Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

शिक्षकलाई 'ट्रेनर' बनाउने तयारी

आइतबार, ०३ कार्तिक २०७६

काठमाडौं - आगामी २०७८ जेठ २८ गते देखि शुरु हुने राष्ट्रिय जनगणनाको प्रयोजनमा शिक्षकलाई 'ट्रेनर' बनाउने बारेमा शिक्षा मन्त्रालयसँग छलफल शुरु गरेको केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ मा करारमा नियुक्त गरिने गणकहरुलाई आवश्यक तालिम दिनका लागि शिक्षक खटाउने विषयमा छलफल शुरु भएको विभागका जनसंख्या निर्देशक ढुण्डीराज लामिछानेले बताए । 

'हामी तालिमको योजना निर्माणको चरणमा छौं, १३–१४ सय जति ट्रेनर चाहिन्छ भन्ने प्रारम्भिक अनुमान गरिएको छ' उनले भने 'त्यसका लागि शिक्षकलाई खटाउँदा प्रभावकारी हुन सक्ने हाम्रो ठम्याई भएका आधारमा शिक्षा मन्त्रालयसँग छलफल जारी छ ।'

यसरी शिक्षक खटाउँदा शैक्षिक क्यालेण्डरलाई असर नपुग्ने गरी निर्धारण गर्ने पनि उनले बताए । 

गत साउन ६ गते राजपत्रमा प्रकाशित राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६ मा जनगणना सञ्चालन र व्यवस्थापनका विषयमा विस्तृत उल्लेख गरिएको छ । सोही आधारमा गणकका रुपमा शिक्षक नखटाउने भन्दै विभागले बेरोजगार युवालाई करारमा भर्ना गर्ने तय गरिसकेको छ । 

यसरी करारमा भर्ना गर्दा उच्च शिक्षा हासिल गरेका स्थानीय युवालाई प्राथमिकता दिने उनको भनाई छ । जनगणनाका लागि चाहिने ४३ हजार २ सय ७७ गणक र ९ हजार भन्दा बढी सुपरीवेक्षकलाई तीन महिनाका लागि नियुक्ति दिने विभागको तयारी छ । जनगणनामा  ५४ हजार ४ सय १३ कूल जनशक्ति खटिने बताउँदै  लामिछानेले अन्य जनशक्ति भने भने सरकारी कर्मचारीबाटै व्यवस्थापन गर्ने बताए ।  

२०७८ जेठ २८ गते देखि १५ दिनसम्म जनगणना हुने छ । त्यस अघि आगामी माघ १ गते देखि चैत ३०गते सम्म नमूना जनगणना गर्ने विभागले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा पनि सार्वजनिक गर्न आईतबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार उक्त नमूना जनगणनाका लागि १ करोड १७ लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ  । हिमाल पहाड र तराईको जनसंख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी प्रत्येक प्रदेशबाट २ जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमूना जनगणना हुने विभागले जनाएको छ ।  

जनगणनाको नारा मेरो गणना मेरो सहभागिता रहेको छ । 

प्रतिक्रिया