Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

अनुमति पाएको पाँच वर्ष दरबन्दी भने शुन्य

शुक्रबार, ०६ मंसिर २०७६

काठमाडौं ६ मंसिर / रुकुम पूर्वको भुमे गाउँपालिका–२ को त्रिवेणी मावि काँक्रीलेमावि तहसम्मको पठनपाठनका लागि ०७१ सालमा तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट अनुमति पायो । मावि सञ्चालनका लागि अनुमति पाएको पाँच वर्ष बित्दा पनि विद्यालयले शिक्षक दरबन्दी भने पाउन सकेको छैन । 

नयाँ पत्रिकामा अभिभावकको भरमा मावि सञ्चालन शिर्षकमा मनीष खड्काले लेखेको खबर अनुसार बालविकासदेखि कक्षा १० सम्म पढाइ हुने विद्यालयमा माविको एउटा पनि दरबन्दी छैन । माविमा शून्य दरबन्दीका कारण आधारभूत तहका शिक्षकको भरमा मावि सञ्चालन भइरहेको छ । माविको स्वीकृति पाए पनि दरबन्दी नपाउँदा वर्षौंदेखि आधारभूत तहका शिक्षकले नै माविका विद्यार्थीलाई पढाइरहेका छन् ।

विद्यालयका अधिकांश शिक्षक गाउँलेको सहयोगबाट नियुक्त गरिएका हुन् । विगत ६ वर्षदेखि विद्यालय सेवा क्षेत्रभित्रका स्थानीयले पाँचजना शिक्षकको तलब व्योहोर्दै आएका छन् ।

स्थानीयले दिन्छन्  पाँच शिक्षकलाई तलब
निजी स्रोतका पाँचजना शिक्षकले मासिक नौ हजारदेखि १५ हजारसम्म तलब लिने गरेका छन् । त्यो रकम अभिभावकले नै व्यहोर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीबहादुर बुढाले जानकारी दिए । ‘शिक्षकको तलब भत्ताका लागि वर्षमा ११–१२ लाख आवश्यक पर्छ, तर विद्यालयको आयस्रोत केही छैन,’ उनले भने, ‘स्वदेश तथा विदेशमा रहेका अभिभावकले स्वस्पूmर्त रूपमा दिएको रकमबाट निजी स्रोत शिक्षकलाई तलब खुवाउँदै आएका छौँ ।’ 

स्थानीय व्यापारीले समेत विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको उनले बताए । हाल विद्यालयमा आधारभूत तहका तीन, गाउँपालिकाले नियुक्त गरेका दुई, निमावि राहत एक र निजी स्रोतका पाँच शिक्षकबाट मावि तह सञ्चालन भइरहेको छ । निजी स्रोतबाट शिक्षक राख्दा पठनपाठनका साथै स्थानीयलाई आर्थिक भार परेको प्रधानाध्यापक मदन शर्माले बताए ।

अन्य विद्यालयको हालत पनि उस्तै 
त्रिवेणी मावि मात्र होइन, गाउँपालिकाका कुनै पनि विद्यालयमा माविको दरबन्दी छैन । गाउँपालिकामा सातवटा मावि सञ्चालनमा छन् । जनशक्ति मावि काँडा र मावि कुचिवाङले पनि दरबन्दी नहुँदा समस्या भोगिरहेका छन् । यी विद्यालय पनि अभिभावककै भरमा सञ्चालन भइरहेका छन् । 

अभिभावकले स्वस्फूर्त रूपले दिएको तथा विभिन्न शीर्षकमा तोकेरै लिइएको शुल्कबाट विद्यालय सञ्चालन भइरहेको अभिभावकको भनाइ छ । निःशुल्क भनिएको माध्यमिक तहसम्मको शिक्षाका लागि पनि चर्को शुल्क तिर्नुपर्ने अवस्था रहेको स्थानीय अभिभावकको गुनासो छ । आधारभूत तहका शिक्षकले समेत मावि तहसम्मको पठनपाठन गराउँदा पठन–पाठन कमजोर हुने गरेको छ ।

कक्षा १–१२ सम्म सञ्चालित सिद्धचौर मावि लुकुम, जनजागृति मावि महत, सहिद शुक्र मावि सीमा र नेपाल राष्ट्रिय मावि चुनवाङले पनि विद्यार्थी संख्याको तुलनामा दरबन्दी पाउन सकेका छैनन् । १–१० सम्म सञ्चालित विद्यालयमा मावि तहको एउटा पनि दरबन्दी नहुँदा पठनपाठनमा समस्या हँुदै आएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख डायमन्ड पुनले बताए । 

विद्यार्थी संख्याको आधारमा दरबन्दी नहुँदा सबैभन्दा बढी नेपाल राष्ट्रिय मावि चुनवाङ समस्यामा परेको छ । एउटै कक्षामा धेरै सेक्सन हुँदा पठनपाठनमा समस्या छ । 

प्रतिक्रिया