Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

विदेश उड्नु अघि प्रधानमन्त्रीद्वारा नियुक्ति, विश्वविद्यालयका उपकुलपति चयन गर्न सर्च कमिटि गठन

शनिबार, १८ साउन २०७६

काठमाडौं - उपचारका लागि सिंगापुर तर्फ उड्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अध्यक्ष र सदस्यको नियुक्ति गरेका छन् ।  भूगर्भ शास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा. लालु पौडेललाई अध्यक्ष र  शिक्षा शास्त्र संकाय अन्र्तगत शैक्षिक योजना तथा व्यवस्थापन विशेष समितिका अध्यक्ष हेमराज ढकाललाई सदस्यमा नियुक्ति गरेका प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ । पौडेल पर्वतका हुन् भने ढकाल गोर्खाका हुन् । उनीहरुले नियुक्तिको पत्र बुझ्न भने बाँकी छ । प्रधानमन्त्रीको सिंगापुर यात्रा एक साता लामो हुने भए पछि हतार हतार नियुक्तिको निर्णय गरिएको हो ।

आयोग अध्यक्ष र सदस्यको नियुक्तिको सिफारिस गर्न सरकारले शिक्षा मन्त्रीको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटि गठन गरेको सार्वजनिक भएको भोलीपल्टै शनिबार प्रधानमन्त्रीले उक्त निर्णय गरेका हुन् । गएको मंगलबार प्रधानमन्त्री केपी ओलीले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भौतिक शास्त्र केन्द्रिय विभागका प्रमुख प्रा.डा. विनिल अर्याल र व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्मा सदस्य रहेको सर्च कमिटि गठन गरेको निर्णय शुक्रबार मात्रै सार्वजनिक भएको थियो ।  

यस अघिका अध्यक्ष चैतन्य शर्माको तीन वर्षे पदावधि गत साउन ५ गते सकिए पछि आयोग रिक्त थियो । आयोगका सदस्य चिन्तामणि पोखरेलको अवधि २०७७ साल मंसिर सम्म बाँकी रहे पनि आयोगले प्रकाशन गरेको विज्ञापन अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आफन्तलाई उत्तीर्ण गराई अनियमितता गरेको अभियोगमा अध्यक्ष शर्मा र पोखरेल सहित आयोगका पदाधिकारी र कर्मचारी गरी १० जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसैले अध्यक्षको नियुक्तिकै प्रकृयामा ढकाललाई सदस्यको रुपमा नियुक्ति गरिएको हो । तर विश्वविद्यालय ऐनमा निलम्बनमा परेको सदस्यको मुद्दा किनारा नलागे सम्म नयाँ नियुक्ति नहुने व्यवस्था छ ।

आयोगमा लोक सेवा  आयोगका तर्फबाट प्रतिनिधित्व गर्ने ब्रम्हदेव राय पदेन सदस्य छन् ।

यसैबिच विश्वविद्यालयहरुका उपकुलपति लगायतका पदाधिकारी नियुक्तिको सिफारिस गर्न सरकारले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सर्च कमिटि गठन गरेको छ । विदेश उड्नु अघि प्रधानमन्त्रीले सर्च कमिटि गठनको निर्णय गरेका श्रोतले जनाएको छ ।

प्रतिक्रिया