Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

मदन भण्डारी विश्वविद्यालयको स्थान चीनले रुचाएन

मंगलबार, २८ असोज २०७६

काठमाडौं २८ असोज / मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका लागि नेपालले रोजेको स्थानलाई चीनले नरुचाएको पाइएको छ । सरकारले मकवानपुरको चित्लाङमा यो विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको थियो तर चिनियाँ पक्षबाट यसबारे सकारात्मक प्रतिउत्तर पाउन नसकिएको बताइएको छ ।

नेपाल सरकारले भौतिक पूर्वाधार निर्माणका लागि चीन सरकारसँग अपेक्षा राख्दै आएको छ । 

गोरखापत्रमा मदन भण्डारी विश्वविद्यालय र कन्फ्युसियस इन्स्टिच्युट बन्ने शिर्षकमा प्रकृति अधिकारीले लेखेको खबर अनुसार   भर्खरै सम्पन्न चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणमा यसबारे सैद्धान्तिक सहमति भए पनि स्पष्ट सहमति बन्न सकेन । नेपाल र चीन दुवै पक्षले आइतबार जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालले उपयुक्त स्थान छनोट गरेपछि चाँडो सहयोग पु¥याउने वचनबद्धता व्यक्त गरिएको उल्लेख छ ।

विश्वविद्यालयका लागि चीनको तर्फबाट बन्ने कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा छलफल गर्ने सहमति भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विकास समितिका पदाधिकारीहरूले चिनियाँ पक्षलाई चन्द्रागिरिमा लगेर टाढैबाट चित्लाङ देखाएका थिए ।

समितिका अध्यक्ष प्रा. डा. राजेन्द्रध्वज जोशीले चित्लाङ देखाउँदा चिनियाँ टोलीले तत्काल कुनै प्रतिक्रिया नदिएको बताउँदै भन्नुभयो, “पछि मात्र त्यो स्थान उनीहरूले नरुचाएको थाहा भयो । चिनियाँ पक्षले उपत्यकाबाट नजिक रहेको स्थानको अपेक्षा गरिएको पायौँ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘ड्रिम प्रोजेक्ट’का रूपमा चित्लाङमा विश्वविद्यालय बनाउने योजना रहेको छ । सुरुमा एसियाली विकास बैङ्कको सहयोगमा इन्जिनियरिङ विश्वविद्यालय स्थापना गर्ने योजना बनाइए पनि पछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरिएको थियो । कुल ७४० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय रूपमा अब्बल विश्वविद्यालय बनाउने योजनाअनुरूप मन्त्रालयले काम गरिरहेको छ । हाल यो विश्वविद्यालयसम्बन्धी विधेयक संसद्को समितिमा छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहालले सो विश्वविद्यालय स्थापनाका लागि सहयोग गर्न चीन सरकार इच्छुक नै रहेको पाइएको बताउँदै थप्नुभयो, “छलफल अगाडि बढ्नेछ । सकारात्मक सहमति हुनेमा हामी पूर्ण विश्वस्त छौँ ।”

यसैबीच मित्रराष्ट्र चीनको सहयोगमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपालमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गरिने भएको छ । 

 

प्रतिक्रिया