Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
खबर/फिचर

तालाबन्दी खुलाउन शिक्षा मन्त्रीको पहल, तत्काल वार्ता समिति बनाउन निर्देशन

सोमबार, १६ भदौ २०७६

काठमाडौं  - एकीकृत प्रवेश परीक्षाबाट मात्र भर्ना लिनु पर्ने लगायतका विभिन्न ८ बुँदे माग सहित आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीको माग प्रति शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चासो व्यक्त गर्दै विश्वविद्यालयमा भएको तालाबन्दी खुलाउन पहल शुरु गरेका छन् । विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर मन्त्री पोखरेलले तत्काल वार्ता समिति बनाएर विद्यार्थीसँग छलफल शुरु गर्न निर्देशन दिएका हुन् । 

त्रिविका कार्यवहाक उपकुलपति प्रा.डा. डिल्लीराज शर्मा, चिकित्सा संकायका डीन प्रा.डा. जगदिश अग्रवाल र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर मन्त्री पोखरेलले विद्यार्थीका जायज माग पूरा गरेर तोकिएको समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका हुन् । 

तीर्थ खनियाको पदावधि सकिए पछि कार्यवहाक उपकुलपति भएकी सुधा त्रिपाठी चीन भ्रमणमा रहेकाले अहिले त्रिविको व्यवस्थापन संकायका डिन शर्माले कार्यवहाक जिम्मेवारी पाएका छन् । त्यसैले उनी सहितका अधिकारीहरुलाई बोलाएर मन्त्रीले तत्काल समस्या समाधान गर्न निर्देशकन दिएका उनको नीजि सचिवालयले जनाएको छ । 

चिकित्सा शिक्षा संघर्ष समितिका तर्फबाट विद्यार्थीले आईतबार त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सको कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालय र प्रतिष्ठानहरूले पुरानै तरिकाबाट भर्ना प्रक्रिया सुरु गरेपछि विद्यार्थी आन्दोलित बनेका हुन् । 

तर विद्यार्थीले चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार एकीकृत प्रवेश परीक्षाबाट मात्र भर्ना लिनु पर्ने, ऐनकै व्यवस्था बमोजिम ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने, स्वदेशी लगानीबाट सञ्चालित कलेजहरूले कुल सिट संख्याको कम्तीमा १० प्रतिशत र स्वदेशी र विदेशी संयुक्त लगानीमा खुलेका शिक्षण संस्थाले कुल २० प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका रूपमा नेपाल सरकारलाई उपलब्ध गराउनु पर्ने, छात्रवृत्ति पाउने विद्यार्थीबाट कुनै पनि शुल्क लिन नहुने, मेडिकल कलेजले विभिन्न शीर्षकमा असुल्दै आएको मनोमानी शुल्क फिर्ता गर्नुपर्ने, वस्तुगत प्रश्नको उत्तरपुस्तिका परीक्षा पछि सार्वजनिक गरिनु पर्ने, अतिरिक्त शुल्क लिने कलेजलाई कारबाही हुनुपर्ने, सरकारले स्वास्थ्य शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन गरी गुणस्तरीय र प्रविधि मैत्री पाठ्यक्रम बनाउनु पर्ने लगायत विद्यार्थीले माग राखेका छन् ।

आईओएमले आगामी शनिवार देखि तीन दिन सम्म एमबीबीएस लगायत विषयका प्रवेश परीक्षाको समय तालिका तोकेको छ । त्यस्तै स्कुल अफ साइन्सले असोज पहिलो सातालाई तोकेको छ । । तर तालाबन्दी गरिएका कारण प्रवेश परीक्षा प्रभावित हुने सम्भावना बढे पछि मन्त्री पोखरेलले पहल शुरु गरेका हुन् । 

चितवन मेडिकल कलेजका विद्यार्थी प्रकाश चन्द्रको संयोजकत्वमा संघर्ष समिति गठन गरेर विद्यार्थीले भदौ १० गते नै आन्दोलनको कार्यक्रम सहित चेतावनी दिएका थिए । तर यस बीचमा मागमा कुनै सुनुवाई नभएपछि बाध्य भएर तालाबन्दीमा उत्रिनु परेको उनीहरुको तर्क छ । 

 

प्रतिक्रिया