Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
अन्तैवाट

प्रधानमन्त्रीबाटै नाम कुर्दै सर्च कमिटी

बुधबार, ०४ भदौ २०७६

काठमाडौं ४ भदौ / त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको कार्यकाल बिहीबारदेखि सकिँदै छ । तर, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित सर्च कमिटीले अहिलेसम्म भावी उपकुलपतिको नाम प्रस्ताव गर्न सकेको छैन । 

त्रिवि उपकुलपति पद बिहीबारदेखि रिक्त हुँदै, प्रधानमन्त्रीबाटै नाम कुर्दै सर्च कमिटी शिर्षकमा नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर अनुसार  सर्च कमिटी प्रधानमन्त्रीबाटै उपकुलपतिको नाम आउने अपेक्षा गरेर बसेको छ । प्रधानमन्त्री, शिक्षामन्त्री एउटै पार्टीको भएकाले प्रधानमन्त्रीले दिने नाम नै कमिटीले सिफारिस गर्ने स्रोतको भनाइ छ । छनोटको विधि नतोकिएकाले माथिबाट आउने नाम नै सिफारिस गर्ने सर्च कमिटिका एक सदस्यले बताए । 

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले उपकुलपतिको नाम प्रस्ताव गर्न शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा डिल्लीराज शर्मा र कमल गुरागाईं सदस्य रहेको कमिटी गठन गरेका थिए । तर, पहिलोपटक दिएको समयमा कमिटीले काम गर्न नसकेपछि एक हप्ता अवधि थप भएको थियो । पछिल्लोपटक थपिएको समय पनि बिहीबार नै सकिँदै छ । 

उपकुलपति बन्न धेरै प्राध्यापकको दौडधुप छ । सर्च कमिटी सदस्य प्रा.डा. डिल्लीराज शर्माले त्रिविको उपकुलपतिका लागि छलफल भइरहेको बताए । 

एक महिनापछि अन्य विश्वविद्यालयमा पनि उपकुलपति पद रिक्त हुँदै छन् । नेपाल संस्कृत, मध्यपश्चिम, सुदूरपश्चिम, कृषि तथा वनविज्ञान, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयका उपकुलपति पद असोजसम्ममा रिक्त हुँदै छन् । राजनीतिक भागबन्डाले विश्वविद्यालयमा बेथिति भएको भन्दै सक्षम व्यक्तिलाई उपकुलपति नियुक्त गर्नुपर्ने सरोरकावालाले सुझाब दिइररहेका छन् । 

प्रतिक्रिया