Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयको प्रवक्तामा शर्मा

मंगलबार, ०३ मंसिर २०७६

काठमाडौं - सहसचिवको सरुवा सँगै खाली भएको शिक्षा मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक शर्मालाई दिईएको छ । गत कात्तिक २४ गतेको निर्णय अनुसार उनलाई प्रवक्ताको जिम्मेवारी दिईएको मन्त्रालयले जनाएको छ । 

यस अघि सामान्यतया योजना महाशाखा प्रमुखलाई प्रवक्ताको जिम्मेवारी दिईने प्रचलन थियो । पछिल्लो पटक पनि योजनाकै बैकुण्ठ प्रसाद अर्याल प्रवक्ता थिए । योजना महाशाखाका प्रमुख भनेको मन्त्री निकटका व्यक्ति हुने र मन्त्रालयले गरेका काम कारवाहि सार्वजनिक गर्दा मन्त्रीको स्प्रिट अनुसार सार्वजनिक गर्न सहज हुने मान्यतामा उक्त प्रचलन निरन्तर गरिएको थियो । तर यस पटक मन्त्रालयको प्राविधिक शिक्षा महाशाखा प्रमुख रहेका शर्मालाई उक्त जिम्मेवारी तोकिएको छ । 

वैदेशिक अध्ययनका शिलशिलामा लामो समय बाहिर बसेका कारण योजना महाशाखा प्रमुख कमल पोखरेललाई सञ्चारकर्मीसँग हेलमेल बढाउन समय लाग्ने भएकोले शर्मालाई जिम्मेवारी दिईएको मन्त्री निकट श्रोतले जनाएको छ । 

गत असोज ७ गते मन्त्रालयका सहसचिवहरुको सरुवा हुनु अघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा रहँदा शर्मा त्यहाँको प्रवक्ता समेत थिए ।

२०५० सालमा सिन्धुपाल्चोकमा विद्यालय निरिक्षकबाट सेवा प्रवेश गरेका काभ्रेको वनेपाका शर्मा २०६३ सालमा उपसचिव भएका हुन् । २०७३ सालमा सहसचिव भए पछि उनी केन्द्रमा थिए । 

सेवा अवधिमा विभिन्न जिल्लामा काम गरेका उनी पहिलो संविधान सभा निर्वाचनमा झापा र दोश्रो संविधान सभा निर्वाचनमा दोलखाको जिल्ला शिक्षा अधिकारी भएका थिए । शर्मा लामो समय तत्कालिन शैक्षिक जनशक्ति विकास केन्द्रमा कार्यरत थिए । कक्षा कोठामा गर्नु पर्ने सुधार, सिकाइ वातावरण निर्माण तथा शिक्षाका जनशक्तिको चुस्त एवं प्रभावकारी कार्यसम्पादन, दुरदृष्टि र योजना निर्माणमा उनको दख्खल रहेको मानिन्छ ।

प्रतिक्रिया