Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

विद्यार्थी अभ्यासका गाडी थन्किए

आइतबार, २४ चैत्र २०७५

काठमाडौं २४ चैत /  अटोमोबाइल इन्जिनियरिङका विद्यार्थीलाई अभ्यास गर्नका लागि हस्तान्तरण गरिएका १४ वटा गाडी डेढ वर्षदेखि थन्किएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई लिखितरुपमा हस्तान्तरण गरिसकेका ती गाडी केन्द्रसँगैको जग्गामा त्यत्तिकै मिल्क्याइएका हुन् ।

केन्द्रका महानिर्देशक बाबुराम पौडेलले आफूहरुले हस्तान्तरण गरिसकेका गाडी सीटीईभीटीले नलगेपछि आफूहरुले केन्द्र परिसरबाट खाली चौरमा लगेर राखिदिएको बताउँदै भन्नुभयो, “घाम पानीले खिया लागिसकेको छ । यत्तिकै छाड्ने हो भने इन्जिन पनि कामै नलाग्ने भई विद्यार्थीले सिक्ने अवस्था नहुन पनि सक्छ ।” 

विगतमा साविकका जिल्ला शिक्षा कार्यालयले प्रयोग गरेका ती गाडी मर्मत गरी पुनः प्रयोग गर्न निकै खर्चिलो हुने भएपछि अटोमोबाइल इन्जिनियरिङ्का विद्यार्थीलाई अभ्यासका लागि प्रयोग हुनसक्ने भन्दै सीटीईभीटीलाई दिइएको थियो । सीटीईभीटीले सकारेका ती गाडीलाई अटोमोबाइल इन्जिनियरिङ् अध्ययन हुने शिक्षण संस्थामा गुडाएर लैजान सक्ने अवस्था नभएकाले ट्रकमा राखेर लैजानुपर्ने हुन्छ । ट्रकमा लैजाँदा महङ्गो पर्नसक्ने देखिएको छ ।

सीटीईभीटीका योजना महाशाखाका प्रमुख रमेश बखतीले आफूहरुले सकारेका ती पुराना गाडीलाई विभिन्न शिक्षण संस्थामा पठाइने बताउँदै त्यसका लागि आवश्यक कार्य भइरहेको बताउनुभयो । दुई वर्षअघि सिप्रदी नामक संस्थाले पुराना इन्जिनलगायतका केही पार्टस्पुर्जा नेपालगन्जको भेरी प्राविधिक शिक्षालयलाई हस्तान्तरण गरेको थियो र त्यसबखत शिक्षालयले आफ्नो गाडीमा राखेर नेपालगन्ज लिएर गएको थियो ।
भेरी प्राविधिक शिक्षालयले टीएसएलसी इन अटोमोबाइल इन्जिनियरिङ कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ र त्यसका लागि आवश्यक पर्ने गाडी विभिन्न संस्थासँग मागेर काम चलाउने गरिएको छ । शिक्षालयका प्रमुख अच्युतराज दाहालले भन्नुभयो, “पुराना भइसकेका गाडी विद्यार्थीका लागि उपलब्ध गराइदिन विभिन्न संस्थासँग माग्ने गरेका छौँ । कतिपयले नमागेर पनि आफैँ पठाइदिने गरेका छन् ।”

शिक्षालयले प्राविधिक एसएलसीतर्फ विभिन्न आठ विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । भर्ना हुन चाहने सबैभन्दा बढी अटोमोबाइल इन्जिनियरिङमै हुने गरेको छ । शिक्षालयका प्रमुख दाहालले सो विषय अध्ययनका लागि तोकिएको २६ सिटमा २५० भन्दा बढीले आवेदन दिने गरेको बताउँदै रोजगारीका दृष्टिकोणले विद्यार्थीको सबैभन्दा बढी रोजाइको विषय नै अटोमोबाइल इन्जिनियरिङ रहेको बताउनुभयो ।
शिक्षालयले यस वर्षबाट विद्याथीले उद्योगमा नै गएर सिक्ने गरी टीएसएलसी इन मेकानिकल इन्जिनियरिङ विषयको पठनपाठन सुरु गरेको छ । २४ महिने कोर्समा २० महिना उद्योगमा र चार महिना शिक्षालयमा सिक्नुपर्ने हुन्छ ।

उहाँले यस कार्यक्रमका लागि बाँकेका १० वटा उद्योगसँग सहमति गरिएको र उद्योगीहरुले नै सम्बन्धित विद्यार्थीको अन्तर्वार्ता लिएर उनीहरुलाई आफ्ना उद्योगमा लैजाने गरेको बताउँदै भन्नुभयो, “अध्ययन गर्दादेखि नै रोजगारी बन्न र आय आर्जनमा केन्द्रित बन्न सकून् भनेर औद्योगिक प्रशिक्षकको मातहतमा काम गर्ने गरी यो विषयको थालनी गरेका हौँ ।” उद्योगले अन्यलाई दिएको पारिश्रमिकको न्यूनतम २५ प्रतिशतसम्म ती विद्यार्थीलाई पारिश्रमिक उपलब्ध गराउने गरेका छन् । 

शिक्षालयले हालसम्म छोटो अवधिको तालिम र डिप्लोमा तथा टीएसएलसीका गरी सात हजारभन्दा बढी जनशक्ति उत्पादन गरिसकेको छ र टीएसएलसी पूरा गरेकामध्ये ७७ प्रतिशत रोजगार, १३ प्रतिशत माथिल्लो शिक्षामा अध्ययनरत एवं १० प्रतिशत काम नखोजेकाले बेरोजगार रहेको जनाइएको छ । शिक्षालयका उपप्रमुख पारश खड्काले डिप्लोमाको उत्तीर्ण दर ९० प्रतिशत र टीएसएलसीको उत्तीर्ण दर ९९ प्रतिशत रहेको बताउनुभयो । सीटीईभीटीका योजना महाशाखा प्रमुख बखतीले प्रयोगात्मक बढी भएकाले इन्जिनियरिङको उत्तीर्ण दर बढी रहेको बताउनुभयो ।

गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन् । 

प्रतिक्रिया