Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

छापामा शिक्षा : नतिजा हेरफेर

सोमबार, १३ असोज २०७६

काठमाडौं १३ असोज /एमबिबिएस प्रवेश परीक्षामा दुई सय ८८ विद्यार्थीको नतिजा हेरफेर प्रकरणमा काठमाडौं विश्वविद्यालय (केयू)ले विद्यार्थीलाई उत्तरपुस्तिका हेर्न दिने भएको छ । नयाँ पत्रिकामा केयूमा एमबिबिएस प्रवेश परीक्षाको नतिजा हेरफेरः विद्यार्थीले चाहेमा उत्तरपुस्तिका हेर्न पाउने शिर्षकमा छापिएको खबर अनुसार केयूको स्कुल अफ मेडिकल साइन्सेसले लिएको प्रवेश परीक्षामा लापरबाही भएपछि विरोधमा उत्रिएका विद्यार्थीलाई सम्बोधन गर्न विश्वविद्यालयले उत्तरपुस्तिका हेर्न दिने निर्णय गरेको हो । 

डिन प्रा.डा. राजेन्द्र कोजूले विद्यार्थीलाई आफ्नो नतिजामा विश्वास दिलाउन ‘एन्सर–सिट’ र ‘एन्सर–की’ हेर्न दिने व्यवस्था गरेको बताए । 

केयूले छात्रवृत्तिसमेतका लागि लिएको प्रवेश परीक्षाको नतिजा ४ असोजमा सार्वजनिक गरेको थियो । आठ हजार १४४ विद्यार्थीले परीक्षा दिएकोमा चार हजार ६ सय ४८ पास भएका थिए । तर, नतिजामा चित्त नबुझेपछि नौ सय ८६ विद्यार्थीले रिटोटलिङ गरेका थिए ।

शुक्रबार पुनः नतिजा सार्वजनिक हुँदा चार हजार चार सय ८९ जना मात्रै पास भएकोमा दुई सय ८८ विद्यार्थीको नतिजा नै हेरफेर भयो । अघिल्लो नतिजामा फेल भएका पास र पास भएका फेल भए । डाक्टर बन्ने सपना बुनेका विद्यार्थीको छात्रवृत्ति पाउने तथा सम्बन्धन प्राप्त मेडिकल कलेजमा भर्ना भएर भविष्य निर्धारण गर्ने योजनामा केयूको लापरबाहीले धक्का पुगेको छ ।

केयूअन्तर्गतका मेडिकल कलेजमा एक सय १० विद्यार्थीले छात्रवृत्ति पाउँछन् । 

काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षाको प्रश्नपत्रसमेत बाहिरिएका घटना छन् । डिन कोजूले प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्नैपर्ने बताए । उनले भने, ‘मअन्तर्गत भएको काममा मभन्दा माथिबाट छानबिन हुनुपर्छ । छानबिनका लागि रजिस्ट्रार सरलाई भन्छु ।’ परीक्षा चलिरहेको फोटो खिचेर बाहिर आयो वा परीक्षा सकिएपछि बाहिरिएको भन्ने छानबिनबाट थाहा हुने केयूका प्राध्यापकको भनाइ छ । 

डिन राजेन्द्र कोजू भन्छन्–प्राविधिक त्रुटिको नैतिक जिम्मेवारी मैले लिनुपर्छ

प्रतिक्रिया