Edukhabar
सोमबार, १४ माघ २०८१
गतिविधि

प्रवेश परीक्षाको नयाँ मिति, परीक्षा अवधिभर शौचालय समेत जान नपाउने

मंगलबार, ३१ भदौ २०७६

काठमाडौं - सर्वोच्च अदालतले प्रवेश परीक्षा रोक्न आवश्यक नभएको फैसला गरेको भोलिपल्टै चिकित्सा अध्ययन संस्थानले स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षाको नयाँ मिति तोकेको छ । चिकित्सा शिक्षा अन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा असोज ३, ५, ६ र ७ गते हुने संस्थाले जनाएको छ । अदालतको फैसला आएको भोलीपल्ट सोमबार बसेको संस्थान अन्र्तगत स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए ।

छात्रवृत्तिको सम्बन्धमा भएको विवाद पछि सर्वोच्चमा परेको रिटमा सुनुवाई गर्दै परीक्षा रोक्न संस्थानलाई अल्पकालीन अन्तरिम आदेश दिए पछि भदौ २१ गतेको प्रवेश परीक्षा रोकिएको थियो । दुवै पक्षको छलफल पछि आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले छात्रवृत्तिका सम्बन्धमा अन्तिम सुनुवाइका क्रममा निर्णय गर्न उपयुक्त हुने भएकाले तत्काल प्रवेश परीक्षा नै रोक्नुपर्ने अवस्था नरहेको आदेश दिएको थियो । 

उक्त आदेश पछि नयाँ मिति निर्धारण गरिएको हो । ती तहका नयाँ शैक्षिक कार्यक्रम अन्तर्गत एमबिबिएसमा मात्र करीब १८ हजार छात्रछात्राले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन् । हाल त्रिविवि, काठमाडाँै विश्वविद्यालय, स्वास्थ्य मन्त्रालय अन्तर्गतका २२ कलेजमा एमबिबिएसको अध्ययन हुन्छ । 

यसैबीच प्रवेश परीक्षा समयावधिभर शौचालय समेत जान नपाउने गरी सुरक्षा सर्तकता अपनाएको संस्थानले जनाएकोछ । परीक्षा शुरु भएको १५ मिनेट पछि केन्द्रमा प्रवेश गर्न नपाउने, परीक्षा नसकिए सम्म बाहिर निस्कन नपाउने, मोवाईल, क्याल्कुलेटर, ब्लुटुथ, आईप्याड, ट्यालोईड, ईयरफोन, ल्यापटप जस्ता विद्युतीय उपकरणका साथमा गर गहना घडी र कलम समेत ल्याउन नपाईने व्यवस्था गरिएको छ । चिट चोरी नहोस् भनेर परीक्षा केन्द्रमा सुरक्षाको कारण परीक्षार्थीलाई कडा जाँच गरिने भन्दै संस्थानले पावरवाला बाहेकका चश्मा समेत जाँच गर्ने जनाएको छ । कुनै पनि किसिमको धातुले बनेको पदार्थ बेल्ट ईत्यादी नलगाई आउन संस्थानले सूचित गरेको छ । विहान सात बजेबाट शुरु हुने पहिलो दिनको परीक्षा भन्दा ३ घण्टा अघि नै तथा दोश्रो र तेश्रो दिनको परीक्षमा २ घण्टा अघि नै केन्द्रमा पुगिसक्न पर्ने छ । 

प्रवेश परीक्षा पास गरेर अध्ययन शुरु गरेपछि समेत नक्कली परीक्षार्थीले परीक्षा दिएको कुरा थाह भएमा विद्यार्थीको भर्ना रद्द र परीक्षा दिने र दिन लगाउने दुवैलाई कारवाही हुने परीक्षा प्रमुख राजु बुढाथोकीले जनाएका छन् । 

यस अघि चिट चोराएको तथ्य फेला परेपछि आलोचित बनेको संस्थानको प्रवेश परीक्षालाई मर्यादित बनाउन कडाई गरिएको जनाएको छ ।  

प्रतिक्रिया