Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

पढ्ने उमेरमा बालुवा चालेर गुजारा गर्न बाध्य

विहीबार, २६ भदौ २०७६

काठमाडौं २६ भदौ /सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१२ निगालचुला निवासी १० वर्षीया पिमी पुन दिनभरि बालुवा चाल्नबाट फुर्सद पाउँदिनन्। स्कुल गएर पढ्ने, खेल्ने उमेरमा बालुवा चालेर दैनिक गुजारा गर्नु उनको बाध्यता हो। घरको आर्थिक अवस्था कमजोर भएकाले उनका बुवा रोजगारीका लागि भारतमा गएका छन्। बुवा घरमा नभएपछि आमाले मात्र दैनिक ज्याला मजदुरी गरेको पैसाले घरखर्च नचलेपछि उनी पनि बालुवा चालेर पैसा कमाउन थालेकी हुन्।

आफूले बालुवा चालेर कमाएको पैसा उनका तीन जना भाइबहिनीको पालनपोषणमा खर्च गर्ने गरेको पिमीको भनाइ छ। ‘स्कुल पढ्न त मन थियो, तर के गर्नु पढाउने कोही छैन, बालुवा चाल्दै भाइबहिनीको धरालो लाग्नुपर्छ,’ उनले भनिन्, ‘मेरो दुई बहिनी पढ्छन्, तर मैले कान्छो भाइको हेरचाह गर्र्नुपर्ने भएकाले स्कुल जान पाउँदिन।’

अन्नपूर्ण पोष्टमा पढ्न नगएर बालुवा चाल्छन् बालबालिका शिर्षकमा मिना बुढाथोकीले लेखेको खबर अनुसार पिमी जस्तै जिल्लाका सयौं विपन्न परिवारका बालबालिका अध्ययन अध्ययापनको पहँुचभन्दा बाहिर छन्। कतिपय बालबालिकाले बालुवा बोकेर कापीकलमको जोहो गर्छन् भने कतिपयले विद्यालयको मुखसम्म देख्न पाउँदैनन्। विशेष गरी शारदा नगरपालिका–१ भगवतीखोला र बनगाडकुपण्डिे नगरपालिकाका अधिकांश बालबालिकाले विद्यालय जान पाउँदैनन।

बनगाडको नवज्योति आधारभूत विद्यालय, ज्यामिरे अँधेरी र महादेव आधारभूत विद्यालय ज्यामिरेमा अध्ययनरत दर्जनौं बालबालिका विद्यालय समयपछि कुपिण्डेतालको बगरमा बालुवा चाल्छन्। 

निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरिएको भए पनि, सरकारले समेत बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन भर्ना कार्यक्रम सञ्चालन गरे पनि सल्यानलाई छुन सकेका छैनन्। यता बनगाडकुपिण्डे नगरप्रमुख गोविन्दकुमार पुनले अभिभावकहरूकै असहयोगका कारण बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन कठिन भएको दाबी गरे।

प्रतिक्रिया