Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

नक्कली प्रमाणपत्रको बिगबिगी : प्रहरीमा धेरै, शिक्षा, स्थानीय तह र संस्थानमा पनि उस्तै

विहीबार, २१ चैत्र २०७५

काठमाडौं २१ चैत / नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी बढेको छ। पछिल्लो समय प्रहरीमा धेरै नक्कली प्रमाणपत्र भेटिएको छ। शिक्षा, स्थानीय तह, संस्थानमा पनि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाने प्रवृत्ति देखिएको छ।

सेवा प्रवेशदेखि बढुवा हुन छिमेकी भारतको विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र पेस गर्दै आएको भेटिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरी हेर्दा पनि नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी बढेको पुष्टि हुन्छ।

अख्तियारका सहप्रवक्ता मदन कोइरालाले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर सरकारी लाभ लिएका उजुरी बढेको बताए। ‘कुल मुद्दा दायर भएकामध्ये सबैभन्दा धेरै नक्कली शैक्षिक प्रमाणपत्रकै छन्। उजुरी पनि यस्तै छ,’ उनले भने। नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ८ सय ४५ उजुरी परेका छन्। जसमा ३ सय २९ को मात्रै फस्र्याेट भएको छ। १ हजार ५ सय १६ को अनुसन्धान भइरहेको छ।

सहप्रवक्ता कोइरालाका अनुसार चालु वर्ष २ सय २० वटा विशेष अदालतमा मुद्दा परेकामध्ये ६४ वटा झुटा शैक्षिक प्रमाणपत्रका छन्। अघिल्लो वर्ष पनि झुटा शैक्षिक प्रमाणपत्रका मुद्दा सबैभन्दा धेरै थिए। गत वर्ष १ सय ९४ वटा मुद्दा दायर गरेकामा ६४ वटा नक्कली शैक्षिक योग्यतासम्बन्धी थिए।

त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका सहप्रशासक शारदाकुमारी पौडेल भारतको संस्कृति विश्वविद्यालय वाराणसीको नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर बढुवा भएकी छन्। कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरकी तत्कालीन उपप्रशासकबाट बढुवा हुन नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको छ। उनले संस्कृत विश्वविद्यालय वाराणसी, भारतबाट प्राप्त उत्तरमध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा प्रवेश तथा बढुवा लिई लाभ लिएकी थिइन्।

जनकपुर अञ्चल अस्पताल, धनुषामा कार्यरत आयुर्वेद अधिकृत (आठौं तह) मिथिलेशकुमार यादवले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएका छन्।

यादवले बिहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट प्राप्त इन्टरमिडियट(आइएससी)तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा बहाल रही लाभसमेत लिएको भन्दै अख्तियारले मुद्दा हालेको छ।

पछिल्लो समय प्रहरी सेवामा नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा धेरै उजुरी पर्न थालेको अख्तियारले जनाएको छ। सेवा प्रवेशदेखि बढुवा हुँदा उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरे लाभ लिने गरेका छन्। जवानदेखि अधिकृतसम्मकै उजुरी आउने क्रम बढेको अख्तियारले जनाएको छ। अनुसन्धान अधिकृतको समेत नक्कली शैक्षिक प्रमाणपत्र भेटिएको छ।

नेपाल प्रहरीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सुरेशकुमार गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ। सइ गुरुङले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, उत्तरप्रदेश, भारतबाट प्राप्त इन्टरमिडिएट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा प्रवेश तथा बढुवा लिई लाभसमेत लिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ। प्रहरी निरीक्षक खेमराज कठायतले बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरेका छन्।

उनले इलाहावाद विश्वविद्यालय, इलाहावाद, भारतबाट प्राप्त स्नातक तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी नायब निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भई लाभ तथा सुविधासमेत लिएका थिए। राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत विमल खड्काले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको पाइएको छ। उनले बिहार स्कुल एक्जामिनेसन बोर्ड पटना भारतबाट प्राप्त आईएको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा बहाल रही लाभ लिएका थिए।

महानगरीय प्रहरी परिसर जावलाखेलमा कार्यरत प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र घिमिरेको शैक्षिक प्रमाणपत्र पनि नक्कली भएको पाइएको छ। सइ घिमिरेले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा प्रवेश गरी नियुक्ति लिई लाभपछि अख्तियारले मुद्दा दायर गरेको छ। तत्कालीन अञ्चल प्रहरी कार्यालय कोसी, धरान दरबन्दी भई पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत तत्कालीन प्रहरी नायब निरीक्षक सूर्यबहादुर नेपालीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। सइ सूर्यबहादुर नेपाली भन्ने सूर्यबहादुर दर्जीले प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुने प्रयोजनका लागि बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट प्राप्त मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवासमेत भई सरकारी सुविधा लिएको पुष्टि हुन आएको छ।

जिल्ला समन्वय समितिको कार्यालय, कैलाली, धनगढीका नायब सुब्बा जगदीशबहादुर शाहको इन्टरको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। नक्कली प्रमाणपत्रको आधारमा नोकरी खाइरहेको साथै बढुवासमेत हुन लागेको उनीविरुद्ध उजुरी लागेको छ।

नायब सुब्बा शाहले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, इलाहावाद, उत्तरप्रदेश भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नायब सुब्बा र अधिकृत छैटौं पदमा बढुवासमेत भई लाभ तथा सुविधासमेत लिएको पुष्टि भएको अख्तियारको विशेष अदालतमा पेस गरेको मुद्दामा उल्लेख छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षकको जागिर खाएको बग्रेल्ती पाइएको छ। महेन्द्र मन्दिर माध्यमिक विद्यालय परेवाडाँडा, लमजुङका शिक्षक लोकनाथ तिवारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको छ। शिक्षक तिवारीले बिहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट जारी भएको इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई जागिर खाएका थिए। उनले प्रमाणपत्र तहको सोही प्रमाणपत्रको आधारमा नेपालबाट बीएडसमेत पास गरी उक्त नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी अस्थायी शिक्षकको नियुक्ति लिएका थिए। सो विद्यालय र सूर्योदय आधारभूत विद्यालयमा कार्यरत रही लाभ तथा सुविधासमेत लिएको पुष्टि हुन आएपछि अख्तियारमा मुद्दा दायर गरिएको छ।

सुरेन्द्र काफ्ले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका वरिष्ठ अधिकृत सातौं तहका मित्रलाल पौडेलको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र भेटिएको छ। वरिष्ठ अधिकृत पौडेलले बिहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी वरिष्ठ अधिकृत सातौं तह पदमा बढुवा नियुक्ति लिई सुविधा लिएको पुष्टि भएको छ। अख्तियार आयुक्त डा. गणेशराज जोशीले शिक्षा क्षेत्र नक्कली शैक्षिक प्रमाणपत्रको उजुरी धेरै आएको बताए।

अन्नपूर्ण पोष्टमा सुरेन्द्र काफ्लेले लेखेका छन् । 

प्रतिक्रिया