Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

जोखिमयुक्त बालगृहबाट स्कुले बालबालिकाको उद्धार 

विहीबार, २६ कार्तिक २०७२

काठमाडौँ, २६ कात्तिक । मापदण्ड पुरा नगरी कास्कीको पोखरामा सञ्चालित एक बालगृहमा जोखिमपूर्ण अवस्थामा रहेका ९ बालबालिकाको उद्धार गरिएको छ।  उद्धार गरिएकामा पाचँ बालक र चार बालिका रहेका छन् । पोखरा ६ नारेश्वरस्थित न्यु भिजन बालगृहबाट आइतबार बेलूकी उनीहरुको उद्धार गरिएको हो ।

अनुगमनका क्रममा मापदण्ड पुरा गर्न दिइएको लगायत निर्देशन नमानेको संस्थाको आन्तरिक द्धन्द्ध रहेको आर्थिक पारदर्शिता नभएको र बालगृहमा विदेशी नागरिक समेत निर्वाध रुपमा बस्दै आएकाले बालबालिका जोखिममा परेको भन्दै जिल्ला बालकल्याण समिती कास्कीले उनीहरुको उद्धार गरेको हो ।

बालबालिकाको उद्धारमा निमित्त प्रमुख जिल्ला अधिकारी तथा समितीका अध्यक्ष कृष्णप्रसाद रेग्मी र महिला तथा बालबालिका कार्यालय प्रमुख लक्ष्मी जिसी कार्की आफै पुगेका थिए । उद्धारपछि बालगृह सञ्चालकले आफुहरुलाई काममा लगाउने र कुटपिट पनि बताएका थिए ।

बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेको पाइएपछि उद्धार गरिएको जिल्ला बालअधिकार अधिकृत बद्रीप्रसाद वाग्लेले दाबी गरे । केही समयअघिको अनुगमनले बालगृहको अवस्था नाजुक देखिएपछि समितीले उद्धारको निर्णय गरेको थियो ।

उनले भने “पछिल्लो समय संस्थाभित्र आन्तरिक द्धन्द्धसमेत मौलाउँदै गएपछि बालबालिका जोखिममा थिए । उद्धार गर्न जादा दुई विदेशी नागरिक समेत बालगृहमा भेटिएका थिए ।” अनुगमनमा १२ बालबालिका रहेपनि आइतबार नौँ जना मात्र भेटिएको र अन्य खोजी गरिने उनले बताए । 

सञ्चालक ज्योती गुरुङ र उनकी छोरी तथा विदेशी नागरिक उद्धारकर्तालाई असहयोग गरेका थिए । सोही स्थानमा ज्योतीका श्रीमान चन्द्रबहादुरले एभरेष्ट बालगृह सञ्चालनमा ल्याएका थिए । तर सञ्चालक समिती र भरपर्दो आर्थिक श्रोतबिना सञ्चालन गरेको भन्दै २०६९ कात्तिकमा समितीले बन्द गराएको थियो । 

त्यसलगत्तै ज्योतीले आफ्नो नाममा न्यु भिजन बालगृह सञ्चालन गर्दै आएकी थिइन् । कास्की प्रशासनले कारबाही गर्नुको सट्टा अर्कै नामबाट बालगृह सञ्चालन अनुमति दिदा ज्योतीले मापदण्ड पुरा नगरी सञ्चालन गर्दै आएकी थिइन् ।

उद्धार गरिएका ७ जनालाई सिबिन बालहेल्पलाइन्स र २ जनालाई शक्ति समूहमा राखिएको छ। यसअघि पनि सो अनुगमनका क्रममा कास्कीमा ६३ बालगृहमा ६ सय ८७ बालक र ७ सय ६९ बालिका गरी १ हजार ४ सय ५६ आश्रित रहेका भेटिएको थियो ।

आजको कान्तिपुर दैनिकको पृष्ठ ५ मा प्रकाशित समाचार)

प्रतिक्रिया