Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

विद्यार्थी खोज्दै घरघरमा

आइतबार, १५ बैशाख २०७६

काठमाडौं १५ बैशाख / बालबालिका खोज्दै कालिकोटको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधि गाउँ पसेका छन्। विद्यालय पहुँचबाहिर रहेका बालबालिकालाई भर्ना गराउन उनीहरू घरदैलो अभियानमा जुटेका हुन्।

बालबालिकालाई विद्यालयमा ल्याउन अभिभावकसँग छलफल गर्न घरदैलो कार्यक्रम सुरु गरिएको १ नम्बरका वडाध्यक्ष पृथी विष्टले बताए। भर्ना भएका अधिकांश बालबालिका आर्थिक अभावका कारण बीचमै विद्यालय छाड्न लागेपछि आर्थिक सहायतासहित गाउँ पसेको उनले बताए।

विष्टका अनुसार वडा नम्बर १ र २ मा विद्यालय छाडेका बालबालिका लक्षित भर्ना अभियान सञ्चालन गरिएको छ। नन्दादेवी माध्यमिक विद्यालय कोटवाडाको सेवा क्षेत्रभित्र रहेको अमनेपानीका पाँच बालबालिकालाई भर्ना गरी घरदैलो कार्यक्रम सुरु गरिएको छ। गाउँपालिकाले विद्यार्थी टिकाउन दिवा खाजा र छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ ।
विपन्न परिवारका बालबालिकाले बीचैमा कक्षा छाड्ने गरेकाले उनीहरूका अभिभावकलाई शिक्षाको महत्त्व बुझाउनुका साथै बालबालिकालाई नियमित विद्यालयमा पठाउन आग्रह गर्न थालिएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए। दिवा खाजा, पोसाक र शैक्षिक सामग्री व्यवस्था गरी भर्ना अभियानमा संलग्न भएको उनको भनाइ छ।

वैशाख १ देखि २० गतेसम्म बालबालिकालाई मुस्कानसहित भर्ना, पाठ्यपुस्तकसहित विद्यालयमा स्वागत गरी निःशुल्क तथा अनिवार्य शिक्षा प्रदान गर्ने कार्यक्रम छ। यसका लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऔं’ भन्ने नाराका साथ देशव्यापी अभियान जारी छ।

अन्नपूर्ण पोष्टमा बिस्‍नप्रसाद न्यौपानेले लेखेका छन् । 

प्रतिक्रिया