Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

बढुवा विवाद : अध्यक्ष नह्ँदा उजुरीको सुनुवाई नै भएन

सोमबार, ०२ मंसिर २०७६

काठमाडौं २ मंसिर / त्रिभुवन विश्वविद्यालय सेवा आयोगले बढुवाको सिफारिस गरेको ७ महिना बित्दा पनि रजिस्ट्रार डिल्लीराम उप्रेतीले नियुक्ति पत्र पाएका छैनन्। त्रिविमा बढुवा विवाद शिर्षकमा सूर्य प्रसाद पाण्डेले लेखेको खबर अनुसार आयोगले उप्रेतीलाई गत चैतमा प्राध्यापकमा बढुवा सिफारिस गरेको थियो। तर अनुभवीलाई पाखा लगाएर कनिष्ठलाई बढुवा गरेको दाबीसहित त्रिविकै पुनरावेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरी परेपछि उप्रेतीसहित १८ जना प्राध्यापक र सह–प्राध्यापकको नियुक्ति रोकिएको छ।

पुनरावेदन आयोगले त्रिविमा प्राध्यापक तथा कर्मचारी छनोट गर्दा अनियमितता भएको विषयमा छानबिन गर्छ। यो त्रिविको स्वायत्त निकाय हो। तर आयोग एक वर्षदेखि अध्यक्षविहिन छ। अध्यक्ष नहुँदा उजुरीमाथि अध्ययन हुन सकेको छैन। आयोगको अध्यक्ष त्रिवि सिनेटले तोक्नुपर्छ।

प्रधानमन्त्री तथा कुलपतिको निर्देशनपछि मात्र त्रिविको सिनेट बस्छ। आयोगमा अध्यक्षसहित दुई सदस्य हुन्छन्। चैतमै प्राध्यापकमा बढुवा भएका धेरैले नियुक्तिपत्र लिएर पढाउन समेत थालिसकेका छन्। उनीहरूले वैशाखदेखि नै बढुवा तलबसमेत लिइसकेका छन्।

बढुवा भएका प्राध्यापकहरुमाथि विश्वविद्यालय र सेवा आयोगका पदाधिकारीले आफूअनुकूल नियम बनाउँदै प्राध्यापक बढुवा गरेको र योग्य व्यक्तिलाई पाखा लगाएको आरोप लागेको छ। अर्थशास्त्र (शिक्षा), तथ्यांक शास्त्र (मानविकी), स्वास्थ्य, जनसंख्यालगायत विषयमा प्राध्यापक बढुवा गर्दा मनपरि गरेको आरोप लागेको हो। उप्रेती अर्थशास्त्र शिक्षा विषयका सह–प्राध्यापक हुन्।

उनीसँगै बुटवल बहुमुखी क्याम्पसमा सह–प्राध्यापक रहेका नुरजंग केसीलाई गत चैत २४ गते प्राध्यापका बढुवा गर्न सेवा आयोगले त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो। प्राध्यापकमा बढुवाका लागि उप्रेती र केसीसँगै प्रतिस्पर्धी रहेका सह–प्राध्यापकद्वय नरेन्द्र कटुवाल र दिलनाथ फुयालले उक्त सिफारिस बदर गर्न माग गरेका छन्। विश्वविद्यालयको रजिस्ट्रार भएका व्यक्ति प्राध्यापकमा बढुवाका लागि प्रतिस्पर्धा गरेर उप्रेतीले नैतिक कमजोरी देखाएको आरोप यसअघि पनि लागेको थियो।

प्राध्यापकमा बढुवा हुन यसअघि विद्यावारिधि उपाधिप्राप्त व्यक्तिलाई दिइँदै आएको नम्बरसमेत घटाएर रजिस्ट्रारकै जोडबलमा कार्यविधि परिवर्तन गरेको आरोप लागेको छ। कुल सय पूर्णांकमा उप्रेतीले ७३ दशमलव ७२ र केसीले ७६ दशमलव ९९ अंक ल्याएर प्राध्यापकमा बढुवा भएको उजुरीमा उल्लेख छ।

तर प्राध्यापकमा बढुवा हुन आवश्यक योग्यताको यथार्थ परीक्षण हुने हो भने आफ्नो ८५ र फुयालको ८० नम्बर आउने कटुवालले दाबी गरे। अर्थशास्त्र शिक्षा विषयको प्राध्यापक पदको अन्तरवार्ताका लागि तोकिएभन्दा एक घण्टा ढिलो भएको थियो। यसले पनि उप्रेतीलाई नै प्राध्यापकमा बढुवा गर्ने सेवा आयोगका पदाधिकारीको नियत नियत प्रष्ट देखिएको आरोप उजुरीमा लगाइएको छ।

उजुरीकर्तामध्येका एक कटुवालले भने, ‘उजुरी हालेको नै सात महिना भइसक्यो। तैपनि तारेख धाउनेबाहेक अन्य काम भएको छैन। आयोगले पूर्णता नपाउँदासम्म केही होलाजस्तो छैन।’ त्रिविले भने सिनेट बैठक बोलाउने विषयमा छलफल भइरहेको जनाएको छ। कर्मचारी भर्तीमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दाको पनि किनारा लागेको छैन।

प्रतिक्रिया