Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

दीक्षान्त समारोह समिति गठनको निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण

सोमबार, १८ कार्तिक २०७६

काठमाडौं - डा. धर्मकान्त बाँस्कोटाले दीक्षान्त समारोह आयोजक मूल समिति गठनको निर्णयमा हस्ताक्षर गर्दै त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिको पदभार ग्रहण गरेका छन् । उक्त समिति विश्वविद्यालयका रजिष्ट्रारको संयोजकत्वमा गठन हुने छ । पदभार ग्रहण गर्दा औपचारिकताका लागि कुनै एक  निर्णयमा हस्ताक्षर गर्ने प्रचलन अनुसार उक्त निर्णयमा हस्ताक्षर गरिएको रेक्टर सुधा त्रिपाठीले जानकारी दिईन् । 

'पदभार ग्रहण गर्दा केही न केही निर्णयमा हस्ताक्षर गर्ने यो एउटा औपचारिक निर्णय मात्रै हो' उनले भनिन् । 

विश्वविद्यालयको दीक्षान्त समारोह आगामी पुसमा हुने छ । समारोहका लागि प्रमुख अतिथी लगायतका व्यक्ति छनौट गर्ने काम भने कार्यकारीको बैठकले तय गर्ने छ । 

यसैबीच कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीबाट नियुक्ति पाएको भोलिपल्ट सोमबार दिउँसो पदभार ग्रहण गर्दै बाँस्कोटाले विश्वविद्यालयको विकास र उन्नतीका लागि सबै पक्षसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । शैक्षिक क्यालेण्डर निर्माण गर्ने, प्राध्यपकहरुलाई प्राध्यापन गर्ने वातावरण निर्माण गर्ने, विश्वविद्यालयलको आर्थिक अवस्थालाई चुस्त दुरुस्त बनाउने लगायतका विषयमा आफू प्रतिवद्ध रहेको उनले बताएका छन् । २०३६ साल वैशाख २६ गते सहायक प्रशिक्षक पदबाट त्रिवि सेवामा प्रवेश गरेका  बाँस्कोटा २०६६ सालमा प्राध्यापकमा बढुवा भएका हुन् ।  

शिक्षा मन्त्रीको अध्यक्षतामा गठित सर्च कमिटिले उनको नाम २ नम्बरमा सिफारिस गरे पनि प्रधानमन्त्रीको रोजाईमा बास्कोटाको नियुक्ति भएको हो ।  

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल संयोजकत्वको सर्च कमिटिले मुटुरोग विशेषज्ञका रुपमा ख्याती कमाएका डा. भगवान कोइरालालाई उपकुलपति बनाउन १ नम्बरमा सिफारिस गरे पनि प्रधानमन्त्रीको रोजाईमा बास्कोटा परेका कारण कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको केही समयमा आईतबार बाँस्कोटाको नियुक्ति भएको थियो । सर्च कमिटिले परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेललाई तेश्रो नम्बरमा सिफारिस गरेको थियो । 

तत्कालीन उपकुलपति तीर्थ खनियाको कार्यकाल गत भदौ ५ गते सकिएसँगै विश्वविद्यालय उपकुलपति विहिन थियो । 

चार वर्ष नेपाल मेडिकल काउन्सिलको अध्यक्ष समेत भइसकेका बाँस्कोटा नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । बास्कोटाको कार्यकाल चार वर्षको हुने छ ।  

यसैबीच विश्वविद्यालयमा राजनीतिक आस्थाका आधारमा नियुक्ति भएको भन्दै प्रमुख प्रतिपक्षी दलका विद्यार्थीले विरोध गरेका छन् । उनीहरुको विरोधलाई ध्यानमा राखेर विश्वविद्यालय परिषरमा व्यापक मात्रामा प्रहरी परिचालन गरेर बाँस्कोटाको पदभार कार्यक्रम सकिएको छ । 

शिक्षा मन्त्रालयले अन्य ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष सहित सदस्य हुन ईच्छुकलाई आवेदन हाल्न सार्वजनिक आह्वान गरेको छ । आवेदन प्रति ख्याती प्राप्त प्राज्ञले रुची देखाएका छैनन् ।

यो पनि पढ्नुहोस् : शंकाको सहुलियत मेटाऊ

फोटो : त्रिवि सूचना

प्रतिक्रिया