२१ औ शताव्दीको आजको समय सम्म आइपुग्दा विद्यालय ज्ञानको मन्दिरबाट सिकाइको प्रयोगशालाको रुपमा रुपान्तरण हुँदै गएको छ । एक जमाना थियो मन्दिर रुपी विद्यालय जहाँ भगवानरुपी गुरु हुन्थे, गुरु निर्विकल्प ज्ञानको स्रोत हुने गथ्र्याे । गुरुको सेवा गर्नु र आज्ञा पालन गर्नु शिष्यहरु आफ्नो कर्तव्य ठान्थे । जुन वेला शिष्यहरुले जतिसुकै राम्रो गरे पनि गुरु कहिल्यै सन्तुष्ट हुँदैन थिए । किन की गुरुको सन्तुष्टले शिष्यको प्रगति गर्दै जाने मार्ग बन्द हुन्छ भन्ने ठानेर गुरुहरु जानीजानी सन्तुष्ट नभएको नाटक गर्ने गर्थे !
तोकिएको जिम्मेवारी पूरा नगर्ने शिष्यहरु त सजायको भागेदार हुनु नै पथ्र्यो । जसको मतलव शिष्यको उन्नति र प्रगति नै होस् भन्ने गुरुको अन्तरआत्मा देखिको चाहना हो भन्ने मान्यता प्रवल हुन्थ्यो । त्यसमा पनि गुरुले कठोर भएको नाटक नै गर्थे ।
किन यति धेरै नाटक गर्न माहिर थिए त त्यस बेलाको गुरु ?
किनकी त्यत्ति बेलाका गुरुहरु धर्म शास्त्र वा भगवानमा पूर्ण रुपमा विश्वास गर्थे । नीति र नियतमा इमान्दार एवम् पक्का हुन्थे । त्यति बेला नियम कानुनले भन्दा पनि पाप र धर्मको विश्वासले हरेक व्यक्तिको मन मनमा शासन गरेको हुन्थ्यो ।
मान्छेले अरुलाई जतिसुकै झुठो बोले पनि आफुले आफुलाई भने कहिल्यै ढाँट्न सक्दैन । त्यसैले पाप लाग्छ भन्ने डरले पनि मन, वचन र कर्ममा स्वच्छता, शुद्धता रहन्थ्यो ।
समय बदलिएको छ । मानिसहरु बदलिएका छन् । पाप र धर्मको प्रगाढ आस्थालाई नियम र कानुनले विस्थापन गर्दै गएको छ । विद्यालय पनि मन्दिर नभएर बालबालिकाले जन्मसिद्ध अधिकार पाएको सिकाइ शाला, रङ्गशाला, नाट्यशाला आदिको रुपमा परिवर्तन भएको छ ।
तिमीहरुलाई खाना, लाउन, बस्न, पढाउन हामीले दुःख गरेको हौं भनेर उति बेलाका आमा बुवाले आफ्ना बालबच्चाहरुलाई सम्झाउँदा बुढेसकालमा हामीले तपाईहरुलाई पालन पोषण गरौंला नि भन्ने बालबच्चाको जवाफ हुन्थ्यो । तर हिजो आजका आमाबुवाले यसो भन्यो भने यो त तपाईहरुको कर्तव्य र हाम्रो अधिकार पो हो त भन्ने जवाफ बालबच्चाबाट सजिलै आउँछ ।
यस परिस्थितिमा आजका शिक्षकहरुले विद्यालयमा विद्यार्थीलाई गर्ने व्यवहार र अध्यापन शैलीमा पनि आकाश जमिनको परिवर्तन आवश्यक छ । विद्यालय बालमैत्री अर्थात कुनै किसिमको हिंसा रहित हुनुपर्दछ भन्ने आवाज र नारा जताततै घन्किन थालेको देखिन्छ । सञ्चार माध्यममा पनि शिक्षकको कुटाईले कतै विद्यार्थीको टाउको फुटेको, कतै हात भाँचेको, कतै आँखा फुटेको त कतै त्यस्तै घटनाले ज्यान नै गुमाएको सम्म खबर सार्वजनिक भईरहेकै छन् ।
विद्यालय शान्ति क्षेत्र हो यहाँ कुनै किसिमको हिंसा हुनु हुँदैन भन्ने कुरामा कुनै दुई मत छैन । तर दण्ड र पुरस्कारको माध्यमबाट शिक्षा हासिल गरेको पृष्ठभूमिबाट आएका शिक्षकहरुले सोही शैली नै अपनाउदै आइरहेको अवस्थामा एक्कासी पूर्ण हिंसा मुक्त विद्यालय घोषणा गर्दा अधिकांश विद्यालयहरुमा झन् समस्या सुल्झाउने भन्दा बल्झाउने कार्य भयो भन्ने गुनासो पनि सुन्नमा आएको पाइन्छ ।
दण्डको विकल्प के हो त ?
विद्यार्थीलाई डर, त्रास, यातनाको विकल्प मनोवैज्ञानिक परामर्श सेवा अर्थात् मनोवैज्ञानिक परामर्श तथा उत्प्रेरणा ।
अब प्रश्न आउँछ, हिंसा रहित विद्यालय घोषणा गर्नु पूर्व कति शिक्षकलाई मनोवैज्ञानिक परामर्श सम्बन्धी तालिम दिईएको छ त ? र त्यसको कार्यान्वयन पक्षको योजना र नतिजाको अवस्था के छ ? हो यही दुई पक्ष बीचको खाडल नै वर्तमान शिक्षा प्रणालीमा विशेष गरी सामुदायिक विद्यालयमा आएको शिक्षण सहजीकरण प्रक्रियामा देखा परेको समस्याको एउटा मुख्य जडको रुपमा लिन सकिन्छ ।
यसै सन्दर्भमा एउटा प्रसङ्ग जोड्न उपयुक्त होला । ग्रामिण क्षेत्रको कुनै एउटा सामुदायिक विद्यालयमा गैर सरकारी संस्थाको समन्वयमा विदेशी स्वयम् सेवक शिक्षक नियुक्त हुन्छ । केही दिनको शिक्षणमा नै उक्त शिक्षक आश्चर्य चकित हुन्छ । कारण उक्त विद्यालयमा विद्यार्थीलाई कहिलेकाँही शिक्षकले दण्ड दिने गरेको हुन्छ । अन्य शिक्षकहरु विद्यार्थीको गल्ती र अध्ययन नगर्ने वानीको अवगत गराउने कोशिस मात्र गर्दछ । तर उक्त विदेशी शिक्षक कुनै पनि हालतमा उल्लेखित शैली र विद्यार्थीमा थोपारेका दोष स्वीकार गर्नै मान्दैनन् । उक्त विदेशी शिक्षकको तर्क हुन्छ, विद्यार्थीले गल्तीबाट नै सिक्ने हो । विद्यार्थीको गल्ती सजायको कारक होइन सिकाइको अवसर हो ।
विद्यार्थीले अध्ययन नगरेको होइन हामीले नै अध्ययन गर्ने वातावरण सिर्जना गर्न नसकेको हो । यसै कारण विद्यालयमा नयाँ हलचल पैदा हुन पुग्छ । सबैलाई उक्त स्वयम् सेवक शिक्षकको कुरा जायज नै लाग्छ । तर कार्यान्वयन तहको उपाय के त ? पक्कै पनि यसलाई मनोवैज्ञानिक परामर्शले फलदायी भूमिका खेल्न सक्दछ ।
तर सबै शिक्षकहरुलाई मनोपरामर्श तालिम दिने कसले त ? यही अभावरुपी अहम् सवालको बीचबाट विद्यालय शिक्षाको सुधारको मार्ग पहिल्याउन जरुरी छ । आजको विद्यार्थी न त उति बेलाको गुरुमा मात्र निर्भर शिष्य जस्तो छ, न त चुपचाप आज्ञा पालक नै । अहिले सञ्चार माध्यम देखि सामाजिक सञ्जालसम्म, गुगलदेखि युट्युवसम्म जानकार विद्यार्थी छन् ।
त्यसैले विद्यार्थीमा डर, त्रास र बाध्यताले होइन अन्तरमनबाट नै जिम्मेवारी बोधका साथ अध्ययन गर्न उर्जा मिल्ने वातारण सिर्जना गर्नु पर्दछ । बालमैत्री र गुणस्तरीय शिक्षाको सुनिश्चितता हुनु पर्दछ ।
लामा पाटन माध्यमिक विद्यालय पाटनढोका, ललितपुरका शिक्षक हुन् ।
प्रतिक्रिया