Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

पर्वतमा शिक्षकका लागी 'फोन इन कार्यक्रम' शुरु

सोमबार, २३ कार्तिक २०७२

काठमाडौँ, २३ कात्तिक । तपाई पर्वत जिल्लाभित्रको कुनै सामुदायिक विद्यालयको शिक्षक हुनुहुन्छ ? तर विद्यालयमा हुनुहुन्न भने तपाईंको विद्यालयमा जति बेला पनि मोबाइलको घन्टी बज्न सक्छ र तपाईं अनुपस्थित हुनुका कारण सोधिन सक्छ । 

जिल्ला शिक्षा कार्यालय पर्वतले विद्यालयमा शिक्षकले पढाउने गरेका छन् कि छैनन् भनेर अनुगमन गर्नका लागि टेलिफोनबाटै छड्के जानकारी लिन ‘फोन इन कार्यक्रम’ सुरु गरेको छ । सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयमा जाँदैनन् र विद्यालय पुगे पनि सबै समय बस्दैनन् भन्ने गुनासो आएपछि टेलिफोनबाटै छड्के अनुगमन थालिएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले बताए ।  

अभियानअन्तर्गत विद्यालयको प्रधानाध्यापकलाई टेलिफोन गरी विद्यालयका कुन कुन शिक्षक उपस्थित छन् कि छैनन् भनेर बुझ्ने गरिएको छ । “कार्यालयबाटै टेलिफोनमा बुझ्ने काम सुरु गरेपछि पनि केही विद्यालयमा शिक्षकको उपस्थिति र कक्षा कोठामा बसेर अध्यापन गराउने कार्यमा सुधार आएको छ” उनले भने – “अब यसलाई छड्के अभियानकै रुपमा लैजाने योजनामा छु ।”  

टेलिफोन गरिएको विद्यालयमा शिक्षकको उपस्थितिका बारेमा पछिपछि छड्के गरेर विद्यार्थी र विद्यालयबाट जानकारी लिने योजना कार्यालयको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु राजनीतिक दलको जिल्लादेखि स्थानीय तहसम्मको कार्यकर्ता हुने, बिहे व्रतबन्धदेखि अन्य सामाजिक काममा समेत खटिने र बाटो कुलोदेखि वन उपभोक्ता समूहमा समेत सक्रिय हुने भएकाले विद्यालयमा भन्दा अन्यत्र बढी क्रियाशील हुने गरेको आरोप लाग्दै आएको छ ।

यसबाहेक शिक्षकको उपस्थिति र शैक्षिक गुणस्तरको अनुगमन गर्नका लागि यस वर्ष सामुहिक अनुगमन, सञ्चारकर्मी र नागरिक समाजबाट समेत छड्के अनुगमन गरिने जिशिअ पौडेलले बताए ।  

पर्वत जिल्लाका ३११ सामुदायिक विद्यालयमा विभिन्न तहमा गरी दुई हजार ३६ जना शिक्षक कार्यरत छन् । त्यसमध्ये प्राथमिक तहमा एक हजार ३११, निम्न माध्यमिक तहमा ३६१, माध्यमिक तहमा २९४ र उच्च माध्यमिक तहमा ७० जना शिक्षक कार्यरत छन् । यसबाहेक ३०५ वटा बालविकास केन्द्र, २५ वटा सामुदायिक अध्ययन केन्द्रमा समेत एक÷एकजना सहजकर्ता कार्यरत छन् । 

(रासस)

 

प्रतिक्रिया