 'म पढाउन लागौं की कोषको कार्यालय धाउँदै बसौं ?'

यस विषयमा जानकारी लिन कोषको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्दा कर्मचारीले आलटाले जवाफ दिएका छन् । कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले केही प्राविधिक कारणले यस्तो भएको हुन सक्ने भन्दै आफू प्राविधिक मान्छे नभएकोले कोषको टोल फ्रि नम्बरमा फोन गरेर बुझ्न एडुखबर सम्वाददातालाई सुझाव दिए । 

'हुन त कोषको प्रवक्ता मै हो तर, यो प्राविधिक कुरा हो मैले यसो भएको भनौंला कुरो अर्कै होला त्यसैले उतै सम्पर्क गरौं है त' उनले भने । 

उक्त टोल फ्रि नम्बरमा फोन गर्दा संकलन शाखामा सम्पर्क राख्न भनियो । तर त्यहाँका कर्मचारीले फेरी कल सेण्टरमा सम्पर्क राख्न सुझाव दिए । अन्तिममा कल सेण्टरका कर्मचारीले पनि के कसो भएको हो बुझ्नै पर्ने भन्दै स्पष्ट कुरा नभनी आलटाले जवाफ दिएर टारे । 

'सरकारी तलब खाने कर्मचारीको रकम राज्यकै अर्को निकायबाट गायव हुँदा कहाँ गुनासो गर्ने हो ?' दिक्क मान्दै शिक्षक कठेत भन्छन्, 'घटना एउटा व्यक्तिको भनिएला तर दुख गरेर कमाएको रकम गायव हुँदा पीर पर्दो रहेछ ।'

प्रतिक्रिया