Edukhabar
बुधबार, १२ मंसिर २०८१
विचार / विमर्श

हुन सक्दैन निजी शिक्षा, सार्वजनिक शिक्षाको विकल्प

आइतबार, २२ कार्तिक २०७२

- राजकुमार बराल / ग्रिकका दार्शनिक एरिष्टोटल कुनै वेला राजधानी एथेन्समा आफ्ना गुरु प्लेटोले खोलेको स्कुल ‘एकेडेमी’ का विद्यार्थी थिए । त्यतिवेलाको ग्रिकको निकृष्ट राजनीतिबाट वाक्क भएका प्लेटोले सञ्चालन गरेको उक्त ‘एकेडेमी’ बाट दीक्षित एरिष्टोटलले आफ्नो निष्कर्ष सुनाउँदै भनेका थिए “सबैका लागि एउटै र समान सार्वजनिक शिक्षा हुनुपर्छ, निजी हैन ।” प्लेटोले व्यक्तिगत रुपमा ‘एकेडेमी’ स्कुल खोलेको भए पनि त्यसको उद्देश्य व्यक्तिगत मुनाफा नभएर समाज वदल्ने गतिला राजनीतिज्ञ तयार गर्नु थियो, जुन काम त्यति वेलाको राज्यले गर्दैनथ्यो ।

करिब ३८७ वी.सी. तिर प्लेटो शिक्षाका लागि बालबालिकालाई बाबुआमा र परिवारबाट अलग गर्नुपर्छ अनि राज्यले उनीहरूको शिक्षा दीक्षाको जिम्मा लिनुपर्छ भन्थे । गान्धीले शिक्षाको ‘व्यापक तर विकेन्द्रित नमूना’ नै पेश गरेका थिए । त्यसको प्रमुख उद्देश्य आम जनतामा उत्पादक र सामाजिक सीपको विकास गर्नु थियो । यसमा राज्यले निर्देशन, संयोजन लगायतका सबै जिम्मेवारी वहन गर्नुपर्छ र त्यसो गर्दा शिक्षाका राष्ट्रिय नीतिहरु ग्रामीण तहसम्म लागू हुन सक्छ भन्ने उनको धारणा थियो ।

अर्का दार्शनिक रुसोले आफ्नो पुस्तक ‘इमाइल’मा बालबालिकाको शिक्षा उनीहरुका आमा बाबुका लागि भन्दा पनि राज्यका लागि ज्यादा महत्वपूर्ण हुने ठानेका छन् । उनको तर्कमा छोराछारीको शिक्षामा गरेको लगानीको प्रतिफलबाट आमा बाबुको मृत्यु भएमा केवल आमा बाबु बञ्चित हुन्छन् तर राज्यले ढिलो चाँडो यसको प्रभाव भोग्नुपर्छ, परिवार विघटन हुनसक्छ तर राज्य रहिरहन्छ । तर आजका दिनमा निजी विद्यालयहरुको प्रभुत्व बढ्दो छ । विश्वव्यापी सञ्जाल भएका निजी विद्यालयहरु चम्कँदा छन् । अनि गुणस्तरीय शिक्षाको चिन्ता राज्यको नभई आफ्नो घरपरिवारको चिन्ताको विषयमै सीमित भएको छ । आम जनताका छोराछोरीको शिक्षाप्रतिको राज्यको निरिहता बढ्दै गएको छ ।  

विश्वव्यापी रुपमा शिक्षाको दायित्वबाट राज्यहरु पछि हट्दै गईरहँदा यतिवेला संसारभर सार्वजनिक शिक्षाको महत्वबोध हुँदै गएको देखिन्छ । यस्तो मनस्थिति निजी विद्यालयको कोरा विरोधको रुपमा नभएर निजी विद्यालयको सैद्धान्तिक जग र त्यसले उत्पादन गर्दै गएको पुस्तामा विकास हुँदै गएको मनोवृत्ति, चिन्तन तथा जीवनशैलिको परिणाम स्वरुप जन्मँदै गएको हो ।

अमेरिकामा अनिबार्य सार्वजनिक शिक्षाको व्यवस्था १९२० देखि शुरु भएको मानिन्छ । अमेरिकाका राज्यहरुका संविधानहरुमा पनि सार्वजनिक शिक्षालाई जोेड दिईएको थियो । तर पछि चार्टर स्कुल र भौचर पद्धति नवउदारवादी खुल्ला बजारका उपजको रुपमा आए । अमेरिकाको सार्वजनिक स्कुलको घट्दो अबस्थालाई हेर्दै एप्पल कम्पनीका सिईओ स्टिभ जब्सले सन् १९९५ मा दिएको एउटा अन्तरबार्तामै अमेरिकाको सार्वजनिक विद्यालय टुटेका र मर्दे गएको उल्लेख गर्दै अमेरिकाको लागि पूर्ण रुपमा ‘भौचर पद्धति’मा जानु नै समाधान हो भनेका थिए । अमेरिकामा सार्वजनिक शिक्षाका वजेट काटेर चार्टर स्कुललाई दिदैं गरे पनि आज दुईदशक नवित्दै चार्टर स्कुल अमेरिकाप्रति जवाफदेही र पारदर्शी नभएको भन्दै चर्को असन्तुष्टी देखा पर्दै गएको छ ।

विश्वव्यापी रुपमा शिक्षा ठूलो व्यापार भएको छ । एक प्रतिवेदन अनुसार अमेरिकामै १.१ खर्व डलरको शैक्षिक व्यापार हुन्छ । चार्टर स्कुल नाफाको ठूलै क्षेत्रको रुपमा विकास हुँदैछन् । तर अमेरिकन पोलिसी ईन्स्टिच्यूटका अनुसार अमेरिकन विद्यार्थीहरु ४० बर्षअघि भन्दा आजका दिनमा ज्यादा एकलकाँटे र व्यक्तिवादी भएका छन् । यिनै कारणले हुनसक्छ सन् २०१४ मा अमेरिकाकोे न्यूयोर्क स्कुल डिस्ट्रिक्टका विद्यालय निरिक्षकहरुले ‘पब्लिक एजुकेशन म्याटर्स’ विषयमा प्रस्तुत गरेको एउटा प्रतिवेदनको प्रस्तावनामै ‘सम्भव भएसम्म न्यूयोर्क सहरका प्रत्येक बालबालिकाले उत्कृष्ट सार्वजनिक स्कुलमा पढ्न पाउनुपर्छ ।’ भन्ने लेखेका थिए । अमेरिकन एशोसियसन अफ स्कुल एडमिनिष्टे«टर्सले ‘सार्वजनिक शिक्षाको पक्षमा उभियौं’ भन्ने अभियान शुरु गरेको छ ।

सिद्धान्ततः सार्वजनिक शिक्षा सामुदायिक सहभागिता, सामुदायिक जवाफदेहीता र सामुदायिक लक्ष्य अनुसार चल्ने भएकाले कतिपय अमेरिकनहरुमा सार्वजनिक स्कुललाई शीतयुद्ध कालिन शोभियत संघप्रतिको पूर्वाग्रही मनोविज्ञानले प्रभाव पारेको देखिन्छ । र त्यसलाई संसारभर समाजवादी अथवा वामपन्थी शिक्षा पद्धतिको रुपमा पनि बुझ्ने गरिएको छ । यसले पनि सार्वजनिक शिक्षालाई चुनौती थपेको छ । तर सार्वजनिक शिक्षाको कुनै सिद्धान्त, वादभन्दा सबै विचारधारा बोक्नेहरुका लागि निकै माथिल्लो राष्ट्रिय महत्वको विषय हो भन्ने तथ्य आजभन्दा सयौ बर्ष अघिका बौद्धिक पूर्खाहरुले जोड दिँदै आएका कुरा हुन ।

सार्वजनिक विद्यालयमाथि चौतर्फी आक्रमण हुँदा पनि विकसित देशमा ९० प्रतिशत माथि नै बच्चाहरु सार्वजनिक स्कुल जान्छन् । नेपालजस्ता विकाशोन्मुख देशमा निजी विद्यालयहरुको दवदवा चर्को भए पनि ८० प्रतिशत ज्यादा बच्चाहरु अझै सार्वजनिक स्कुलमा छन् । तर प्रवृत्ति हेर्दा चाहे विकसित होस अथवा विकाशोन्मुख बजारको स्वनिर्णयमा छोडिएका निजी स्कुलहरु र तिनका प्रभाव बढ्दै छन् । नेपालमै यतिवेला सीमित निजी विद्यालयका सञ्चालकहरु यति शक्तिशाली भएका छन् कि तिनीहरुले एकातिर आफूलाई अन्तर्राष्ट्रिय व्यापारीमा रुपान्तरण गर्दैछन् अर्कातिर संविधान बनाउने निकायमा आफ्नो लगानीको पक्षमा पौठे जोरी खेल्न पुगेका छन् ।

निजी शिक्षा भित्रका तत्कालिन र दीर्घकालिन दुष्प्रभावहरुको बारेमा वहस गर्ने जाँगर नेपालमा देखिँदैन । यसै सन्दर्भमा द पब्लीक स्कुल एड्भान्टेज ः ह्वाई पब्लिक स्कुल्स आउटपर्फम प्राईभेट स्कुल्स युनिभर्सिटी अफ ईलिनोइसका प्राध्यापक द्वय सारा क्रिष्टोफर र लिविन्स्की  भन्छन् ः ‘निजी  भन्दा सार्वजनिक विद्यालयनै बास्तबमै प्राज्ञिक रुपमा उच्च छन् ।’ यो भनाई पछाडिको उनको तर्क निजी विद्यालयमा सम्पन्न र सम्भ्रान्त पृष्ठभूमिका बच्चाहरु आउने भएकाले स्वतः सिकाइको स्तर माथिल्लो जस्तो लागेको हो तर विद्यालयको शिक्षणको कारणले हैन ।

निजी शिक्षाभन्दा सार्वजनिक शिक्षाको ज्यादा महत्व हुनुमा कतिपय विशिष्ट कारणहरु छन् जुन निजी विद्यालयसँग सिद्धान्तत हुनै सक्दैन । जस्तोे विश्वव्यापी निशुल्क शिक्षाको पहुँच पु¥याउन, सबै बच्चाका लागि समान अवसर सुनिश्चित गर्न, विविधता भएको जनसंख्यालाई एकीकृत गर्न, लोकतान्त्रिक समाजमा जनतालाई नागरिक चेत दिन, नागरिकहरुलाई निश्चित मूल्य सहित राष्ट्रियताको भावना विकास गर्न र हाम्रा सामाजिक अबस्थाहरु सुधार्न सार्वजनिक शिक्षाको विकल्प छैन ।

राज्यको प्रारम्भिक चरणमा विविधतायुक्त जनसंख्यालाई उत्पादक बनाउन, अपराध र गरिबी हटाउन सार्वजनिक शिक्षालाई अघि बढाईएको थियो । सार्वजनिक शिक्षाको यो भूमिका आज पनि उत्तिकै जरुरी छ । अझ नेपाल जस्तो सामाजिक सांस्कृतिक विविधता र वर्गीय खाडल गहिरो बन्दै गएको विकाशोन्मुख देशका लागि त झनै आवश्यक छ ।

यतिखेर शिक्षा बजारलाई छोडिएको छ र नाफामुखी बजारले निर्धारण गरे अनुसार शिक्षा पनि बजारी बस्तु भएको छ । बजारमुखी शिक्षाले उत्पादित जनशक्तिलाई अत्यन्त व्यक्तिवादी बनाउदै लगेको छ । युवाहरुमा थोरै मिहिनेत र सजिलै धेरै पैसा कमाउने ‘भ्यालू’ विकास भएको छ । यस्तो शिक्षाले व्यक्तिको पूर्णताको जीवन जिउन दिने छैन । आफू र आफ्ना परिवारको बाहेक अरुको कल्याण सोच्नै नसक्ने, जीवन दर्शन, कला, साहित्य, संस्कृति तथा सामाजिक दृष्टिकोणविनाको यान्त्रिक ज्ञानबाहेक अरु केही नहुने खोक्रो जनशक्ति उत्पादन हुँदै जाँदा आउँदो नेपाली समाजको चित्र डरलाग्दो देखापर्दछ ।

शिक्षण सिकाइका कोणबाट हेर्दा निजी विद्यालयमा आलोचनात्मक चेतको सट्टा घोकन्ते बनाईएको छ । ब्रेनको खास स्वभाव हुन्छ । सोच्न लगाउने हो भने व्रेन रचनात्मकतातिर जान्छ तर जर्वजस्ती घोकाउँदा व्रेन ककर्रकिन्छ र त्यसले आफनो रचनात्मक क्षमता नै गुमाउछ । प्रायः निजी विद्यालयमा हुने शिक्षण सिकाइको यो प्रवृत्तिले प्रतिभाहरु ध्वस्त गरेको छ । कला, साहित्य, ईतिहास दर्शन जस्ता समाज विज्ञानका विषयहरु पढाइ हुन छाडे । मूल्य, संवेदनशिलता, आत्मविश्वासको ठाउँमा दरिद्रता, ईगो र कुण्ठाले भरिपूर्ण छ । निजी शिक्षाले सीमित संभ्रान्तको सेवा गरेजस्तो देखिए पनि आम नागरिकका लागि काम लाग्न सकेको छैन । विदेशिने पैसा स्वदेशमै रोकेका छन् भनौ भने विद्यालय तह लगत्तै उच्च शिक्षाका नाममा विदेशिने हुललाई रोक्न सकेको छ्रैन ।

पैसा आउने उच्चमावि भन्दा माथिल्ला तह र समाज विज्ञानका विषयहरुमा नाफा कम भएकाले निजी शिक्षालयहरुको त्यहाँ रुचीनै छैन । निजी शिक्षालयहरुले स्थानीय विषयवस्तुलाई महत्व नै दिदैनन् बरु अन्तर्राष्ट्रिय भएको विज्ञापनको रहर गर्छन् । बजारी शिक्षाले शिक्षाको गुणस्तर मापन गर्ने अभिभावक नै हुन् भन्ने ठान्छ अनि सक्नेले पढाउने नसक्नेले नपढाउने हुँदा बर्गीय खाडल बन्छ । हाम्रो जस्तो देशमा त जात, क्षेत्र आदिको आधारमा पनि खाडल बढ्दैै जान्छ । 

राज्य, कर्मचारीतन्त्रका अधिकारीहरु, शिक्षक तथा अन्य सरोकारवालाहरुको कमजोर भूमिकाका कारण पनि सार्वजनिक शिक्षा कमजोर बन्दै गएको प्रष्ट हुन्छ । यसैसन्दर्भमा राजनीतिशास्त्री वेन्जामिन भन्छन् ः ‘आजका सार्वजनिक विद्यालयहरुले आम जनतालाई सेवा गर्ने हैन आम जनता श्रृजना गर्ने काम गरेका छन् ।’

हाम्रो नागरिकलाई कस्तो मूल्य मान्यतामा जीवन दृष्टिकोण दिने बारे हाम्रो सार्वजनिक शिक्षा अन्योलग्रस्त छ । सार्वजनिक विद्यालय खत्तम छन् भन्ने हल्ला फैलाईएकै छ । हाम्रो समाजले जन्मदै बच्चालाई डाक्टर ईन्जिनियर बनाउन खोज्छ । त्यो खोजाई समाजको लाभको भन्दा पनि व्यक्तिगत रुपमा आर्जन गर्ने उत्प्रेरणाबाट अघि वढेको छ । निजी शिक्षालयहरु उपभोक्तामुखी कर्पोरेट सञ्चालनमा रुपान्तरण भएका छन् । स्कुल र विश्वविद्यालय संभ्रान्त बर्गका भएका छन् । ज्ञान र प्राज्ञहरुको निजीकरण गरिएको छ । सार्वजनिक बौद्धिकहरुको खडेरी परेको छ ।

आजका दिनमा सार्वजनिक शिक्षा कमजोर जस्तो देखिए पनि सार्वजनिक शिक्षाको विकल्प निजी शिक्षा हुनै सक्दैन । हामीले सार्वजनिक शिक्षाको मुल्य महशुश गर्नु जरुरी छ । लोकतन्त्र र समानताको सन्दर्भले पनि सार्वजनिक शिक्षाको पक्षमा अभियान छेड्नु पर्ने जरुरी छ । निजी र सार्वजनिक शिक्षा फरक पद्धति, संरचना, स्वार्थ बोकेका फरक प्रवृत्ति हुन । बजारले पैसा हुने वर्गको मात्र हित गर्दछ तर राष्ट्रिय स्वार्थलाई हेर्दैन ।

सार्वजनिक शिक्षा राज्यको दर्शनसँग ज्यादा सम्बन्धित छ । राज्यले नागरिकलाई कस्तो जीवनदर्शन, जीवनशैलि, सोच्ने र व्याख्या गर्ने शैलीे दिने भन्ने गुह्य कुरा लुकेको हुन्छ । समाज बदल्न पढ्ने पढाउने संस्कार सार्वजनिक शिक्षाबाहेक अरु पद्धतिले दिनै सक्दैन । सार्वजनिक चौतारो, सार्वजनिक सौचालय, सार्वजनिक पुस्तकालय, सार्वजनिक यातायात, सार्वजनिक शिक्षाको महत्व आम नागरिकका लागि हुन्छ ।

राष्ट्रिय योजना आयोगको तथ्याङ्क अनुसार नेपालमा ६९ प्रतिशत जनता निम्नवर्गका छन । १५–१६ प्रतिशत मध्यम बर्गका र करीव ५ प्रतिशतमात्रै उच्च वर्गका छन् । नेपालको हालको वर्गीय संरचनालाई हेर्दा यहाँ सार्वजनिक शिक्षाको महत्व त्यसै पनि सान्दर्भिक हुन आउँछ । उता यसैबर्षको फोब्र्स पत्रिकाले निकालेको ताजा तथ्याङ्क अनुसार विश्वका ७५ जना घनाढ्यसँग विश्वका आधा देशसँग रहेको सम्पत्ति बराबरको सम्पत्ति छ । नेपाल र विश्वकै अर्थतन्त्रको वितरणको यो स्थिति हेर्दा नेपालमात्र नभएर विश्वमै सार्वजनिक शिक्षाको औचित्य स्वतः प्रष्टिन्छ । 

यसर्थ आजका दिनमा प्रभावकारी सार्वजनिक शिक्षाको आवश्यकता परेको छ । राज्यसँग दृढ ईच्छाशक्ति विकास गर्न सके विश्व वजारीकरणलाई नेपालले राष्ट्रिय आवश्यकता अनुसार उपयोग गर्न सक्छ ।  क्युवाले सोभियत युनियनको विघटन र अमेरिकाको आर्थिक नाकाबन्दीको बाबजुद सबैलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रयासरत छ । आफ्नो कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत शिक्षामा खर्च गर्छ । विश्वको उत्कृष्ट शिक्षक तालिम छ र आफ्ना सबै नागरिकलाई साक्षर बनाईसक्यो । अनि विद्यालय उमेरका बच्चाहरुलाई सत प्रतिशत स्कुलको पहुँच दिएको छ ।

निजी स्कुल नभएको फिनल्याण्ड उत्कृष्ट शिक्षाका लागि विश्व प्रशिद्ध छ । तसर्थ नेपालले सबैभन्दा पहिला हालका निजी विद्यालयको रुपान्तरण र व्यवस्थापनको राष्ट्रिय सहमति सहितको एकीकृत खाका बनाउनुपर्छ । अनि एउटा दीर्घकालिन बृहत्तर राष्ट्रिय स्वार्थबाट शिक्षालाई आमजनताको गुणस्तरीय शिक्षाप्रति पहुँच, सहभागिता र समता कायम गर्न सार्वजनिक शिक्षाको पक्षमा उभिनु जरुरी छ ।

[email protected]

प्रकाशित मिति : २०७२ कात्तिक २२ गते

प्रतिक्रिया