Edukhabar
शुक्रबार, १४ मंसिर २०८१
खबर/फिचर

नमूना छनौटमा परेका विद्यालयको विजोग, दुई तिहाइ विद्यालय औसत भन्दा तल

सोमबार, ०२ भदौ २०७६

काठमाडौं - नमुना बनाउन सरकारले नै छनौट गरेका विद्यालयको अवस्था नाजुक फेला परेको छ । तत्कालिन शिक्षा विभागबाट नमुना विद्यालय विकासका लागि छनौट भएका विद्यालयहरू मध्ये पाँच जिल्लाका ३२ सामुदायिक माध्यमिक विद्यालयहरूमा गरिएको अध्ययनले विजोग अवस्था फेला परेको हो । 

शिक्षा मन्त्रालय अन्र्तगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सामुदायिक माध्यमिक विद्यालयहरूको कार्यसम्पादन परीक्षण २०७४/७५ अन्र्तगत गरिएको अध्ययनले उक्त तथ्य फेला पारेको हो । त्यस्ता विद्यालयहरुको कार्यसम्पादन परीक्षण नतिजाको तुलनात्मक विश्लेषणमा कुनै पनि विद्यालयहरू उत्तम स्तरमा समेत पर्न सकेका छैनन् ।  

नमुना विद्यालय विकासका लागि छनौट गरेका विद्यालयहरूमध्ये मोरङ, सुनसरी, धनुषा, सर्लाही र रौतहटका ३२ विद्यालयमा गरिएको परीक्षणबाट कार्यसम्पादन स्तरमापन गर्दा एउटा विद्यालय कमजोर, २३ वटा सामान्य र ८ वटा मध्यम कार्यसम्पादन स्तरमा रहेको पाइएको उल्लेख छ । 

सर्लाहीको श्री बेनिभोला नमुना मा. वि. कमजोर स्तरमा रहेको बाहेक अन्य जिल्लाका विद्यालयहरू यस स्तरमा परेका छैनन् । तर कुनै पनि जिल्लाका कुनै पनि विद्यालयहरू उत्तम स्तरमा भने पर्न सकेका छैनन् । विद्यालयले प्राप्त गरेको अङ्कका आधारमा कमजोर, सामान्य, मध्यम र उत्तम गरी चार स्तरमा वर्गीकरण गरेर अध्ययन गरिएको थियो । 

सुनसरी जिल्लाका सबै विद्यालय सामान्य स्तरमा परेका छन् भने सर्लाही उक्त विद्यालय बाहेक बाँकी विद्यालय सामान्य र मध्यम स्तरमा परेका छन् । प्रतिशतका हिसाबले मध्यमस्तरमा सबैभन्दा बढी रौतहट जिल्लाका ४२.८६ प्रतिशत, त्यसपछि सर्लाही, मोरङ र धनुषाका क्रमशः ३३.३३, २५ र १६.६७ प्रतिशत विद्यालयहरू रहेका छन् । समग्र १०० अङ्कमा सबै भन्दा बढी श्री जनता मा. वि. गिद्धबेलापत्ति धनुषाको ८९.१६ र सबैभन्दा कम अङ्क श्री बेनिभोला नमुना मा. वि.ले २६.८६ अङ्क  प्राप्त गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । सबै विद्यालयको औसत ६०.७५ भन्दा बढी प्राप्ताङ्क हुने विद्यालयहरू २० वटा र बाँकी विद्यालयहरु उक्त अङ्क भन्दा कम प्राप्त गर्ने छन् । 

०७३ सालबाट शुरु भएको विद्यालय क्षेत्र विकास योजनाको अवधि २०७९/ ८० साल सम्म मुलुकभर एक हजार नमूना विद्यालय विकास गर्ने कार्यक्रम अन्र्तगत यस्ता विद्यालय छनौट हुँदै आएका छन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस बर्ष पनि आर्थिक बर्ष सकिन ३ दिन मात्रै बाँकी हुँदा ८४ वटा विद्यालयलाई नमूना विद्यालय विकासका लागि छनोटको निर्णय गरेका छन् । विभिन्न ६९ जिल्लाका पालिकाहरुमा सञ्चालित विद्यालयहरुको प्रारम्भिक मूल्याँकन पछि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले केन्द्रबाट गरेको सत्यापनका आधारमा विद्यालय छनोट गरेको बताएको छ । 

चालु आर्थिक बर्षमा १ सय वटा विद्यालय छनोट गर्नु पर्ने थियो । सोही योजना अनुसार निवेदन हालेका मध्ये यस अघि निर्वाचन क्षेत्रगत रुपमा १६ वटा विद्यालय मात्रै छनोट गरिएको थियो । सोही सूचनाका आधारमा अर्को प्रकृयामा सामेल भएका विद्यालयहरु मध्ये बाँकी ८४ विद्यालयलाई छनोट गरिएको हो । 

सबै स्थानीय तहमा कम्तिमा एक नमूना विद्यालय पर्ने गरी क्रमशः वितरण गरिने र यस पटक छुटेका विद्यालयलाई आगामी बर्षका कार्यक्रममा सहभागी गराईने केन्द्रले जनाएको छ । अहिले सम्म यी बाहेक २ सय २२ विद्यालय नमूना विद्यालयका रुपमा छनौट भईसकेका छन् ।यसरी छनौट भएका विद्यालय राजनीतिक पहुँचका आधारमा हुने भन्दै आलोचना हुँदै आएको छ । यस पटक केन्द्रले गरेको परीक्षणले सोही आलोचनालाई थप पुष्ट्याई गरेको छ । 

केन्द्रले २४ जिल्लाका १ हजार ९ सय ६७ र नमुना विद्यालयका लागि छनौट भएका ५ जिल्लाका ३२ ओटा विद्यालयहरू गरी १ हजार ९ सय ९९ सामुदायिक माध्यमिक विद्यालयहरूको कार्य सम्पादन परीक्षण समेत गरेको छ । उक्त परीक्षणका आधारमा पाँच जिल्लाहरूमा विद्यालयको सङ्ख्या ५ देखि ८ सम्म भएकाले यसमा जिल्लागत रूपमा औसत निकालेर विश्लेषण नगरी सबै ३२ विद्यालयहरूलाई एउटै समूहका रूपमा राखिएको केन्द्रले जनाएको छ । साथै क्षेत्र र उपक्षेत्रगत रूपमा तुलना गर्दा भने कार्यसम्पादन परीक्षण गरिएका सम्पूर्ण विद्यालयहरूको औसत अङ्कसँग तुलना गरिएको जनाईएको छ ।

 

उक्त परीक्षणले लगानी, प्रक्रिया, उपलब्धिलाई मुख्य क्षेत्र मानी भौतिक संरचना, शिक्षण मानव संसाधन र स्थायित्व, समुदायको सहभागिता र लगानी, कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेशागत विकास, नेतृत्व र व्यवस्थापन, अतिरिक्त क्रियाकलाप, नियमितता र कपषा दोहोर्याउने तथा छाड्ने दर, सिकाइ उपलब्धि, सेवाग्राही सन्तुष्टि र शिक्षकको पेशागत सन्तुष्टिलाई उपक्षेत्र मानेर अध्ययन गरेको जनाएको छ । 

विद्यालयको कार्यसम्पादन स्तरको परीक्षण गर्दा उपयोग गरिएका ४ ओटा प्रमुख पक्षहरू लगानी, प्रक्रिया, उपलब्धि र सेवा प्रदान गरिएका विद्यार्थीलाई आधार मानेर समष्टिगत स्थितिको लेखाजोखा प्रस्तुत गरिएको छ । यी क्षेत्रहरूबाट स्तर निर्धारण गर्दा फरक फरक भार दिइएको छ । यस अनुसार लगानीलाई २५, प्रक्रियालाई ३०, उपलब्धिलाई ४० र सेवा प्रदान गरिएका विद्यार्थीको सङ्ख्यालाई ५ प्रतिशत भार दिएर गणना गरिएको छ । सूचकगत प्राप्ताङ्क तथा दिइएको भार अनुसार गणना गर्दा २४ जिल्लाका १ हजार ९ सय ६७ सामुदायिक माध्यमिक विद्यालयहरूको समग्र कार्यसम्पादन स्तर हेर्दा १७ वटा कमजोर, १ हजार ६ सय ४४ वटा सामान्य, ३ सय ५ वटा मध्यम र एउटा मात्रै उत्तम स्तरमा रहेको छ । 

यसको अर्थ दुई तिहाइ भन्दा बढी विद्यालयको लगानी, प्रक्रिया र उपलब्धिका क्षेत्रमा औसत स्तर भन्दा तलको तहमा कार्य सम्पादन स्तर रहेका छन् । जिल्लागत रूपमा विश्लेषण गर्दा झापा, नवलपरासी, बझाङ, बाजुरा, भोजपुर, महोत्तरी र सल्यान जिल्लाहरूका क्रमशः १, २, ३, २, ३, ३, ३ ओटा विद्यालयहरू कमजोर स्तरका देखिए पनि यस्ता विद्यालयको सङ्ख्या उल्लिखित जिल्लाहरूमा ५५ भन्दा कम रहेको अध्ययन प्रतिवेदजान उल्लेख छ । कार्यसम्पादन परीक्षण गरिएका विद्यालयहरूमध्ये कञ्चनपुर जिल्लाको एउटा विद्यालय मात्र उत्तम कार्यसम्पादन स्तरमा परेको पाइयो । 

प्रतिशतका हिसाबले कमजोर र उत्तम कार्यसम्पादन स्तर देखिएका विद्यालयको सङ्ख्या अत्यन्तै न्यून भएकाले प्रायः सबै जिल्लाका विद्यालयहरू सामान्य र मध्यम गरी प्रमुख दुई स्तरमा परेका छन् । परीक्षण गरिएका २४ मध्ये डोल्पा र भोजपुर दुई जिल्लामा मध्यम स्तरमा कुनै पनि विद्यालय नरहेकाले बाँकी २२ जिल्ला मध्ये सबैभन्दा बढी मनाङ जिल्लामा ७५ र रुकुममा सबैभन्दा कम २.३० प्रतिशत विद्यालयहरू मध्यम स्तरमा परेका देखिन्छन् । यसैगरी सामान्य स्तरमा सबैभन्दा कम विद्यालय रहेका जिल्लामा मनाङ १ एवम् सबैभन्दा बढी विद्यालय रहेका जिल्लामा डोल्पा १५ रहेका छन् । 

जिल्ला भित्रका विद्यालयहरूको औसतका हिसाबले हेर्दा सबै २४ जिल्लाका विद्यालयहरूको औसत स्तर सामान्य नै पाइए पनि जिल्ला भित्रका विद्यालयहरूको औसत प्राप्ताङ्क बढी हुने जिल्लाहरूमा मनाङ ६९.८१ र काठमाडौं ६९.४५ तथा सबैभन्दा कम हुने जिल्लाहरूमा भोजपुर ५२.२२ र बझाङ ५४.६९ प्रतिशत रहेका छन् ।

उच्च, मध्यम, न्यून र नमुना लगायतका सबै विद्यालयहरूको प्रक्रिया क्षेत्र अन्तर्गत अतिरिक्त क्रियाकलाप उपक्षेत्रको अङ्क सबैभन्दा बढी देखिएको छ भने शिक्षक पेशागत विकास उपक्षेत्रको अङ्क सबैभन्दा कम देखिएको छ । नेतृत्व र व्यवस्थापन दोस्रो स्थानमा, विद्यार्थी मूल्याङ्कन तेस्रो स्थानमा र कक्षा शिक्षण चौथो स्थानमा रहेको छ । प्रायः सबै विद्यालयमा शिक्षकको पेशागत विकासका लागि सामग्री, अवसर र प्रोत्साहनको कमी रहेको अध्ययनले देखाएको छ । नेतृत्व र व्यवस्थापन सबै विद्यालयहरूमा दोस्रो स्थानमा रहनुले अधिकांश विद्यालयहरूमा विव्यस र शिअसं गठन भएको, बैठक बस्ने गरेको, निर्णयहरू कार्यान्वयन गर्ने गरिएका, अभिलेख व्यवस्थापन सन्तोषजनक रहेको बुझ्न सकिने अध्ययनको निष्कर्श छ ।

विद्यार्थी मूल्याङ्कन उपक्षेत्रको औसत प्राप्ताङ्क प्रतिशत उच्च १०० विद्यालय बाहेक अन्यमा समग्र प्रक्रिया क्षेत्रको औसत प्राप्ताङ्क प्रतिशत भन्दा कम देखिएकाले केही राम्रा विद्यालय बाहेक अन्यमा निरन्तर विद्यार्थी मूल्याङ्कनको अभिलेख र प्रयोग, प्रश्नपत्र निर्माणमा विशिष्टीकरण तालिकाको प्रयोग, उत्तरपुस्तिका परीक्षणमा उत्तरकुञ्जिकाको प्रयोग, परीक्षाफलको विश्लेषण र पृष्ठपोषण लगायतका कार्यहरू प्रभावकारी नभएको स्पष्ट भएको अध्ययनको निष्कर्श छ । 

सबै प्रकारका विद्यालयमा प्रक्रिया क्षेत्र अन्तर्गतका पाँच उप क्षेत्र मध्ये कक्षा शिक्षण चौथो स्थानमा रहेको र समग्र प्रक्रिया क्षेत्रको औसत प्राप्ताङ्क प्रतिशत भन्दा कम देखिएकाले अधिकांश विद्यालयमा योजना निर्माण गरी शैक्षिक सामग्रीको प्रयोग सहित शिक्षण गर्ने, छलफल र अन्तरक्रियात्मक शिक्षण गर्ने, शिक्षणमा प्रविधिको प्रयोग गर्ने, नियमित गृहकार्य दिने, जाँच्ने र पृष्ठपोषण दिने, शिक्षण सुधार योजना तयारी गरी कार्यान्वयन गर्ने, शिक्षणमा सुधारका लागि कार्यमूलक अनुसन्धान गर्ने, उपयुक्त कक्षाकोठा व्यवस्थापन गर्ने जस्ता कार्यहरू सन्तोषजनक रूपमा नभएको अध्ययनले निष्कर्श निकालेको छ । 

सेवाग्राही अर्थात् अभिभावक र विद्यार्थी सन्तुष्टि दोस्रो स्थानमा र विद्यार्थीको सिकाइ उपलब्धि तेस्रो स्थानमा परेका छन् र यी दुवै उपक्षेत्रको औसत प्राप्ताङ्क प्रतिशत उपलब्धि क्षेत्रको प्राप्ताङ्क प्रतिशत भन्दा माथि नै रहेको छ ।

'विद्यालयमा अध्यापनरत अधिकांश शिक्षकहरू विद्यालयको कार्य प्रगति प्रति र आफ्नो पेशाप्रति सन्तुष्ट रहेको पाइयो' प्रतिवेदनमा भनिएको छ 'शिक्षकहरू भन्दा केही कम भए पनि अधिकांश अभिभावक र विद्यार्थीहरू समेत विद्यालयको कार्यप्रति सन्तुष्ट रहेको पाइयो ।'

नेतृत्व र व्यवस्थापन उपक्षेत्रको सबै विद्यालयको औसत प्राप्ताङ्क प्रतिशत भन्दा नमुना विद्यालय विकासका लागि छनौट भएका विद्यालयको औसत प्राप्ताङ्क प्रतिशत कमजोर रहेको भन्दै अध्ययन प्रतिवेदनमा उच्च, मध्यम, न्यून र नमुना लगायतका सबै विद्यालयहरूको उपलब्धि क्षेत्र अन्तर्गत शिक्षकको सन्तुष्टि उपक्षेत्रको अङ्क सबै भन्दा बढी देखिएको छ । विद्यार्थी नियमितता, विद्यालय छाड्ने र दोहो¥याउने सम्बन्धी उपक्षेत्रको अङ्क सबै भन्दा कम देखिएको छ । 

'उच्च स्तरको कार्यसम्पादन देखिएका विद्यालयका शिक्षकहरू अन्य विद्यालयका शिक्षकहरू भन्दा बढी सन्तुष्ट पाइए । अभिभावक र विद्यार्थीको हकमा समेत यही अवस्था देखियो ।  अधिकांश विद्यालयमा विद्यार्थीहरूको उपस्थिति दर, विद्यार्थीहरू विद्यालय छाड्ने तथा कक्षा दोहो¥याउने दर अपेक्षित रूपमा सुधार भएको देखिएन । न्यून कार्यसम्पादन प्रदर्शन गर्ने विद्यालयको तुलनामा उच्च कार्यसम्पादन प्रदर्शन गर्ने विद्यालयमा यस्ता दरहरू सन्तोषजनक पाइएको छ । नमुना विद्यालय विकासका लागि छनौट भएका विद्यालयहरूमा समेत यस्तो दर सबै विद्यालयको औसत भन्दा कमजोर देखियो' अध्ययनका अनुसार 'समग्र उपलब्धि क्षेत्रको औसत प्राप्ताङ्क प्रतिशतलाई तुलना गर्दा मध्यम स्तरको कार्यसम्पादन भएका विद्यालय भन्दा नमुना विद्यालय विकासका लागि छनौट भएका विद्यालयहरूको औसत प्राप्ताङ्क प्रतिशत कम देखियो ।

विद्यालय कार्यसम्पादन परीक्षणले यस वर्ष परीक्षण गरिएका विद्यालयहरूको आधारमा एक स्पष्ट चित्र प्रस्तुत गरेको भन्दै केन्द्रले नीतिगत र कार्यक्रमगत सुधारका लागि सिफारिस र सुझाव समेत दिएको छ । 

प्रतिक्रिया