Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

कक्षा १ का बालबालिकालाई निःशुल्क पोशाक

शुक्रबार, २२ चैत्र २०७५

काठमाडौं २२ चैत / बर्दियाको बाँसगढी नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा १ मा भर्ना हुने सबै बालबालिकालाई निःशुल्कमा पोशाक उपलब्ध गराउने भएको छ । 

सरकारले आगामी वैशाख १ गतेबाट विद्यालय भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान सञ्चालनको जिम्मा स्थानीय तहलाई प्रदान गरिएको छ भने आफ्ना क्षेत्रका बालबालिकालाई विद्यालयमा ल्याउन स्थानीय तहहरूले विभिन्न आकर्षणको घोषणा गर्न थालेका छन् ।

बाँसगढी नगरपालिकाका प्रमुख शालिग्राम अधिकारीले कम्तीमा दुई हजार बालबालिका कक्षा १ मा भर्ना हुने लक्ष्य लिइएको जानकारी दिनुभयो । यसरी भर्ना भएका सबै बालबालिकालाई कमिज, पाइन्ट, मोजा र जुत्ता उपलब्ध गराइने बताउँदै उहाँले भन्नुभयो, “आधारभूत तहसम्म विद्यार्थीले कुनै पनि शीर्षकमा सामुदायिक विद्यालयलाई शुल्क तिर्नुपर्दैन ।”

सो नगरपालिकाले २५, ५०, ७५ र एक सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना गर्नसक्ने विद्यालयलाई चार वर्गमा वर्गीकरण गरेर उनीहरूलाई सोही आधारमा थप प्रोत्साहन अनुदान दिने घोषणा गरेको छ । “बढीभन्दा बढी विद्यार्थीलाई भर्ना गरुन् भनेर पुरस्कारका रूपमा थप अनुदान दिने घोषणा गरेका छौँ” नगरप्रमुख अधिकारीले भन्नुभयो, “थप अनुदान राशी तय हुन बाँकी छ, त्यो आकर्षक हुनेछ ।” 

विशेष प्रकृतिका विद्यार्थीलाई यस वर्ष चारवटा ह्विल चियर वितरण गरिएको र भर्ना हुन आउने सबै त्यस्ता विद्यार्थीलाई सहज सामग्री वितरण गरिने भएको छ । सो नगरपालिका क्षेत्रमा ४० वटा सामुदायिक विद्यालय छन् । 

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक चुडामणि पौडेलले आगामी शैक्षिकसत्रका लागि भर्ना अभियानका क्रममा आफ्नो साधन स्रोतको क्षमताका आधारमा स्थानीय तहले विभिन्न आकर्षणका कार्यक्रम ल्याउन सक्ने उहाँले बताउनुभयो । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउने जिम्मेवारी अब स्थानीय तहकै भएको उहाँले प्रष्ट पार्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी भर्ना अभियानका लागि ‘हाम्रो नगर हाम्रो गाँउ, सबै बालबालिकालाई विद्यालय पु¥याउँ’ नारा तय गरेको छ । चालु वर्षमा ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्वः पहुँचको सुनिश्चित्ता र सिकाइमा स्थायित्व’ नारा थियो । 

गत वैशाखमा विद्यालयभन्दा टाढा रहेकाहरुको अभिभावकत्व ग्रहण गर्नेगरी विशेष भर्ना अभियान थालिएको थियो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले गत वैशाखमा विशेष भर्ना अभियान थालिए पनि आगामी वैशाखमा विशेष अभियान तय नभएको उहाँले बताउनुभयो । “भर्ना अभियानका पहिलो दिनको कार्यक्रम पनि तय भइसकेको छैन । अब यसलाई निरन्तरका रुपमा लिनुपर्दछ” उहाँले भन्नुभयो । गत वैशाखमा प्रधानमन्त्रीबाट अभिभावकत्व ग्रहण गर्दै मुगुको राराबाट भर्ना अभियान थालिएको थियो । 

पाँचथर, धनकुटा, ओखलढुङ्गा, इलाम, मनाङ, मुस्ताङ र स्याङ्जाले प्राथमिक उमेर समूहका कुनै पनि बालबालिका विद्यालयभन्दा बाहिर नभएको घोषणा गरिसकेका छन् । 

आगामी वैशाखमा रौतहट, महोत्तरी, बारा, पर्सा, सिरहा, धनुषा, सर्लाही, रोल्पा, बाँके, जाजरकोट, हुम्ला, डोल्पा, अछाम, डोटी र बझाङ् तथा देशका १३६ पालिकामा भर्ना दर कम छ । ती स्थानमा भर्ना दर बढाउन सघन कार्यक्रमका लागि तीन करोड रुपियाँ विनियोजन गरिएको छ । हाल कक्षा १–५ मा खुद भर्ना दर ९७.२, कक्षा १–८ मा सो दर ९२.३ र कक्षा ९–१२ मा सो दर ४३.९ रहेको छ ।

केन्द्रका निर्देशक गेहनाथ गौतमले भर्ना अभियानको पहिलो दिन कुन रुपमा मनाउने भनेर अझै गृहकार्य नभएको जानकारी दिँदै भन्नुभयो, “भर्ना अभियानलाई सफल पार्न गैरआवासीय नेपाली सङ्घले पनि सहकार्य गर्ने भएको छ ।” 

उहाँले देशका १२६ पालिकामा विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको बताउँदै आगामी भर्ना अभियानमा स्थानीय तहको सक्रिय भूमिकाका कारण विद्यालय बाहिर कुनै पनि बालबालिका नरहने विश्वास केन्द्रीय सरकारले लिएको बताउनुभयो ।

गोरखापत्रमा प्रकृति अधिकारीले लेखेका छन् । 

प्रतिक्रिया