Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

विद्यालय महिनौं बन्द ! कोर्स सक्ने कसरी ?

विहीबार, २६ कार्तिक २०७२

काठमाडौं २६ कात्तिक / तराई आन्दोलनका कारण मात्रै हैन छिमेकी भारतले गरेको अघोषित नाकाबन्दीका कारण ईन्धन अभावले राजधानी लगायत देशै भरीको पठन पाठन ठप्प भएको छ । भलै यतिखेर तिहारका कारण विद्यालयहरु खुलेका छैनन् । तर विदा सकिएपछि के हुन्छ ?

यदि केही गरी कुनै विकल्प दिएरै भएपनि तराईका विद्यालय मंसिरदेखि सञ्चालनमा ल्याइएको खण्डमा कसरी अगाडी बढ्ने ? कोर्स कसरी सक्ने ?  भन्ने कुरा अन्यौलमा छ । 

'अहिलेका वस्तूहरु (राजनीतिक दल, सरकार र आन्दोलनरत दल) गम्भिर नभएकोले यो संकट आईपुग्यो' शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, 'त्यो भन्दा पनि अव त कोर्स कसरी सक्ने भन्ने चिन्ता पो ठूलो देख्छु ।' अब विद्यालयमा कोर्स सक्न पुरानो शैलीले रटाएर भन्दा पनि नयाँ अवधारणाले पढाउनुपर्ने उनको सुझाव छ । 'विद्यार्थीलाई कोर्सका सबै पाठ पढाएर साध्य छैन्, त्यसरी कोर्स पनि सकिदैन, केही नमुना प्रश्न हल गरिदिने र बाँकी विद्यार्थीलाई गर्न दिने, अनि विशेष पाठ र विषयवस्तु मात्र पढाउने ।' उनले भने ।

त्यसबाहेक स्थानीय रेडियोबाट पनि पढाउन सकिने उनको भनाई छ । सामान्यतया एसएलसी परीक्षाभन्दा दुई महिना अघि देखि रेडियो नेपाल लगायत स्थानीय एफ.एम. रेडियोले पनि विद्यार्थीका लागी सहयोग पुग्ने भन्दै गणित, विज्ञान र अङ्ग्रेजी विषय पढाई गरिन्छ । यही शैली तराईका विद्यालयमा पनि अपनाउन सके प्रभावकारी हुने उनको सुझाव छ । 

यसका लागी घरमा विद्यार्थीलाई अभिभावकले सहयोग गर्नुपर्ने उनले बताए । त्यसका साथै सिडी, टेलिफोन, भिडियो क्यामेराको प्रयोगले पनि पठन पाठन गर्न सकिने कोइराला दाबी गर्छन् ।

चैत्रमा परीक्षा दिनका लागी विद्यार्थीले यतिबेला सम्म आधा कोर्स सकि सक्नुपथ्र्यो । भने दुईओटा परिक्षा सम्म भइसक्नु पथ्र्यो । तर शैक्षिक सत्रको शुरुमै भूकम्पबाट प्रभावित विद्यालयको पढाई त्यसपछि बर्षेविदा, त्यसलगत्तै मधेसी मोर्चाको बन्द तथा संधिवान निर्माण प्रक्रियाका क्रममा संघीयता पक्षधरले चलाएको आन्दोलन र ठाउँठाउँमा भएका प्रदर्शनको निशानामा तिनै विद्यालय परिरहेका थिए ।

दशैपछि सिरहाका विद्यालय खुलेका छन् । त्यहाँका स्थानीय राजनीतिक दल तथा शैक्षिक सरोकारवालाहरुको सहमतिमा विद्यालय खोलिएका हुन् । यस्तै महोत्तरीमा पनि आंशिक विद्यालय खुलेका छन् । त्यस लगायत कपिलवस्तु, रुपन्देही, चितवन लगायतका जिल्लामा पनि विद्यालय सञ्चालन भइरहेका छन् ।

भूकम्प अतिप्रभावित जिल्लाहरुमा बर्षे विदामा कोर्स समायोजन गर्ने भनियो तर पनि त्यतिबेला सबै जिल्लामा विद्यालय सञ्चालनमा आएनन् । यस्तै दशै र तिहारको बीचमा पनि विद्यालयमा करिब दुई हप्ता खुलाउने भनियो । त्यस बेला पनि खोलिएन ।

अब सबैको भाका तिहार सकिएपछि भन्ने छ । तर यसबीचमा जसरी भएपनि विद्यालय सञ्चालन गर्ने र नयाँ अवधारणले पढाएर कोर्स सक्ने भनिएपनि कसरी पढाउने भन्ने प्रश्नको जवाफको चित्तबुझ्दो उत्तर शिक्षा मन्त्रालयले तयार पारेको छैन ।

मन्त्रालयका प्रवक्ता हरि लम्साल तिहार सकिएपछि मोर्चाका नेताहरुसंग छलफल गरेर विहानी कक्षा मात्र भएपनि सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको बताउँछन् । 'विद्यालय नै खोल्न सकिएन भनेपनि बिहानी कक्षा मात्र भएपनि चलाउनु पर्छ' उनले भने, 'अहिले सिरहा, महोत्तरी लागयतका जिल्लामा विद्यालय सञ्चालन भइरहेका छन्, त्यसरी विहानी कक्षा मात्र भएपनि विद्यालय सञ्चालन गरेर पठनपाठन गर्ने हाम्रो तयारी छ ।'

संविधान निर्माण प्रक्रियामा असन्तुष्टी जनाउँदै आन्दोलनमा होमिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, यहि बहानामा उल्झन् बनेको भारत र उसको अघोषित नाकाबन्दीले विद्यार्थीको भविष्य अन्यौलमा पारेको छ । यति हुँदा हुँदै पनि मोर्चाका नेता विद्यालय खुलाउने कुरामा गम्भिर देखिदैंनन् । उनीहरुलाई विद्यार्थीको भविष्यको चिन्ताले रत्तिभर छोएको छैन । उनीहरुलाई आफ्ना राजनीतिक माग नै ठूलो लागिरहेको छ ।

पढ्न पनि नदिने नेता ज्यू ?

तराईका विद्यालय सञ्चालनका बारेमा सरकार र आन्दोलनरत दलका नेता गम्भिर नभएको देख्दा शिक्षा क्षेत्रका सरोकारवालाहरुको मन भत्भती पोलेको छ । लामो समयदेखि शिक्षण संस्था नखुल्दा यो शैक्षिक सत्र नै प्रभावित हुने त हैन ?

गत कात्तिक १७ गते मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पठन पाठन नभएको बहानामा शैक्षिक सत्र सार्ने कुरा गर्न नसकिने  त बताए तर, कसरी पढाई सक्ने भन्ने स्पष्ट भन्न सकेनन् । एसएलसी परीक्षा निर्धारित समयमै हुने भन्दै उनले न्यूनतम १ सय ८० दिन पठन पाठन गर्नु पर्ने र २ सय २० दिन शिक्षण संस्था खुल्नु पर्ने ब्यवस्थालाई अतिरिक्त समयमा पढाएर भएपनि कार्यान्वयन गर्ने पनि बताए ।

८५ दिन देखि कक्षा कोठामा पाईलो नहालेका तराई क्षेत्रका विद्यार्थी र नाकाबन्दीको प्रभाव पर्नासाथ त्यहि गती भोगिरहेका अन्य स्थानका विद्यार्थीको पठन पाठन कहिले देखि शुरु हुन्छ त ? यो प्रश्नको उत्तर राजनीतिक झिँगे दाउमा अल्झेको गठजोड के कसरी टुङ्गिन्छ त्यसैले निर्धारण गर्नेछ ।

प्रतिक्रिया