Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्रीद्वारा तीन विद्यालयको अभियन्ता बन्ने घोषणा !

सोमबार, १८ चैत्र २०७५

काठमाडौं - देशकै शिक्षा क्षेत्रको तालुकदार निकायको नेतृत्वमा रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले २ जिल्लाका तीन सामुदायिक विद्यालयको रुपान्तरणका लागि स्वयंसेवी अभियन्ता बन्ने घोषणा गरेका छन् । उनले आफ्नो जन्म जिल्ला खोटाङ्का २ र निर्वाचन क्षेत्र महोत्तरीको एक विद्यालयको रुपान्तरणमा संलग्न हुने फाराम भरेर बुझाएका छन् ।

मन्त्री पोखरेलले खोटाङ्को शारदा मावि खार्पा, चम्पावती मावि वुइपा र महोत्तरीको मटिहानी स्थित राजकीय संस्कृत मावि छनौट गरेको उनको सचिवालयले सार्वजनिक गरेको छ ।

गत भदौ २२ गते मन्त्री पोखरेलद्वारा सार्वजनिक सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको २२ बुँदे नीति तथा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले 'हामी सुधार्छौं हाम्रो सामुदायिक विद्यालय' भन्ने नारा तय गरेको थियो । सोही नारालाई आत्मसात गर्दै 'सार्वजनिक विद्यालयको रुपान्तरणको लागि कुनै खास भूगोल वा विद्यालयका लागि स्वयंसेवी सामाजिक अभियन्ताको रुपमा काम गर्न ईच्छुक व्यक्ति वा संस्थालाई विवरण उपलब्ध गराउन' शिक्षा तथा मानव श्रोत विकास केन्द्रले गत १४ गते आह्वान गरेको थियो । 

उक्त आह्वान सँगै स्वयंसेवी सामाजिक अभियन्ताको सूची तयार गर्ने फारम पनि सार्वजनिक गरिएको थियो । उक्त फारममा शैक्षिक अभियन्ता भई आफूले गर्न चाहेको काम बुँदागत रुपमा उल्लेख गर्न भनिए पनि मन्त्री पोखरेलले बुझाएको फारममा भने कुनै बुँदा उल्लेख गरिएको छैन ।

मन्त्री पोखरेलले सार्वजनिक कार्यक्रमहरुमा सामुदायिक विद्यालयको रुपान्तरणका लागि कार्य गर्ने बताउँदै आएका छन् । सोही अनुसार उनको अध्यक्षतामा गठित उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रतिवेदनमा विद्यालय शिक्षामा भएको निजी लगानीलाई नाफा रहित बनाउन क्रमशः गुठिमा रुपान्तरण गर्दै सार्वजनिक शिक्षा सुधारका लागि १० बर्षे अवधि निर्धारण गरेको थियो । देशको ब्यवस्था र संरचना बदलिएसँगै अपनाउनु पर्ने शिक्षा नीति तय गर्न गठित उक्त आयोगको प्रतिवेदन प्रधानमन्त्री केपी ओलाीलाई बुझाईएको साढे २ महिना वितिसक्दा पनि अझै सार्वजनिक भने गरिएको छैन ।

प्रतिक्रिया