Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

संसदमा सांसदले भने “तीन महिनादेखि तराईका विद्यालय बन्द छन्”

आइतबार, २२ कार्तिक २०७२

काठमाडौँ, २२ कात्तिक । व्यवस्थापिका संसदमा सांसदहरुले तराईका विद्यालय बन्द रहेकोमा सरकारको ध्यानाकर्षण गराउदैँ विद्यालय सञ्चालन गर्न दिनुपर्ने बताएका छन्।  आन्दोलनरत मधेसी मोर्चाले आह्वान गरेको बन्दले गर्दा विगत ८५ दिनदेखि तराई मधेसका विद्यालय बन्द हुँदा दशौँ लाख विद्यार्थीको भविष्य अन्योलमा धकेलिएको छ।

आईतबार * संसदमा बोल्ने सांसदहरुले तराईका विद्यालय बन्द हुँदा शैक्षिक सत्र नै प्रभावित हुन लागेको भन्दै विद्यालय खुल्न दिन सरकार र आन्दोलन पक्षसित माग गरेका छन् । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विद्यालय बन्द हुदा विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै निर्वाध पठनपाठनको व्यवस्था मिलाउन सरकारसग माग गरे ।

“सरकारको ध्यान कता छ ? तराईका विद्यालय बन्द भएको आज यतिका दिन पुगिसेको  छ। विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको छ। म सरकारको फेरी पनि ध्यानाकर्षण गराउन चाहन्छु विद्यालय चाडैँ खोल्न सरकारले पहल गरोस।” 

यस्तै नेकपा एमालेका नेता तथा सांसद राजेन्द्र पाण्डेले पनि तराईका विद्यालय बन्द हुदाँ विद्यार्थील पढ्न नपाएका भन्दै विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।  “तराईका विद्यालय बन्द हुँदा  विद्यार्थीले पढ्न पाएका छैनन्, आन्दोलन गर्न पाउनु अधिकार भएपनि विद्यालयलाई क्षति पुग्नु दुखद पक्ष हो । त्यसैले विकल्प दिएर पनि विद्यालय खोल्नुपर्छ ।”

संसारको कुनै पनि देशमा राजनीतिक आन्दोलन चलिरहदा विद्यालय बन्द गर्ने कार्य नभएपनि नेपालमा त्यसको ठीक उल्टो राजनीतिक आन्दोलनबाट विद्यार्थीको भविष्य अन्धकारमा गइरहेको छ।

मोर्चाको संसदमा पनि आन्दोलन

बैठकमा सम्बोधन गर्दै सांसदलहरुले विद्यालय खुलाउन गरेको आग्रहलाई खुट्टामा कुुल्चिदै संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता तथा उपाध्यक्ष अशोक राईले बन्द रहेका विद्यालयबारे त एक शब्द पनि बोलेनन् नै उल्टै सरकारले माग सम्बोधन नगरेको भन्दै अन्य मधेसी सांसदलाई बोलाएर रोष्टम घेरेका थिए ।

लगत्तै ठूल्ठूलो स्वरमा हाम्रा माग सम्बोधन गर, नाकाबन्दी खोल, लगायतका नारा लगाउँदै बैठकमा अवरोध पु¥याएका थिए । केही समय सभामुख ओनसरी घर्तीले माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्ने र आफ्नो ठाउँमा बस्न आग्रह गरेपनि उनीहरुले नमानेपछि अन्ततः बैठक सोमबार ३ बजेसम्मका लागी स्थगित गरेकी थिइन् ।

मधेसी मोर्चाका नेताहरु आइतबारको संसद बैठकमा बसेकाले आन्दोलन मत्थर भई विद्यालय खुल्लान की भन्ने शैक्षिक सरोकारवाला र विद्यार्थीको आशामा भने फेरी पनि तुषारापात भएको छ।

* सच्याईएको - संं.

प्रतिक्रिया