Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

दाताको सहयोगबाट नुवाकोटमा अत्याधुनिक विद्यालय

सोमबार, २३ कार्तिक २०७२

काठमाडौँ, २३ कात्तिक । विदेशी दाता (स्वीस नागरिक)को आर्थिक सहयोगमा नुवाकोटको तारुकामा तीन अत्याधुनिक विद्यालय निर्माण सुरु गरिएको छ । पर्यटन व्यवसायी मोहन लम्सालको संयोजनमा नुवाकोटस्थित तारुका आरुबोटे वडा नं ४ मा बिपी स्मृति प्राथमिक विद्यालयको निर्माण थालिएको हो । 

मकालु एडभेन्चरका सञ्चालकसमेत रहनु भएका व्यवसायी लम्सालले १० जना स्वीस नागरिकको आर्थिक सहयोग जुटाएर विद्यालय निर्माण अभियान सुरु गरेका छन् । निर्माणाधीन उक्त विद्यालयमा सौर्य उर्जा प्रणाली, बाथरुम तथा अत्याधुनिक प्रविधिको भूकम्प प्रतिरोधात्मक छ कोठे पक्की भवन बनाइने छ । 

लगानीकर्ता स्वीस नागरिक स्वयम्ले विद्यालय निर्माणका लागि श्रमदान पनि गरिरहेका छन् । विद्यालय निर्माण कार्यले स्थानीयलाई समेत रोजगारीको अवसर सिर्जना भएको छ । भूकम्पबाट क्षतिग्रस्त बिपी स्मृति प्राविसहित नुवाकोट तारुकास्थित वडा नं ५ को श्री नमुना जनजागृति प्रावि र वडा नं ८ स्थित हस्तीकेसर प्राविको पनि यसलगत्तै चरणबद्ध रुपमा निर्माण गरिने व्यवसायी लम्सालले बताए ।  

व्यवसायी लम्साल र गन्तव्य नेपाल साप्ताहिकका अध्यक्ष तथा प्रधानसम्पादक शिव अधिकारीलगायतका टोलीले निर्माणाधीन विद्यालय भवनको निरीक्षण गर्दै चाँडै भवनले पूर्णता पाउने बताए ।  अध्यक्ष अधिकारीका अनुसार तीनवटै विद्यालय निर्माणका लागि रु दुई करोडभन्दा बढी लगानी रहेको छ । 

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का पूर्वमहासचिवसमेत रहनुभएका लम्सालले नुवाकोट तारुकामा मात्र नभएर देशैभरिका भूकम्प प्रभावित दुर्गम क्षेत्रमा शिक्षालगायतका अन्य क्षेत्रमा समाजिक कार्य गर्दै आएका छन् ।  

(रासस) 

 

प्रतिक्रिया