Edukhabar
विहीबार, २० मंसिर २०८१
विचार / विमर्श

राज्य कहाँ चुक्यो ? शिक्षालयहरु कहाँ असफल भए ?

विहीबार, ०५ भदौ २०७६

हाम्रो देशमा शिक्षा ऋषिकुल, देवकुल, पितृकुल, राजकुल र गुरुकुल हुँदै आधुनिक युगसम्म आईपुग्दा यस क्षेत्रमा काफी परिवर्तन भएको छ । वैदिक कालमा शिक्षाको सम्पूर्ण गतिविधि गुरुहरुमा निहित हुन्थ्यो । गुरुहरु समाजका नेतृत्व वर्ग मानिन्थे । विद्यादानलाई  महादान मानिन्थ्यो । त्यसैले गुरुहरुको स्थान समाजमा उच्च थियो । विद्वान सर्वत्र पूज्यते भन्ने सामाजिक संस्कार थियो । मानिसहरुको बुझाई थियो । समाज नैतिकवान थियो । पढे लेखेकाहरुले नयाँ पुस्तामा सामाजिक मूल्य, मान्यता, ज्ञान, एवं साँस्कारिक चाल चलनहरु हस्तान्तरण गर्दथे । समाज मानवतावादी चिन्तन र व्यवहारले प्रशिक्षित थियो । परोपकारी थियो । सहयोग, सहकार्य र लोककल्याणकारी चिन्तनको आधारमा समाज चलेको थियो ।

समाज परिवर्तनशील छ । समयको परिवर्तनसंगै शिक्षामा पनि परिवर्तन आउनु स्वभाविक नै ठानिन्छ । व्यक्ति, समाज र सिङ्गो मुलुकको आवश्यकता अनुसार शिक्षामा परिवर्तन हुन्छ । अथवा शिक्षाले समाजलाई परिवर्तन गर्दछ । यसरी हेर्दा समाज र शिक्षाको बीचमा अन्तरसम्बन्ध रहेको हुन्छ । राज्यले अबलम्बन गरेको शिक्षा प्रणालीको आधारमा देशको जनशक्ति उत्पादन हुने हो । अहिले हाम्रो देशको शिक्षा क्षेत्रमा थुप्रै प्रश्नहरु खडा भएका छन् । शिक्षा उत्पादनमुखी हुन सकेको छैन । समाजमा नैतिकता हराउँदै गएको अग्रज पुस्ताको अनुभव छ । शिक्षा रोजगार मैत्री एवं जीवन उपयोगी हुन नसकेको घाम जस्तै छर्लङ्ग छ । यसरी हेर्दा हाम्रो शिक्षा प्रणालीले शिक्षितहरुलाई नैतिकता, संस्कार र सीप विनाको प्रमाणपत्र मात्र वितरण गर्ने काम भएको स्थिति देखिन्छ ।

नागरिकलाई शिक्षा दिने दायित्व राज्यको हो । राज्यले अख्तियार गरेको शिक्षा प्रणालीले व्यक्ति वा समाजलाई नैतिकवान, सभ्य, शिष्ट, कर्मशील, साँस्कारिक एवं देशभक्त बनाउन किन सकेन ?  शिक्षाले व्यक्ति र समाजमा रहेको गरिवी, अभाव र पछौटेपनको अन्त्य गर्न किन असफल भयो ? कुनै पनि व्यक्तिले आपूmले अध्ययन गरेको बिषयमा दक्ष बनी आपूmले पढेको विषयको आधारमा व्यवसाय रोज्न, खोज्न र टिकाउन सक्ने क्षमता किन हासिल हुन सकेन ? हाम्रा शिक्षालयहरुले किन रोजगार नपाउने जागीरे मनस्थितिका नागरिकहरु मात्र उत्पादन गरी रहे ? राज्यका अगाडि गम्भीर प्रश्नहरु खडा भएका छन् । अब राज्यले उल्लेखित प्रश्नहरुको जवाफ खोज्न ढिला गर्नु हुँदैन ।  

अहिले मुलुकमा सरकारको लगानी र निजी लगानीका हजारौंको संख्यामा शिक्षालयहरु सञ्चालनमा छन् । महाविद्यालयहरु खोलिएका छन् । देशमा एक दर्जनको संख्यामा विश्वविद्यालयहरु स्थापना भएका छन् । राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको छ । तथापि शिक्षाले नैतिकवान,चरित्रवान, सांस्कारिक एवं सीप भएका नागरिकहरु उत्पादन गर्न सकेको अवस्था छैन । रोजगार एवं सीप मुलुक शिक्षाको अभावका कारण हाम्रा लाखौं शिक्षित युवाहरु आपूmले पढेको डिग्री थन्क्याएर अन्तराष्ट्रिय श्रम बजारमा जान बाध्य भएका छन् । परन्तु उल्लेखित विषय प्रति राज्यको चिन्ता, चिन्तन र क्रियाशीलता देखिंदैन । कुकुर भुक्दै गर्छ हात्ति लम्कंदै गर्छ भने जस्तै शिक्षालयहरुले डिग्री हस्तान्तरण गरीरहेका छन् । राज्य दर्शक बनी रहेको छ ।

हाम्रो समाज पूर्वीय सभ्यता र वैदिक दिक्षाबाट प्रशिक्षित समाज हो । राम र सीताका आदर्श, अर्जुनको उद्देश्य, भिष्म प्रतिज्ञा, युधिष्ठिरको सत्यता, विदुरको विद्वता, श्रवण कुमारको मातृ एवं पितृ भक्ति, एकलब्यको गुरुभक्ति, वुद्धका वाणीहरु लगायत पूर्वीय  सभ्यताले प्रशिक्षित समाज होे । नेपाली समाज पुर्खाहरुले सिकाएको वीरगाथा अन्तरगत पृथ्वीनारायण शाहका उपदेश, भक्ति थापाको वीरता, भिमसेन थापाको देश भक्ति र रामशाहको सामाजिक न्यायको कथाले प्रशिक्षित समाज हो । इतिहासले आर्जन गरेको गौरव गाथाहरु पुस्तान्तरण गर्ने काम शिक्षाको हो । यसो हुन सकेन भने समाज निरस बन्छ । राष्ट्रियता, मानवता एवं सामाजिक न्याय हराउँदै जान्छ ।  

अहिले देशका राजनितिक एवं गैर राजनितिक संघ सस्थाहरुमा सिद्घान्त र निष्ठा स्खलित हुँदै गएको अवस्था छ ।  समाजमा भ्रष्टाचार व्याप्त छ । समाजका शिक्षित व्यक्ति एवं व्यक्तित्वहरुमा भष्ट आचार देखिनु समाजको अधोगति हो । यसरी हेर्दा राज्यले अवलम्वन गरेको शिक्षा नीति,  शिक्षाका उद्देश्यहरु, निर्माण भएका पाठय्क्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ पद्घति लगायतका शैक्षिक गतिविधिले किन समाज नैतिकवान, चरित्रवान, इमानदार बन्न सकेन ? भन्ने दृष्टिकोणबाट समस्त शिक्षा प्रणालीको मूल्याङ्कन गर्ने वेला आएको छ ।

शिक्षा शास्त्री ओटावेले नवजात शिशु जन्मँदा असामाजिक हुन्छ भन्दै उसलाई सामाजिक र मानवीय जीवनचर्यामा परिणत गर्ने काम घर, परिवार समुदाय, विद्यालय लगायतका निकायहरुको हो भन्ने आशय व्यक्त गरेका छन् । यसको अर्थ मानिस जन्मँदा उसले खाली दिमाग लिएर जन्मन्छ र उसको खाली मस्तिष्कमा जस्तो वातावरण र शिक्षा दिक्षा दियो तत्अनुरुपको ज्ञान आर्जन गरी उसले व्यक्तित्व निर्माण गर्दछ भन्ने कुरा बुभ्mनु पर्दछ । यस सन्दर्भमा ओटावेले भनेझै माथि उल्लेखित समाजका मूल्य र मान्यताहरुलाई घर, परिवार र देशका शिक्षालयहरुले  नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी हुन्छ ।

हिजोको इतिहास आजको समाजको ज्ञानको स्रोत हो । मार्ग दर्शन हो । इतिहासको क्षितिजबाट वर्तमानको खोजी गर्दा आज देशका अग्रज पुस्ताहरुले सिकाएको बाटोमा समाज डोरिनु पर्दछ । हाम्रा सामाजिक मूल्य, मान्यता, आदर्श र पुर्खाहरुको योगदानबाट नयाँ पुस्तामा हस्तान्तरण हुनु पर्दछ । अहिले समाजमा भाईचाराको अभाव हुँदै गएको छ । समाज भौतिकवाद उन्मख बन्दै गएको छ । शिक्षित छोराछारीहरुबाट नै जन्मदिने वुबा आमाहरुलाई वृद्घाश्रममा पठाउने गरेका घटनाहरु बढि रहेका छन् । श्रवण कुमार रुपी छोरीछोरीहरुको अभाव खड्किंदो छ । समाजमा पाश्चात्य सभ्यताको प्रभाव फंैलदो छ । बैबाहिक जीवनमा सम्बन्ध विच्छेदका घटनाहरु बढि रहेका छन् । हत्या, हिंसा, बलात्कार, मानव तस्कर जस्ता जघन्य अपराधहरु बढि रहेको अवस्था छ । यसरी हेर्दा नैतिकवान समाज निर्माण गर्न राज्य कहाँ चुक्यो ? शिक्षालयहरु कहाँ असफल भए ? गम्भीर प्रश्नहरु खडा भएका छन् ।

शिक्षालयहरुमा औपचारिक पाठ्यक्रम र पाठ्यपुस्तकहरुको माध्यमबाट शिक्षा प्रदान गरिन्छ । पाठ्यक्रमविद् हिल्टा टावाले विद्यालय भित्र र बाहिर विद्यार्थीमा ऐच्छिक उपलब्धिहरु प्राप्त गराउन विद्यालय द्वारा गरिने सम्पूर्ण प्रयासलाई पाठ्यक्रम भनेका छन् । यसरी हेर्दा राज्यले पाठय्क्रम निर्माण गर्दा व्यक्ति, समाज र सिङ्गो मुलुकको आवश्यकतालाई सम्बोधन गर्न सक्ने बिषय बस्तुलाई छनौट गर्न चुक्यो की ? शिक्षा प्रणालीमा सामाजिक, आध्यात्मिक  एवं नैतिक शिक्षामा जोड दिन सकिएन की ?

आज शिक्षालाई समय सापेक्ष बनाउनु पर्ने आवाजहरु चौतर्फी उठीरहेका छन् । समय सापेक्ष भित्रको एउटा महत्वपूर्ण पाटो सांस्कारिक एवं नैतिक शिक्षा हो । यसैगरी आजको एक्काईसांै शताब्दीमा विकास भएको विज्ञान र प्रविधि मैत्री ज्ञान एवं सीपलाई शिक्षाले संबोधनगर्नु पर्दछ ।

देशका विभिन्न क्षेत्रहरुमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य शिक्षाको हो । साधारण, व्यवसायिक तथा प्राविधिक क्षेत्रमा चाहिने विभिन्न तहको जनशक्ति उत्पादन गरी व्यक्तिको समृद्धि र देशको आर्थिक विकासमा टेवा पुराउने काम नै शिक्षाको आर्थिक कार्य अन्तरगत पर्दछ । आजको एक्काइसौं सताब्दीमा शिक्षाले सैद्धान्तिक ज्ञानको अतिरिक्त आर्थिक आय आर्जन गर्न सक्ने वैज्ञानिक तथा प्रविधिक सीप सहितको शिक्षा आवश्यक ठानिन्छ ।   एकातिर देशको शिक्षाको गुणस्तर खस्कँदै गएको शैक्षिक उपलब्धीका तथ्याङ्कहरुले देखाएका छन् भने अर्को तिर विश्वविद्यालयसम्मको प्रमाणपत्र धारीे शिक्षित वर्गलाई आय आर्जनका बाटा र पाटाहरुको दिशा निर्देश गर्न नसक्दा शिक्षित युवाहरु आय आर्जनबाट  बञ्चित भएको अवस्था छ ।

शिक्षा खोजमुलक, वैज्ञानिक एवं सीप मैत्री हुन जरुरी हुन्छ । हाम्रो मुलुकमा जल, जमिन, जडीबुटी, जंगल एवं भूगर्भमा पेट्रोलियम पदार्थ,सुन, चाँदी, हिरा, मोति जस्ता खानी तथा खजनाहरु प्रयाप्त मात्रामा छन् । पानी छ । विजुलीको उत्पादन छैन । खाने पानी र सिंचाईको अभाव छ ।  जमिन छ, उत्पादन छैन । देश दिन प्रतिदिन खाद्यान्नमा परनिर्भर बन्दै गएको अवस्था छ । पुशपालन परम्परागत शैलीमा आधारित छ । जडीबुटीहरुको पहिचान, प्रयोग र व्यबसायिकरण हुन सकेको छैन । प्रकृतिमा रहेका अथाह खनिज पदार्थहरुको पहिचान, उत्खनन र प्रयोग हुन सकेको छैन । यस सन्दर्भमा उल्लेखित  अवस्था हुनुमा वैज्ञानिक, अनुसन्धानमूलक एवं सिप शिक्षाको अभाव हो ।

जवानी विदेशमा विताउन चाहने शिक्षित नागरिकहरुको संख्या दिनानुदिन बढ्दै छ । देश विकासमा रचनात्मक भुमिका खेल्नुपर्ने शिक्षित युवाहरुमा नैतिक विचलन, आत्मकेन्द्रित सोच र वैदेशिक रोजगारीको आकर्षण हुनु शुभ संकेत होइन । त्यसैले शिक्षालाई मौलिक, सिर्जनशील, स्वरोजगार मैत्री तथा आत्म निर्भर बनाउन तत्अनुरुपको शिक्षा पद्घति आवश्यक हुन्छ । तसर्थ विद्यमान शिक्षा प्रणालीलाई समय सापेक्ष बनाउँदै नैतिक चरित्र भएका साँस्कारिक एवं पेशागत सीप भएका नागरिक उत्पादन गर्न देशको शिक्षा निति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, परीक्षा प्रणाली, मूल्याड्ढन पद्घति लगायतका क्षेत्रमा संशोधन, परिमार्जन एवं परिवर्तन गर्न आवश्यक छ । 

प्रतिक्रिया