Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन निर्देशन, प्रश्नपत्र सुरक्षामा विशेष सर्तकता

विहीबार, १२ बैशाख २०७६

काठमाडौं - कक्षा ११ र १२ को परीक्षा मर्यादित बनाउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिदैं परीक्षार्थीलाई असर पर्ने गतिविधि सञ्चालन नगर्न सार्वजनिक आह्वान गरेका छन् । भयमुक्त वातवारणमा परीक्षा सम्पन्न गर्नमा सक्रीय एवम् समन्वयकारी भूमिका निर्वाह गरि दिन उनले प्रदेश तथा स्थानीय सरकारलाई विशेष अनुरोध पनि गरेका छन् ।  

शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा गठित परीक्षा व्यवस्थापन सुधार सुझाव कार्यदलको सुझावका आधारमा मन्त्री पोखरेलद्वारा बोर्डलाई दिईएको निर्देशनमा प्रश्नपत्रको सुरक्षामा विशेष सर्तकता अपनाउन भनिएको छ । गत चैतमा भएको इसईई परीक्षाको प्रश्नपत्र आउट भएको घटनालाई स्मरण गर्दै परीक्षाका बेला हुन सक्ने अनियमित गतिविधिहरु रोकथामका उपाय अपनाउन मन्त्रीको निर्देशन छ । उक्त निर्देशनमा परीक्षा सञ्चालनका क्रममा प्रश्न पत्र बाहिरिएको तथा परीक्षामा खटिएका कर्मचारी र परीक्षार्थीबाट केही अमर्यादित कार्यहरु भएको सन्दर्भ स्मरण गराईएको छ । बैशाख १५ गतेबाट कक्षा १२ र २९ गतेबाट कक्षा ११ को परीक्षा शुरु हुँदै छ ।

'बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न र सिकारु मैत्री एवम् भयमुक्त वातावरणमा अध्ययन गरी आफ्नो क्षमता प्रदर्शनका निम्ति निर्धक्क साथ सबै खाले परीक्षामा सहभागी हुन पाउनुपर्छ' मन्त्रीद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, 'विद्यालय स्तरका तथा सार्वजनिक परीक्षाका समयमा परीक्षार्थीलाई कुनै पनि प्रकारको शारीरिक तथा मानसिक रुपमा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि सञ्चालन गरिनु हुन्न ।'

परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण एवम् सम्परीक्षण, नतिजा प्रकाशन लगायतका व्यवस्थापकीय तथा प्राज्ञिक कार्यहरुमा कुनै किसिमको गडबडी हुन गएमा विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गर्न नपाउने भन्दै मन्त्री पोखरेलले  परीक्षा व्यवस्थापनमा सहभागी केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी, सुरक्षाकर्मी लगायत सबै कर्मचारीहरुले निष्पक्ष, मर्यादित र व्यवस्थित रुपमा परीक्षा सञ्चालनमा संवेदनशिल भई आफ्नो जिम्मेवारी निर्वाह गर्न भनेका छन् ।  

उज्ज्वल भविष्य निर्माणमा अहोरात्र खटेर अध्ययन गरी आफ्नो ल्याकत् प्रदर्शन गर्न आतुर सम्पूर्ण परीक्षार्थीले परीक्षाको सर्वमान्य नियम पालना गरी कुनै डर, त्रास विना शान्त वातावरणमा परीक्षा दिन पाउनुपर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले परीक्षाको वातावरणलाई परीक्षार्थी मैत्री, मर्यादित, अनुशासित, व्यवस्थित बनाउनका निम्ति सम्पूर्ण अभिभावक, शिक्षक, शिक्षाप्रेमी, बुद्धिजीवि, नागरिक समाज, सुरक्षाकर्मी, सञ्चार जगत लगायत सम्बद्ध निकायहरु सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आव्हान गरेका छन् ।

'विद्यार्थीहरु राष्ट्रका अमूल्य गहना हुन् । हाम्रो परीक्षा प्रणालीका आन्तरिक तथा बाह्य कारणले कुनै पनि परीक्षार्थीले कुनै प्रकारको प्रतिकुलता महशुस गर्न वा भोग्न नपरोस् । परीक्षा प्रणालीमा सानो भन्दा सानो त्रुटी हुन गएमा पनि व्यक्ति, समाज र राष्ट्रलाई नै क्षति पुग्ने कुरामा मन्त्रालय गम्भीर रहेकोले परीक्षा सञ्चालनमा व्यापक सुधार गरी अघि बढ्न राष्ट्रिय परीक्षा बोर्डलाई अनुरोध गर्दछु' पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय सरोकारको विषय रहेको कक्षा ११ र १२ को परीक्षा सञ्चालनमा सकारात्मक भूमिका निर्वाह गरी सहयोग गरिदिनुहुन सम्बद्ध सबैमा हार्दिक अपील गर्दछु ।'

उक्त परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्ने, गराउने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डलाई मन्त्री पोखरेलद्वारा दिईएको निर्देशन :

- परीक्षा सञ्चालन हुँदाका अवस्थामा परीक्षा केन्द्रहरूमा बोर्डको तर्फबाट सकेसम्म बढी अन्लाइन् र स्थलगत अनुगमनको व्यवस्था गर्ने, गराउने । प्रश्नपत्र सिलबन्दी गरिएको प्याकेट भण्डारण स्थल पूर्ण सुरक्षित रहेको सुनिश्चित गर्ने ।

- परीक्षा सम्बन्धी महत्त्वपूर्ण सूचना लिन र चाहेको बखत मन्त्रालयलाई उपलब्ध गराउन राष्ट्रिय परीक्षा बोर्डमा सुरक्षाकर्मी सहित रहेको कन्ट्रोल रुम तुरुन्त स्थापना गर्ने । कन्ट्रोेल रुममा सबै परीक्षा केन्द्र तथा प्रश्नपत्र भण्डारण गरिएको सुरक्षा निकायबाट नियमित सूचना प्राप्त गर्ने समेत व्यवस्था मिलाउने ।

- सुरक्षा निकायमा रहेका परीक्षासम्बन्धी सामग्रीहरू कुनैपनि हालतमा निर्दिष्ट पदाधिकारी बाहेक अरू कुनै पनि व्यक्तिलाई नबुझाउनु भनी कडा निर्देशन दिने ।

- परीक्षा सञ्चालनमा कुनै अनियमितता वा अमर्यादित कार्य भएमा सम्बन्धित व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम आवश्यक कारवाहीको प्रव्रिmया यथाशीघ्र अघि बढाउने ।

- केन्द्राध्यक्षको नियुक्ति गर्दा निश्चित मापदण्डबाट नियुक्ति गर्ने, केन्द्राध्यक्ष अभिमुखीकरण गर्ने, विगतमा राम्रोसँग परीक्षा सञ्चालन एवम् व्यवस्थापन गर्न नसकेका र कालोसूचीमा परेका व्यक्तिलाई केन्द्राध्यक्षमा नियुक्ति नगर्ने ।

- सुरक्षा निकायबाट प्रश्नपत्र प्राप्त गर्दा अनिवार्य रुपमा केन्द्राध्यक्षले नै बुझ्ने व्यवस्था गर्ने, सुरक्षाको निगरानीमा मात्र प्रश्न बुझ्ने, केन्द्राध्यक्ष र सुरक्षा निकायका प्रमुखले प्रश्नपत्रको पोका लैजाँदा रूजु गर्ने, प्रश्नपत्र धेरै अगाडि लैजान नदिने, सीसीटीभीको निगरानीमा प्रश्नपत्रको थैला रूजु गर्ने र प्रश्न पत्र बुझ्दा पनि मुचुल्का गर्ने । साथै, प्रश्नपत्र खोल्दा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक गरी कम्तिमा ३ जनाको रोहबरमा मुचुल्का गरी खोल्ने व्यवस्था मिलाउने ।

- प्रश्न पत्र रूजु गर्दा प्रश्नपत्र भण्डारण गरेको कोठामा जाने सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीले मोवाइल फोनलाई कोठाभन्दा बाहिर नै सुरक्षाकर्मीको नियन्त्रणमा राखेर मात्र जानुपर्ने व्यवस्था मिलाउने ।

- परीक्षा केन्द्रमा खटिने सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी र सहयोगीलाई केन्द्राध्यक्षले अभिमुखीकरण गर्ने । सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारी सबैको मोबाइल फोनको स्वीच अफ गरी मोवाइलवालाको नाम लेखिएको खाममा राखी बन्द गर्ने र सबै मोवाइल केन्द्राध्यक्षले झोलामा राखी आफ्नो नियन्त्रणमा राख्ने र परीक्षा सकिएपछि मात्र फिर्ता दिने व्यवस्था गर्ने ।

- परीक्षालाई पूर्ण मर्यादित बनाउनका लागि परीक्षा केन्द्रमा परीक्षार्थीहरू प्रवेश गर्दा परीक्षामा निषेधित सामग्रीहरू लैजानबाट रोक्ने, साथै परीक्षार्थी परीक्षा हलमा प्रवेश गर्नुभन्दा पहिला सुरक्षाकर्मीको उपस्थितिमा प्रभावकारी रूपमा परीक्षार्थीको शरीरको खानतलासी गर्ने । तर यसो गर्दा परीक्षार्थीलाई शारीरिक तथा मानसिक दबाब सिर्जना नगर्ने ।

- परीक्षार्थीले परीक्षा केन्द्रमा मोबाइल फोन लगेको भेटेमा तत्काल जफत गरी सुरक्षाकर्मी मार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउने र जिल्ला प्रहरी कार्यालयले मोवाइलको प्रयोग सम्बन्धमा अनुसन्धान गर्ने र परीक्षा सम्पन्न भएपछि मात्र मोबाइल फोन सम्बन्धित परीक्षार्थीको अभिभावकलाई फिर्ता दिने ।

- निरीक्षकले परीक्षा मर्यादा विपरीतका कार्य रोक्न प्रयास नगरेको वा नसकेको अवस्थामा केन्द्राध्यक्षले उक्त निरीक्षकलाई हटाई अनियमित तथा अमर्यादित कार्य रोक्न सक्ने शिक्षकलाई मात्र निरीक्षकको रूपमा नियुक्ति गर्ने ।

- केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको रूपमा नियुक्त गरिएका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगाना समेतको विवरण बनाई परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न निर्देशन दिने ।

- सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी र सहयोगीलाई उनीहरूको काम, कर्तव्य र अधिकार समेत उल्लेख गरी नियुक्तिपत्र र फोटो सहितको परिचयपत्र दिन केन्द्राध्यक्षलाई निर्देशन दिने ।

- उत्तरपुस्तिकामा बारकोड र OMR (Optical Mark Reader) को प्रयोग गरी कुनैपनि विद्यार्थी कक्षा ११ मा भर्ना भएर रजिष्ट्रेशन फारम भर्दा पेस गरेको फोटो र गरिएको दस्तखतलाई स्क्यान गरी परीक्षा सञ्चालनका समयमा परीक्षार्थीलाई उपलब्ध गराउने प्रवेशपत्र र सम्बन्धित परीक्षा केन्द्रमा पठाउन परीक्षार्थीको हाजिरीमा उक्त फोटो र दस्तखतसमेत प्रिन्ट गरी पठाउने व्यवस्था गरी नक्कली परिक्षार्थीबाट परीक्षा दिन सक्ने सम्भावनाको अन्त्य गर्ने ।

- केन्द्राध्यक्षले परीक्षाको अवधिभर परीक्षा डायरीमा परीक्षामा भए गरेका कार्यहरूको विवरण खुल्ने गरी भरी सुरक्षितरूपमा राख्ने र बोर्डले मागेको बखत उपलब्ध गराउने । साथै परीक्षार्थी सम्बन्धी विवरण तयार गरी सूचना पाटीमा  डिस्प्ले गर्ने ।

- अनुगमनका लागि खटिएका आधिकारिक व्यक्ति बाहेक अन्यलाई परीक्षा केन्द्र प्रवेशमा रोक लगाउने । अनुगमनकर्ता खटाउँदा कार्ययोजना बनाई प्रत्येक केन्द्रमा कम्तिमा एक जना र बढिमा तिन जनासम्म अनुगमनकर्ता खटाउने ।

- परीक्षा हलभित्र कसैलाई पनि फोटो खिँच्न, अडियो÷भिडियो रेकर्ड गर्न निषेध गर्ने । त्यस्तो कार्य कसैबाट भएको पाइएमा कानुन बमोमिज तत्काल दण्डित गर्ने ।

- परीक्षा सम्पन्न भएपश्चात् फरक फरक विषयका उत्तरपुस्तिकाहरू, अलग अलग परीक्षण केन्द्रमा परीक्षण गराउने व्यवस्था गर्ने ।

- उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गर्दा कोडिङ तथा डिकोडिङ प्रणालीलाई अनिवार्य रूपमा अवलम्बन गर्ने ।

- उत्तरपुस्तिका परीक्षणमा उत्तरकुञ्जिकाको प्रयोग गर्ने, परीक्षक तथा सम्परीक्षकलाई अभिमुखिकरण गरी उत्तरपुस्तिका परीक्षणमा बस्तुनिष्ठता कायम गर्ने ।

- उत्तरपुस्तिका परीक्षण गर्न दिँदा परीक्षकले कुन विद्यालय वा क्याम्पसमा अध्यापन गर्ने हो सो सोधनी गरी फारम भराई उक्त विद्यालयको परीक्षार्थीको परीक्षा केन्द्र नपरेका परीक्षा केन्द्रको उत्तरपुस्तिका रहेका प्याकेटहरू मात्र परीक्षण गर्ने व्यवस्था मिलाउने ।

- उही वर्षको सम्बन्धित विषयको उत्तरपुस्तिका परीक्षण नगरेका कुनै पनि व्यक्तिलाई सम्परीक्षकमा    नियुक्ति नगर्ने ।

प्रतिक्रिया