गत चैतमा भएको कक्षा १० को अन्तिममा लिईने परीक्षा एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्डले असार १२ गते सार्वजनिक गर्यो । २०७२ साल पछि माध्यमिक तहको यो परीक्षा कोही पनि फेल नहुने परीक्षामा रुपान्तरित भएको हो । मौका परीक्षा अर्थात् पूरक परीक्षा पहिले पनि सञ्चालन हुन्थ्यो । लेटर ग्रेडिङ प्रणालीमा गए पश्चात् पूरक परीक्षालाई ग्रेड वृद्धि गर्ने परीक्षाको नाममा बुझिन थालियो । यो परीक्षाको औचित्यता माथि धेरै सवाल उठ्न सक्छन् । परीक्षा नियन्त्रण कार्यालयका उच्च पदस्थ व्यक्ति र शिक्षाका विज्ञजनले यसको सूक्ष्म विश्लेषण गर्न जरुरी भईसकेको छ । परम्परागत कर्मकाण्डीलाई निरन्तरता दिनु पहिले आवश्यकता र प्रभावकारिताबारे पर्याप्त छलफल चाहिन्छ नै ।
के का लागि पूरक परीक्षा ?
यो पहिलो सवाल हो । जिम्मेवार पदासिन व्यक्तिले जवाफ दिनु जरुरी छ । हाम्रो बुझाईसँग माथिका ठूला मान्छेको बुझाई फरक पर्ने रहेछ । तोकिएको नियमित परीक्षामा अत्यन्त अप्ठ्यारो अवस्था जस्तो कडा विरामी, आफन्तकै मृत्यु, दुर्घटना आदिको कारणले सम्बन्धित परीक्षार्थीको एक वा दुई विषयसम्मको परीक्षा छुटेको अवस्था र अन्य विषय राम्रो हुँदाहुँदै एक विषय राम्रोको नजिक पुग्न थोरै अर्थात् बढीमा दश प्रतिशतले पछाडि परेको अवस्थामा त्यस्ता परीक्षार्थीलाई मौका वा पूरक परीक्षाको अवसर दिँदा उसले अर्को एक वर्ष पर्खिनु पर्दैन र थप समयको क्षति हुँदैन । यो अवस्थामा पूरक परीक्षाले राम्रो म्यासेज दिन सक्छ ।
अप्ठ्यारो र असहज अवस्थाको सम्बोधनलाई सबैले सकारात्मक लिनु पर्छ, जुन सधैं सबैलाई पर्दैन । एउटा विषयमा थोरै अंक बढीमा दश नपुगेर परीक्षार्थीले पाउने मानसिक यातना हल गर्नु परीक्षा बोर्डको जिम्मेवारी पनि हो । थोरै अंकको कारणले विद्यार्थीले चाहना गरेको विषयमा माथिल्लो शिक्षा आर्जनबाट वञ्चित हुन नपरोस् भन्ने अर्को कारण यही पूरक परीक्षाको पृष्ठभूमिमा लिन सकिन्छ । विशिष्ट अवस्थाको कारणले एउटा विषयको जाँच छुटेर परीक्षार्थी मानसिक तनावमा रहनु नपरोस्, जबकि अन्य सबै विषयमा राम्रो भएर पनि खास कारणले सिंगै अर्को वर्ष पर्खिनु नपरोस् भन्ने भाव यो परीक्षासँग जोडिएको छ । परीक्षा केन्द्रमा जाँदाजाँदै कावु बाहिरको परिस्थिति उत्पन्न भई अनुपस्थित बनेको अवस्थालाई मौका वा पूरक परीक्षाले सम्बोधन गर्ने सबालमा दुईमत छैन । पूरकको सामान्य अर्थ मूल परीक्षालाई पूर्णता दिन प्रदान गरिने अवसर हो । यसको बुझाई र व्यवहारमा भिन्नता हुनु हुँदैन ।
मूल परीक्षाको मर्म निस्तेज
परीक्षा स्वयंमा अत्यन्त संवेदनशील पक्ष हो । यो विषयलाई कसैले पनि हल्का वा नजर अन्दाज गर्न मिल्दैन । व्यक्तिको सीप र ज्ञानको मूल्यांकनलाई ठट्टा गर्नु महाअपराध हुनेछ । मौका परीक्षा भइहाल्छ, यसमा बिग्रेर के भयो र ? म पूरक परीक्षामा अलि मिहिनेत गरेर राम्रो गर्छु भन्ने भाव परीक्षार्थीमा विकास भएको छ । मूल परीक्षालाई कम महत्व दिने, अनुपस्थित हुने, सँगै आज बिग्रेर वा नपढेर वा नगएर के भयो र पछि चान्स आइहाल्छ । यस्ता कुराले विद्यार्थी बीचमा राम्रो स्थान पाएको छ ।
एक विषय होइन, दुई होइन, जति पनि वा सबै विषयमा पनि जाँच दिन पाइने हुँदा मूल परीक्षाको अर्थ फितलो बन्दै गएको, महत्व र मर्म ओझेलमा परेको तथ्य स्वीकार्नै पर्छ । जति विषयमा पनि जाँच दिन पाउने, जुन ग्रेड भए पनि हुने, एक विषय जुन विभिन्न कारणले डी छ र त्यो वृद्धि गर्न जरुरी छ भन्ने हुँदा यो मौका परीक्षाको महत्व हुन्छ । अब ई ग्रेड भएकाको लागि मौका परीक्षा आफैंमा उपहास भएन र ?
चाहेको विषयहरु दिन सक्ने भन्ने वित्तिकै सबैमा कम ग्रेड हुनेले सबै परीक्षा दिनु भनेको मूल परीक्षा जस्तै भएन र ? त्यो त पूरक भन्नै मिल्दैन । अझ दुई मध्ये जुनमा बढी छ त्यो कायम हुने भन्ने भनाइले रत्ति पनि त्रास र जोखिम छैन । मौका परीक्षाको आवेदन झण्डै अब फेसन जस्तो भएको छ । बढे यो ठिक छ, नभए अघिल्लो परीक्षाको त घट्दैन भन्ने मानसिकता परीक्षार्थीमा पाइन्छ । मूल परीक्षा क्रमशः अर्थ हीन बनाउने र पूरक परीक्षाको नाममा थप नाटक गर्ने काम कदापि राम्रो होइन । मूल परीक्षालाई आफ्नो स्थानमा मर्यादित बनाउनु पर्छ । मौका परीक्षालाई सूक्ष्म ढंगले विश्लेषण गरी सञ्चालन गर्नु पर्छ । वर्तमान अवस्थाले मूल परीक्षा जस्तै पूरक परीक्षा हुने भएकाले चार महिना लगभगको समयमा दुबै परीक्षा मूल जस्तै देखिनुलाई सामान्य र हल्का भन्न सकिन्न ।
सूचनाले अन्यौल
परीक्षा अत्यन्त संवेदनशील विषय हो भन्नेमा कति पनि विमति छैन । यति महत्वपूर्ण सबालसँग जोडिएको राष्ट्रिय परीक्षा बोर्ड सबै भन्दा बढी गम्भीर बन्नैपर्छ । कुनै पनि प्रकारको त्रुटी हुनै हुँदैन । परीक्षा सञ्चालन गर्ने कार्यालयको सूचनाले कसैलाई पनि अस्पष्ट र अन्यौल बनाउन हुँदैन । गत वर्ष माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षाफल प्रकाशनमा भएको गम्भीर त्रुटीले धेरै परीक्षार्थीलाई अन्यौल बनायो । नतिजा तीन पटकसम्म सच्याइएको अवस्था भनेको अत्यन्तै गैरजिम्मवारीपनको उदाहरण भन्नैपर्छ । पूरक परीक्षाको सवालमा पनि बारम्बार सूचना गर्ने र फेरि सच्याउने भनेको यो त परम्परागत नियम जस्तो पो देखियो ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा (कक्षा १०) को अर्थात् एसईईको नतिजा प्रकाशन पश्चात् पूरक परीक्षाको सन्दर्भमा एउटा सूचना जारी गरी श्रावणको २६ र २७ गते दुई दिन गर्ने, दुई विषयको मात्र फर्म भर्नसक्ने भनियो । पुनः लगत्तै दुई दिन पश्चात् राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरले संशोधित सूचना प्रकाशित गरी विद्यार्थीले सी वा सोभन्दा तल्लो ग्रेड भएका विषयमा चाहे जति विषयहरुको मौका परीक्षा दिन सक्ने गरी तालिका समेत भाद्र १ गतेदेखि ११ गते सम्मको तोकि थप नाटक प्रदर्शन गरेको छ । उक्त नाटकलाई भूलभश भन्दे शिक्षा मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गरेको खबर सार्वजनिक भएको छ ।
पढ्नुहोस् उक्त खबर : कक्षा १० को पूरक परीक्षाबारे मन्त्रालयको स्पष्टोक्ति, सूचना भूलवश प्रकाशित !
यस्ता भद्रगोलको अवस्थामा परीक्षाको के अर्थ ?
परीक्षार्थी मात्रै हैन शिक्षकहरु समेत अलमलमा पर्ने विज्ञहरुबाट कुनै प्रतिकृया नआउने शिक्षा मन्त्रालय भूलभश भनेर पन्छिने ! यो भन्दा लाजमर्दो केही हुन्छ ?
दुई दिन ढिलो गरेर, अलि बुझेर आवश्यक छलफल गरेर मात्र सूचना प्रकाशन गरेको भए के बिग्रन्थ्यो ?
अब भदौ ११ गतेसम्म जाँच र नतिजा प्रकाशन गर्दा असोज मसान्त पुग्न सक्ने अवस्था देखिन्छ । यता कक्षा ११ को शैक्षिक सत्र साउन १ गतेबाटै हो भन्ने बोर्ड पनि त्यही हो । शैक्षिक सत्र सुरुवात भएको तीन महिना पछि प्रकाशित हुने नतिजाको आधारमा रजिष्ट्रेशन हुन्छ भन्दैमा भर्ना गर्दा पढाइको क्षति छँदैछ, सँगै तीन महिनाको शुल्क विद्यार्थीले पढ्दै नपढी तिर्नु पर्ने वाध्यता स्वयं शिक्षा मन्त्रालयले सिर्जना गर्दै छ ।
यी सूक्ष्म, प्राविधिक र विद्यार्थीको भविष्यसँग जोडिएका गम्भिर विषयमा परीक्षा बोर्ड बर्षै पिच्छे नाटक मञ्चन गरिरहन्छ । एक पटक त्रुटी भए पश्चात् त्यो अर्को पटक सच्याउन जरुरी हुन्छ । उही प्रकृतिका उही अवस्थामा भइरहने त्रुटीले गैर जिम्मेवारीको चरम नमूना प्रदर्शन गर्दछन् ।
अन्तमा, फेल नहुने परीक्षाको नतिजाको आधारमा मौका वा पूरक परीक्षाको औचित्य सकिनु पर्ने हो । यस्तो परीक्षा अनावश्यक धन, जनको अनि साधन, स्रोतको दुरुपयोग नै हो । नगरी नहुने भन्ने निष्कर्षमा कोही पुग्छ भने मौकाको भनाइ अनुसार एक विषयसम्म, त्यो पनि डी ग्रेडकालाई मात्र अवसर दिएर एक दिन पूरक परीक्षा चलाउनु वा अवसर दिनु सान्दर्भिक हुनसक्छ । जुनसुकै ग्रेडका कमजोर भएका सबै विषयमा पूरक परीक्षा सञ्चालन भनेको मूल परीक्षा नै हो । मौका वा पूरक नभनि फेरि मूल परीक्षा नै हो भन्ने हालको विधि प्रक्रिया अन्यथा हुँदैन ।
परीक्षालाई गम्भीर र संवेदनशील भन्दा भन्दै व्यक्ति वा संस्थाका सिमित स्वार्थका नाममा स्वयम् बोर्ड नै उपहासको अंग बनिनु हुन्न । परीक्षा बोर्डलाई दुरुपयोग गरेर कसैले पनि नाटक मञ्चन गरिनु हुन्न । जिम्मेवारी अनुसारको संस्थागत मर्यादा राष्ट्रिय परीक्षा बोर्डले कायम गर्नु पर्छ भन्ने हाम्रो अपेक्षा हो ।
प्रतिक्रिया