Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

शिक्षक सेवा आयोगको काममा लापरवाही, गल्ती दोहोर्याउँदै

शुक्रबार, १३ बैशाख २०७६

भक्तपुर - शिक्षक सेवा आयोगले स्थायी शिक्षकका लागि लिएको लिखित परीक्षाको  नतिजा बिहीबार साँझ अबेर सार्वजनिक गर्यो । नतिजा सार्वजनिक हुना साथ सामाजिक सञ्जालमा आयोग प्रति आलोचनाको बाढी नै आयो ! व्यापक कटाक्ष गरियो ! कारण थियो उक्त नतिजामा पास भएका उम्मेद्वारहरुलाई तोकिएको अन्तर्वार्ताको मिति ! 

आयोगद्वारा सार्वजनिक भएको नतिजाको सूचनामा अन्तर्वार्ताको मिति २०७५ बैशाख २५ गतेका लागि तोकिएको उल्लेख गरिएको थियो । जबकी नतिजा नै २०७६ सालको बैशाख १२ गते सार्वजनिक भएको थियो । ६ लेख्न पर्ने ठाउँमा ५ लेखिएको कुरा बुझ्न कठिन थिएन । देख्दा सामान्य लाग्ने उक्त कार्यले सामाजिक सञ्जाल भने खुबै ततायो । 

यो घटना परीक्षा जस्तो अन्यन्त सम्बेदनशील स्थानमा कार्य गर्ने कर्मचारी आफ्नो काम प्रति कत्तिको गम्भिर छन् भन्ने कुरा प्रष्ट्याउन काफि छ । यस्तै लापरवाही कुनै परीक्षार्थीले प्राप्त गरेको अँकमा भयो भने के हुन्छ ? सामाजिक सञ्जालको आलोचना यस तर्फ केन्द्रित थियो । जुन जायज कुरा हो । किन भने एक - एक अँकको महत्व हुने ठाउँमा यसरी लपरवाही गर्दा एक जनाको जीवनमै अपूरणीय क्षती पुग्न जान्छ । 

परीक्षा जस्तो संवेदनशील कार्यमा काम गर्ने कर्मचारीमा धैर्यता र काम प्रतिको लगाव नहुँदा यस्तो अवस्था आएको त्यहीँका कर्मचारी बताउँछन् । 

'हाम्रा हाकिम र साथीहरुलाई कति भत्ता आउँछ, कति बैठक बस्ने भन्ने कुराको मात्रै चासो छ, काममा केही त्रुटि हुन्छ की, मेरो गल्तिले कसैको जीवनमा, देशको शिक्षा क्षेत्रमा असर पुग्छ की भन्ने हेक्का के हुनु !' ती कर्मचारीले नाम नबताउने सर्तमा कटाक्ष गरे । 

आयोगका उच्च कर्मचारी यसलाई मानवीय त्रुटि भनेर पन्छिनेमा शंका छैन । सामाजिक सञ्जालमा ब्यापक कटाक्ष भए पछि आयोगमा राखिएको सूचनामा उक्त गल्ती सच्याईएको छ । उक्त गल्ति प्रति विना कुनै सम्बोधन मिति सच्याईएकोले पनि आयोगले यसलाई गम्भिर रुपमा नलिएको बुझ्न कठिन छैन ।  

नतिजा सार्वजनिक गर्न दिउँसै देखि जुटेको आयोग पदाधिकारी सहित कर्मचारीको टोलीको बैठक अबेर साँझ सम्म जारी थियो । त्यतिका समय सम्म पनि कुनै व्यक्तिले उक्त त्रुटि नदेख्नु भनेको उनीहरुमा संवेदनशीलता नभएको रुपमा बुझ्नु पर्ने भन्दै सामाजिक सञ्जालको बहस केन्द्रित रह्यो । 

नहुनु थियो गल्ती भयो, गल्ती भए पछि माफि माग्ने वा गलत भएकोमा आत्मालोचना गर्ने त परै जाओस् मानौं यस अघि कुनै गल्ति भएकै थिएन जस्तो गरी आयोगले उक्त त्रुटि खुसुक्क सच्याएर आफ्नो वेभ साईटमा नयाँ सूचना पोष्ट गरेको छ । 

हेर्नुहोस् : सच्याईएको सूचना 

सामाजिक सञ्जालमा व्यापक आलोचना भए पछि सच्याईए पनि यो घटना परीक्षार्थी प्रति आयोग कति हद सम्म गैह्र जिम्मेवार छ भन्ने बुझाउन काफि छ । 

पढ्नुहोस् : शुरुमै सार्वजनिक गरिएको सूचना

नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले गरेको त्रुटि यो नै पहिलो हैन । यस अघि गत मंसिर १६ गते सार्वजनिक अस्थायी शिक्षकको नतिजामा पनि आयोगले यस्तै त्रुटि गरेको थियो । माध्यमिक तहको विज्ञान विषय अन्र्तगत विज्ञापन नम्बर ३०२ को पश्चिमाञ्चल क्षेत्रमा लिखित परीक्षमा सहभागी भन्दा अन्तर्वार्ताका लागि छनौट भएको संख्या धेरै राखेर आयोगले नतिजा सार्वजनिक गरेको थियो । 

उक्त नतिजामा लिखित परीक्षामा ३२ जना सहभागी भएको र अन्तर्वार्ताका लागि ३३ जना छनौट भएको सार्वजनिक गरिएको थियो । ५७ पदका लागि भएको उक्त विज्ञापनको नतिजामा लिखित परीक्षामा सहभागीको संख्या ३२ को ठाउँमा ५२ हुनु पर्ने रहेछ भन्दै आयोगले सच्याएको थियो । उक्त नतिजा सार्वजनिक भए पश्चात सामाजिक सञ्जालमा आयोगको कार्य प्रति शंका ब्यक्त गर्दै ब्यापक अलोचना गरिएको थियो । कतिपयले त उक्त कार्यलाई नतिजामा गरिएको लापरवाहीको संज्ञा दिदैं सामाजिक सञ्जाल मार्फत् नै आयोगका अध्यक्ष सहित पदाधिकारीले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने माग समेत गरेका थिए ।

यस्तै गत फागुन २४ गते आयोगले सार्वजनिक गरेको कार्यरत अस्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा थाह पाउने तरिका पनि आलोचना पछि सच्याईएको थियो । सम्बन्धित उम्मेद्वारको जन्म मिति, सिम्बोल नम्बर र क्षेत्र लेखे पछि मात्रै थाह पाउने गरी आयोगको वेभसाईट मार्फत् सार्वजनिक भएको अन्तर्वार्ताको विवरणका कारण नतिजा थाह पाउन असहज भएको भन्दै गुनासो बढे पछि आयोगले सच्याएको थियो । सम्बन्धित उम्मेद्वारको विवरण राखेपछि मात्रै नतिजा हेर्न सक्ने भए पछि  प्रविधिको पहुँचमा नभएका उम्मेद्वारका आफन्तले नतिजा थाह पाउन मुस्किल भएको गुनासो गरेका थिए ।

गत असोजमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले बिहीबार पहिलो दिन माध्यमिक तहको संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड, ज्योतिष, कम्प्युटर, जनसंख्या, शिक्षा, स्वाथ्य तथा शारिरीक शिक्षा, संस्कृत भाषा वेद भुगोल र कृषिको नतिजा प्रकाशन गरेको थियो । 

प्रतिक्रिया