काठमाडौं - नजानेका विषयवस्तु सिक्नका लागि विद्यार्थी ट्युशनको भर पर्न वाध्य छन् । शिक्षा मन्त्रालय अन्र्तगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको सिकाइ परीक्षणले विद्यार्थीको सिकाइ उपलब्धिमा विगतका वर्षहरूमा भन्दा सुधार नभएको निश्कर्ष निकालेको छ ।
केन्द्रले कक्षा ५ का गणित र नेपाली विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण गरेको थियो । नेपाली विषयको परीक्षण ७ सय विद्यालयका १४ हजार २ सय ७ विद्यार्थी र गणित विषयमा ७ सय विद्यालयकै १४ हजार १ सय ७४ विद्यार्थीको उपलब्धि परीक्षण गरिएको केन्द्रले जनाएको छ ।
विद्यार्थीको क्षमतालाई माईनस २ देखि प्लसं २ सम्मका ऋणात्मक र धनात्मक सख्यामा विकास गरी ठीक बीचको अंक शून्यलाई ५०० मानी शुन्य भन्दा मुनीका क्षमतालाई ५०० भन्दा न्यून र शुन्य भन्दा माथिका क्षमतालाई ५०० भन्दा माथि मानि औषत निकालेको केन्द्रले जनाएको छ । उक्त विधि अनुसार नजानेको विषयवस्तु सिक्नका लागि कसले सहयोग गर्छ ? भनी सोधिएको प्रश्नमा प्राप्त प्रतिक्रिया अनुसार सिकाइमा ट्युशनको भर पर्नु पर्नेको औषत नेपालीमा ५१० र गणितमा ५११ रहेको छ । सिक्नका लागि कसैबाट पनि सहयोग नपाएको बताउनेको औषत नेपालीमा ५०१ र गणितमा ५०४ छ । नेपालीमा बुबाबाट भन्दा आमाबाट सिक्ने औषत धेरै छ भने गणितमा आमाको तुलनामा विद्यार्थीले बुबाबाट नजानेको कुरा सिकेको औषत धेरै छ । बुबाबाट सिक्ने नेपालीमा ४९७ र गणितमा र ५०१ हुँदा आमाबाट क्रमशः ५०२ र ५०० रहेको अध्ययनले दखाएको छ । दाजु वा दिदीबाट गणितमा ४९९ र नेपालीमा ५०० र साथीहरुबाट नेपालीमा ४९७ र गणितमा ४९५ रहेको छ ।
यस परीक्षणसँग यस अघिको परीक्षणमा विद्यार्थीले प्राप्त गरेका उपलब्धिलाई दुवै वर्षमा सोधिएका उनै प्रश्नका आधारमा तुलना गर्दा गणितमा यस बर्षको उपलब्धि केही न्यून रहेको उल्लेख गर्दै परीक्षण प्रतिवेदनमा नेपाली विषयमा यस बर्षको उपलब्धि थोरै सुधारात्मक देखिए पनि उल्लेखनीय सुधार नभएको उल्लेख छ । त्यसैले विद्यार्थीको सिकाइ उपलब्धिमा विगतका वर्षहरूमा भन्दा सुधार नभएको उक्त परीक्षणको निश्कर्ष छ ।
२०७५ साल फागुनमा देशभरबाट नमुना छनोटमा परेका २४ जिल्लाका १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थी, १ हजार ४ सय शिक्षक र १ हजार ४ सय नै प्रधानाध्यापकहरूको प्रतिकृयाका आधारमा गरिएको विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१८ को नतिजाले विभिन्न प्रदेशहरूको बीचको सिकाइ उपलब्धिमा पनि भिन्नता देखाएको छ । प्रदेश ३ का विद्यार्थीको उपलब्धि सबै विषयमा उच्च रहेको छ भने नेपालीमा कर्णाली, प्रदेश २ र सुदुरपश्चिम कमजोर देखिएको छ । गणितमा भने प्रदेश १, प्रदेश ५ र कर्णालीका विद्यार्थीको उपलब्धि कमजोर रहेको छ । प्रदेश अनुसार नेपाली र गणितमा क्रमशः प्रदेश १ मा ५०० र ४९४, प्रदेश २ मा ४८९ र ५२१, प्रदेश ३ मा ५०६ र ५०५, गण्डकी प्रदेशमा ५११ र ५०३, प्रदेश ५ मा ४९६ र ४८६, कर्णाली प्रदेशमा ४८८ र ४९६ र सुदूर पश्चिम प्रदेशमा ४९१ र ५०० रहेको छ ।
जातजाति तथा घरमा बोलिने भाषाको आधारमा हेर्दा दुवै विषयमा सिकाइ उपलब्धिमा उल्लेखनीय भिन्नता रहेको देखिन्छ । तर छात्रा र छात्रको सन्दर्भमा सिकाइ स्तरको भिन्नता न्यून नै देखिएको प्रतिवेदनको निष्कर्श छ । गणितमा छात्रको थोरै राम्रो छ भने नेपालीमा छात्राको राम्रो छ । विगतका परीक्षणमा पनि उक्त प्रवृत्ति पाइएको थियो ।
विद्यार्थीको सामाजिक आर्थिक अवस्था र सिकाइ उपलब्धि बीचमा सकारात्मक सह सम्बन्ध रहेको, केही अपवाद बाहेक अधिकांश सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीको सामाजिक आर्थिक अवस्था उच्च रहे पनि कतिपय सामुदायिक विद्यालयहरुले कमजोर आर्थिक सामाजिक अवस्थाका विद्यार्थीलाई पनि राम्रोसँग सिकाउन सकेको अध्ययनले देखाएको छ । यसका आधारमा यदी विद्यालयको शिक्षण सिकाइ प्रभावकारी हुने हो भने आर्थिक सामाजिक अवस्थाको प्रभाव कम गर्न सकिन्छ भन्ने उदाहरण पुष्टि भएको अध्ययनको निष्कर्श छ ।
सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको भन्दे अध्ययनले यी दुई खाले विद्यालयका बीचको सिकाइ स्तरको भिन्नता उच्च रहेको र विगतका तुलनामा भिन्नता बढ्दै गएको देखाएको छ । विद्यार्थीको सिकाइ उपलब्धिमा विद्यालयमा सहपाठीहरूबाट हुने विभिन्न प्रकारका दुर्व्यवहारका कारणले नकारात्मक असर परेको पहिलेकै निश्कर्ष यथावत छ ।
विद्यालय र विद्यालयका व्यवहारहरु बालमैत्री नभएको भन्दै अध्ययनले विद्यालयमा कुनै न कुनै प्रकारको दुर्वयवहार महसुष गर्ने विद्यार्थी ४७ प्रतिशत रहेको, जति धेरै दुर्वयवहारहरूको सामना गर्छ त्यति नै सिकाइ कमजोर र जति कम गर्छ त्यति नै सिकाइ राम्रो भएको देखिएको छ । विद्यालयमा बालबालिकाहरुलाई सुरक्षित वातावरण सिर्जना गर्ने र कुनै दुर्वयवहार हुन नदिनेतर्फ ध्यान दिन आवश्यक रहेको अध्ययनको निष्कर्श छ ।
पाठ्यपुस्तक प्राप्त नभएका विद्यार्थीको सिकाइ उपलब्धि न्यून भएको भन्दै अध्ययन प्रतिवेदनले शैक्षिक सत्रको अन्त सम्ममा पनि करिब ३–४ प्रतिशत विद्यार्थीले आफूहरूसँग पाठ्यपुस्तक नभएको प्रतिक्रिया दिएको उल्लेख छ । पुराना पाठ्यपुस्तक उपलब्ध गराइ कुनै पनि विद्यार्थीले पाठ्यपुस्तक छैन भन्ने अवस्था आउन नदिने तर्फ ध्यान दिन आवश्यक रहेको प्रतिवेदनको सुझाव छ ।
विद्यार्थीमा शिक्षक र विद्यालय प्रति भएको सकारात्मक धारणाले उनीहरूको सिकाइ उपलब्धिसँग सकारात्मक सह सम्बन्ध राखेको भनदै उक्त परीक्षणले कोही पनि विद्यार्थीले शिक्षकहरुले आफूलाई ध्यान दिन्छन्, कुरा सुन्छन, मायालु व्यवहार गर्छन्, विद्यालय जान मन लाग्छ भन्ने अवस्था बनाउनु पर्ने सुझाव दिएको छ । यसका लागि शिक्षकका व्यवहार र विद्यालयको वातवारणमा सुधार आवश्यक रहेको उल्लेख छ ।
ठीक उमेरमा ठीक कक्षामा अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धि राम्रो भएको तथा उपयुक्त उमेरमा विद्यालय पठाउने तथा उपयुक्त उमेरमा तोकिएको कक्षामा हुने र सिक्ने अवसर उपलब्ध गराउनु पर्ने देखिन्छ परीक्षणमा भनिएको छ, विद्यार्थीले विद्यालयको समयमा बाहेक १ देखि २ घण्टासम्म घरका काममा सघाउने, साथीहरूसँग खेल्ने, टिभि हेर्ने जस्ता जेसुकै क्रियाकलाप गरेपनि सिकाइमा त्यसले प्रभाव पारेको छैन । तर २ देखि ३ घण्टा भन्दा बढी समय पढाइ बाहेकका अन्य क्रियाकलापमा लगाउँदा सिकाइमा असर परेको देखिन्छ ।
शिक्षकहरूले गृहकार्य दिने, परीक्षण गर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको देखिन्छ भने गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको उल्लेख छ ।
पिरीयड खाली भएको समयमा कक्षा कार्य, गृह कार्य, समूह कार्य जस्ता पढाइसँग सम्बन्धित क्रियाकलापमा सहभागी हुने विद्यार्थीको उपलब्धि खाली पिरीयडमा खेल्ने जस्ता क्रियाकलापमा लाग्नेको भन्दा राम्रो देखिएको भन्दै उक्त परीक्षणले विद्यालयहरुले पिरीयड खाली नै नुहने र भएका खाली पिरीयडमा पनि उनीहरुलाई सिकाइका विभिन्न क्रियाकलापमा सहभागी गराउनु उपयुक्त हुने सुझाव दिएको छ ।
केन्द्रले गर्ने उक्त परीक्षण स्तरिकृत परीक्षण भएको र यसको नतिजालाई गुणस्तरको प्रतिविम्ब मानिदै आएको छ । २०६८ साल देखि हाल सम्म केन्द्रले कक्षा ३, ५, ८ र १० का ७ ओटा परीक्षण गरिसकेको छ । हरेक बर्ष जस्तो यस पटक नमुनामा लिइएका विद्यार्थीको प्राप्ताङ्कका आधारमा पुरै नेपालका कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीको नतिजाको रूपमा सामान्यिकरण गरिएको जनाईएको छ । यसरी नमुनालाई जनसंख्यामा नै सामान्यिकरण गर्न शिक्षा क्षेत्रमा निकै उच्च स्तरको नमुना छनोट विधि र अन्तराष्ट्रिय परीक्षणमा प्रयोग हुने अन्य विधि र सफ्टवेयरहरूको प्रयोग गरिएको केन्द्रको दावी छ ।
परीक्षणमा गणित र नेपाली विषयमा तीन तीन ओटा प्रश्न सेट र विद्यार्थीको पृष्ठभूमीका माध्यमबाट गरिएको भन्दै केन्द्रले विद्यार्थीको प्राप्ताङ्क र उनीहरूले सही जवाफ दिएका प्रश्नहरूको कठिनाइका आधारमा विद्यार्थीको अन्तर निहित क्षमता मापन गरिएको जनाएको छ । त्यसैले यस प्रतिवेदनमा विद्यार्थीको प्राप्ताङ्कको प्रतिशत उल्लेख नगरेको जनाईएको छ ।
केन्द्रले शैक्षिक सत्र २०६८ मा कक्षा ८ मा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण सुरु गरी सन् २०१५ सम्म कायम रहेको विद्यालय क्षेत्र सुधार योजना अवधिमा कक्षा ३, ५ र ८ प्रत्येकमा दुई पटक परीक्षण सम्पन्न गरी प्रत्येक परीक्षणका नतिजा तथा प्रतिवेदनहरू सार्वजनिक गरेको थियो ।
अब सन् २०१६ – २०२२ सम्ममा कक्षा ५, ८ र १० का विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण दुई दुई पटक गर्ने कार्यक्रम रहेको केन्द्रले जनाएको छ ।
परीक्षणमा विद्यार्थीका लागि विषयगत प्रश्न तथा पृष्ठभूमि प्रश्नावली, विषय शिक्षक र प्रधानाध्यापकका लागि पृष्ठभूमि प्रश्नावली समावेश गरिएको थियो भने एउटा विद्यालयमा एउटा मात्र विषयको परीक्षण गरिएको थियो ।
परीक्षणको नतिजाको प्रस्तुति गर्दा अन्तराष्ट्रिय प्रचलन अनुसार विद्यार्थीको प्राप्ताङ्कलाई प्रश्नको कठिनाइ स्तरसँग मिलान गरी प्राप्त भएको विद्यार्थीको अन्तर्निहित क्षमतालाई स्केल्ड अङ्क प्रयोग गरिएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया