Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

त्रिविमा सुधारको संकेत, छिटो नतिजा

आइतबार, २९ कार्तिक २०७२

काठमाडौं, २९ कात्तिक  । नाकाबन्दीका कारण निकै असहज परिस्थिति बेहोरे पनि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले केहि संकायको नतिजा धेरै छिटो प्रकाशित गरेको छ ।  आन्दोलन र नाकाबन्दी सुरु नहुँदै सञ्चालन भएका परीक्षाको नतिजा तीन महिनाको हारहारीमा सार्वजनिक गरेको छ । थोरै विद्यार्थी भएका संकाय तथा विषयमा पनि वर्ष दिन लगाउने गरेको आलोचना खेप्दै आएको पनिकाले केहि समययता छिटो नतिजा सार्वजनिक गरिरहेको हो । 

त्रिविले साढे दुई महिनामै पनि नतिजा सार्वजनिक गरेको छ । गत साउनमा सञ्चालित बिएस्सी तेस्रो वर्ष, आईएससी, आइकमको नतिजा मंगलबार सार्वजनिक भएको छ ।   त्यसैगरी, मंगलबार बिएएलएलसी, एमए इकोनोमिक्सको पनि नतिजा सार्वजनिक भइसकेको छ । मानविकी संकायको स्नातक तेस्रो वर्षको नतिजा भने साढे दुई महिनामै २८ असोजमा सार्वजनिक भइसकेको छ । आइएको पनि नतिजा सार्वजनिक भइरहेको छ ।

सह–नियन्त्रक शंकर भण्डारीले कर्मचारी तथा अधिकारीहरू सबैको सामुहिक प्रयासले नतिजा छोटो समयमा सार्वजनिक गर्न सफल भएको बताए । सहनियन्त्रक भण्डारीले भने, ‘हामीले इन्धन, दक्ष जनशक्तिलगायत धेरै समस्या भोगिरहेका छौं, तर पनि सबैको धेरै प्रयासले नतिजा छिटो सार्वजनिक गर्न सफल भएका छौं ।’ अन्य संकायको तुलनामा मानविकी संकायले छिटो नतिजा सार्वजनिक गर्दै आएको छ ।

विद्यार्थीको अलि बढी चाप भएका बिएड र बिबिएस तेस्रो वर्षको भने नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । त्रिविका उपकुलपति प्रा।डा। तीर्थराज खनियाँले देखिने गरी काम गर्न कर्मचारीहरूलाई आग्रह गर्दै आएका छन् ।   परीक्षादेखि नतिजासम्म विद्यार्थीको प्रत्यक्ष सरोकार हुने भएकाले यसमा प्राथमिकता दिन उपकुलपतिको आग्रह गर्दै आएका छन् ।

त्रिविले नतिजा छिटो ल्याउने उद्देश्यले केहि समयअघि उत्तरपुस्तिका परीक्षणको पारिश्रमिकमा पनि परिमार्जन गरेकाले वातावरण राम्रो बन्दै आएको छ ।  समयअनुसारको पारिश्रमिक निर्धारण गरेकाले परीक्षकले धेरै पारिश्रमिक पाउनका लागि पनि समयमै उत्तरपुस्तिका परीक्षण गरी पठाउने गरेका छन् ।  

२० दिनभित्र उत्तरपुस्तिका परिक्षण गर्नेलाई प्रतिउत्तरपुस्तिका ३५ रुपैयाँ निर्धारण गरिएको छ । त्यसपछि ढिलाई गर्नेको पारिश्रमिक घटाउँदै लगेको छ । यसअघि समय नतोक्दा प्राध्यापकहरूले महिनौंसम्म उत्तरपुस्तिका घरमै राख्ने गरेको आरोपसमेत लाग्ने गरेको थियो ।  

नाकाबन्दी र आन्दोलनको समयमा टियूले तराईका सात जिल्लामा परीक्षा नै स्थगित गरेको थियो । स्नातक प्रथम वर्षको परीक्षा नै हुन सकेको थिएन ।  स्थगित भएको परीक्षा ३० कात्तिकदेखि सञ्चालन गर्ने तयारी गरेको छ । यसले पनि आगामी नतिजामा केहि असर पार्ने देखिएको छ । 

त्रिविमा सुधारको संकेत

परीक्षाफल प्रकाशित गर्न ढिलाइ गर्ने गरेको आरोप खेप्दै आएको त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका परीक्षणमा पारिश्रमिक बढाएपछि छिटो परीक्षण हुन थालेको छ ।  बिए तेस्रो वर्षको नतिजा साढे दुई महिनामा प्रकाशित भएको छ भने बिएस्सीलगायतको नतिजा तीन महिनामा आएको छ ।   कर्मचारी तथा अधिकारीको सामूहिक प्रयासले नतिजा छोटो समयमा सार्वजनिक गरिएको सह–नियन्त्रक शंकर भण्डारीको भनाइ छ ।

(आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले समाचार लेखेका छन्।) 

प्रतिक्रिया