Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

शिक्षक दरबन्दी मिलान सकेर बाँकी पदमा समेत छनौट

बुधबार, ०४ मंसिर २०७६

खोटाङ् - दिप्रुङ चुइचुम्मा गाउँपालिकाले शिक्षक दरबन्दी मिलान सकेर बाँकी रहेका पदमा समेत नयाँ शिक्षकको छनौट गरेको छ । पालिका भित्रका ४८ वटा विद्यालयका लागि आवश्यक शिक्षकको दरबन्दी मिलान सके पछि बाँकी रहेका पदमा गाउँपालिकाको अनुदान कोटाबाट श्रोत उपलब्ध गराउने गरी पदपूर्ति गरिएको हो । 

पालिका भित्र रहेका २ सय ५४ शिक्षकको दरबन्दी मिलान सकेर अपुग १० जना शिक्षक छनोट गरिएको हो । गत आईतबार पदपूर्ति गरिएका उक्त अनुदान कोटाको  शिक्षक मध्ये माविमा एक जना र आधारभूत तहमा ९ जना शिक्षक चयन गरिएको पालिकाले जनाएको छ । उनीहरुका लागि आवश्यक तलब भत्ता दिन गाउँ सभा बैठकबाटै ५० लाख रुपैंया विनियोजन गरि सकिएको थियो ।  

छनौट अघि लिखित र प्रयोगात्मक परीक्षाको आवश्यक प्रकृया पुरा गरी गोला प्रथाबाट छानिएका रोष्टर शिक्षक मार्फत छनौट गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद दाहालले जानकारी दिए । 

माविमा जनसंख्या विषयका लागि रिता राई, निमावि तर्फ विज्ञान विषयमा पारसकुमार दनुवार, राजकुमार यादव, मिराम राई र प्रदीप मेहता छनोट भएका छन् । यस्तै, निमावि सामाजिकमा नविन खड्का र प्रावि तर्फ सीतादेवी भट्टराई, तृष्णा राई, कमला थापा तथा जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त प्रावि अनुदान अन्तर्गत जनचेतना प्रावि छिता पोखरीका लागि शम्भु तामाङ उत्तीर्ण भएका गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले विभिन्न विद्यालयमा शिक्षक नियुक्तिका लागि १५ वटा कोटा उलपब्ध गराएको थियो । यही बीचमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर आएका १७ जना र बालविकास तर्फ ७ जनाको नियुक्ति भएको छ । यदी कँही कतै अझै शिक्षक आवश्यक पर्ने देखिएरेमा थप शिक्षक अनुदान कोटामा नियुक्ति गर्ने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

यो सँगै पालिका भित्र शिक्षकको अभाव लगभग नभएको र अब शिक्षण कृयाकलापमा केन्द्रित हुने बाटो प्रसस्त भएको उनको दावी छ । 

'संधै शिक्षक अभाव भयो भन्ने वहानामा सिकाइ र पठन पाठन रोकिदैं आएको थियो, अब त्यो च्याप्टर क्लोज भएको छ' उनले भने 'संविधानले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत गरेको अवस्थामा अनेक वहाना गरेर काम गर्न नदिने परिपाटिलाई भत्काउन पनि हामीले यो गर्नै पर्ने थियो, सबैको सहयोगले गर्न सक्यौं, अब नयाँ बाटो शुरु भएको छ ।' 

शिक्षाको उचित व्यवस्थापन विना समाज निर्माण कोरा कल्पना मात्रै हुने भएकाले शिक्षा सुधारमा पालिका केन्द्रित भएको राइले बताए । यस अघि नै पालिकाले शिक्षा नियमावली निर्माण गरेर शिक्षा सुधारको काम शुरु गरेको थियो ।

'गाउँ गाउँमा डोजर कुदाएर खनेको बाटोले तत्काल विकास त देखिएला तर शिक्षामा लगानी वृद्धि र व्यवस्थापनमा उचित ध्यान नदिए सम्म त्यस्तो विकासको अर्थ छैन' उनले भने, 'भौतिक विकास पनि गर्नै पर्छ, त्यो तत्कालको आवश्यकता हो, तर शिक्षामा गरिएको कामको नतिजा आउन केही समय लागे पनि समाज निर्माणमा दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्ने भएकोले धैर्यता पूर्वक लागिरहन पर्छ भन्नेमा हामी सचेत छौं ।'

प्रतिक्रिया