Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

शिक्षा मन्त्रीद्वारा कार्यक्षेत्र मिचेर सम्बन्धनको तयारी

आइतबार, ०५ असोज २०७६

काठमाडौं ५ असोज / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ८ वर्षदेखि सम्बन्धन लिन निवेदन दिएका २० नर्सिङ र बाँकी अन्य विषयका गरी २८ निजी कलेजलाई सम्बन्धन दिने तयारी गर्नुभएको छ।

नेपाल समाचारपत्रमा  ईश्वरराज ढकालले लेखेको खबर अनुसार मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्र मिचेर ती कलेजलाई सम्बन्धन दिने तयारी गर्नुभएको हो। आयोगले पूर्णता पाएपछि तत्काल सम्बन्धन दिन कठिन हुने देखिएपछि मन्त्री पोखरेलले अधिकांश मापदण्ड पूरा नगरेका कलेजलाई सम्बन्धन दिन लाग्नुभएको हो।

विसं २०६९ सालदेखि सम्बन्धनको प्रक्रियामा रहेका ती कलेजलाई मन्त्री पोखरेलको निर्देशनमा मन्त्रालयको उच्च शिक्षा तथा प्राविधिक महाशाखामार्फत पत्र पठाएर अनुगमन गर्न पत्र दिनुभएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभी) का अध्यक्ष रहनुभएका मन्त्री पोखरेलले सीटीईभीटीमार्फत अनुगमन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै गलत प्रक्रियाबाट अनुगमन गरी सम्बन्धन दिने तयारी गर्नुभएको छ।

मन्त्री पोखरेलले परिषद्लाई जानकारी नदिई गोप्यरूपमा सम्बन्धन लिने तयारी गरी त्यस्ता कलेजलाई मन्त्रालयबाट सीधै पत्र पठाइएको छ। मन्त्रालय स्रोतका अनुसार अध्यक्षको हैसियतले सीटीईभीटीलाई निर्देशन दिनुपर्नेमा नियम उल्लंघन गर्दै चार दिनअघि पत्र पठाउन लगाउनुभएको छ।

सम्बन्धन दिन आर्थिक चलखेल भएपछि आठ वर्षदेखि रोकिँदै आएको प्रक्रिया पुनः खुला गरी सम्बन्धन दिन लागेको स्रोतले दाबी गरेको छ। गएको असार १८, १९ र २२ गते तीन दिनसम्म बसेको परिषद्को बैठकले स्वास्थ्य विषय सञ्चालन गर्ने निजी कलेजलाई सम्बन्धन दिने अन्तिम समयसम्म प्रयास गरेको थियो।

यसअघि सीटीईभीटीले २८ निजी स्वास्थ्य संस्थालाई सम्बन्धन दिन ५ पेज लामो पत्र मन्त्रालय पठाएको थियो। मन्त्रालयले चिकित्सा शिक्षा र स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख गरेको बुँदासँग बाझिने भएकाले तत्काल सम्बन्धन दिन राय पठाएको थियो।

त्यसको करिब ३ महिनापछि पुनः सम्बन्धन दिने प्रक्रिया शुरू भएको छ। मन्त्री पोखरेलको सचिवालयले तत्काल सम्बन्धन दिन दबाब दिँदै आएको छ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्ति भएको पहिलो बैठकमा यो विषयले प्रवेश पाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको आयोगमा प्रम ओलीले श्रीकृष्ण गिरीलाई बधाई दिएपछि बिदा हुनुभएको थियो।

त्यसपछि करिब १० वटा एजेन्डासहित शुरू भएको बैठकमा सम्बन्धनको विषय प्रवेश भएको थियो। ‘सम्बन्धनको विषयमा कुरा उठेको थियो, तर अहिले केही ठोस निर्णय भएको छैन।’ –उपाध्यक्ष गिरीले भन्नुभयो।

‘हामी सम्बन्धन दिने विषयमा धेरै गम्भीर छौं, कलेज अनुगमन गरी मापदण्ड पूरा भए/नभएको फेरि अध्ययन गर्नेछौं।’ –उहाँले भन्नुभयो। उहाँले तत्काल अध्ययन नगरी सम्बन्धन दिने विषयमा फेरि छलफल गर्नुपर्ने बताउनुभयो।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ अनुसार संस्था सञ्चालन अनुमति दिने अधिकार गाउँपालिका र नगरपालिका तहलाई हुने स्पष्ट व्यवस्थाविपरीत सम्बन्धन दिन चलखेल शुरू भएको छ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा २ को ‘ज’ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमनको अधिकार स्थानीयलाई दिइने स्पष्ट व्यवस्था छ।

चिकित्सा शिक्षा ऐनको दफा ११ को उपदफा १ मा शिक्षण संस्था स्थापना गर्न चाहनेले चिकित्सा शिक्षा आयोगबाट आशयपत्र लिनुपर्ने प्रावधान छ।

चिकित्सा शिक्षा ऐनमा किकित्सा शिक्षासम्बन्धी ‘शिक्षण संस्था स्थापना गर्न आयोगबाट आशयपत्र लिनुपर्ने व्यवस्था छ।’ हाल सम्बन्धन दिने तयारीमा रहेका नर्सिङ कलेजमा ओमसाई नर्सिङ क्याम्पस बुटवल, भरतपुर सामुदायिक अस्पताल, शान्ति अस्पताल, चितवन, चितवन मेडिकल कलेज भरतपुर, कालिगण्डकी हेल्थ फाउन्डेसन कावासोती, क्यालिभर नर्सिङ क्याम्पस गठ्ठाघर, शुभेच्छा इन्टरनेसनल अस्पताल एन्ड रिसर्च सेन्टर, काभ्रे हेल्थ ट्रेनिङ इन्स्टिच्युट बनेपा रहेका छन।

त्यसै गरी नारायणी नर्सिङ क्याम्पस हेटौंडा, पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवल, विजय एकेडेमी फर हेल्थ साइन्स र लाइफगार्ड अस्पताल विराटनगर, मिर्चैया हेल्थ नर्सिङ क्याम्पस मिर्चैया, एसियन कलेज अफ एड्भान्स स्टडिज सातदोबाटो, मितेरी समिट टेक्निकल कलेज लोकन्थली, पिपुल्स मोडल कलेज साइन्स एन्ड टेक्नोलोजी कोहलपुर, कोरिया–नेपाल फ्रेन्डसिप सिटी अस्पताल थिमि, नेसनल हेल्थ फाउन्डेसन कोटेश्वर छन्।

चितवनको ओम साई, भरतपुर शान्ति अस्पताल, मिर्चैया हेल्थ एसियन कलेज अफ एड्भान्स स्टडिजलगायत कलेज बढी दौडधुप गरिरहेका छन्।

सीटीईभीटी स्रोतका अनुसार सम्बन्धनको तयारीमा रहेकामध्ये चिकित्सा शिक्षा ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न नपाउने प्रावधानविपरीत चितवन मेडिकल कलेजले सम्बन्धन लिन डौडिरहेको छ।

सबै कलेजका सञ्चालक केही महिनादेखि मन्त्रालय र सीटीईभीटीमा सम्बन्धन दिन दबाब दिँदै आएका छन्। स्रोतका अनुसार सीटीईभीटीका पूर्वउपाध्यक्ष डा. गोपाल खनाललगायतले सञ्चालन गरेको कालिगण्डकी कलेज, अस्पताल नै नभएको क्यालिभर, कुनै पनि संरचना नभएको शुभेच्छाले चलखेल गरेका छन्।

सानेपाको मेघा अस्पतालले सञ्चालन गर्न लागेको बनेपाको काभ्रे हेल्थ, आफ्नो अस्पताल नभएपछि हेटौंडा अस्पताललाई देखाएर नर्सिङ कलेज सञ्चालन गर्न लागेको नारायणी नर्सिङ, क्रिमसन अस्पतालको नाममा सञ्चालन गर्न लागेको पश्चिमाञ्चल स्वाथ्य विज्ञान प्रतिष्ठान, मन्त्री निकट मिर्चैया हेल्थ, कुनै पनि संरचना नभएको मितेरी, आफ्नो अस्पताल नै नभएको कोहलपुरको पिपुल्स, सर्वाङ्ग अस्पतालले सञ्चालन गर्ने तयारी गरेको नेसनल हेल्थ फाउन्डेसन र सुमेरु ग्रुपले सञ्चालन गरेको एसियनलाई सम्बन्धन दिन लागिएको छ।

नेपाल समाचारपत्रमा नर्सिङ सम्बन्धनमा चलखेल, आयोगको अधिकार मिच्दै मन्त्रालयको पत्र शिर्षकमा ईश्वरराज ढकालले लेखेको खबर 

प्रतिक्रिया