Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

शिक्षा प्रणाली प्रति मन्त्रीकै आलोचना : चोरेरै पनि सफल हुन चाहने कस्तो शिक्षा !

आइतबार, १७ चैत्र २०७५

काठमाडौं  - प्रश्नपत्रको सुरक्षा समेत गर्न नसक्ने गरी एसईई परीक्षाको व्यवस्थापन र सञ्चालन गरेको भन्दै विरोध भईरहँदा शिक्षा मन्त्री स्वयंले भने शिक्षा प्रणाली प्रति नै आलोचना गरेका छन् । आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सफल हुनका लागि प्रश्नपत्र चोर्न समेत पछि नपर्ने व्यक्ति उत्पादन गर्ने शिक्षा प्रणालीलाई नयाँ ढंगले अघि बढाउन आवश्यक रहेको बताए । 

'प्रश्नपत्र चोरेरै भए पनि एउटा व्यक्ति सफल हुन चाहन्छ भने हामीले कस्तो शिक्षा दियौं ?' प्रश्न गर्दै उनले भने, 'केन्द्राध्यक्ष, निरीक्षक नै परीक्षा अगावै चिट चोराउन खोज्छ, विद्यालयहरु सेटिङ् मिलाएर यस्तो कर्म गर्छन्, अभिभावकहरु चिट चोराउन किन केन्द्र पुग्छन् ?' 

प्रश्नपत्र आउट भए पछि प्रहरीलाई खबर गर्न छाडेर  सार्वजनिक गरेको भन्दै उनले सञ्चारमाध्यमको पनि आलोचना गरे । 

परीक्षा अघि नै लगातार प्रश्नपत्र आउट भएपछि सरकारले प्रदेश नम्बर २ मा एसईई परीक्षा स्थगित गरेको छ ।  

योग, प्राकृतिक चिकित्सा, आर्युवेद तथा जडीबुटी सम्बन्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक पाठ्यक्रम निर्माण प्रकृयाका बारेमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटिईभिटिले सरोकारवालाहरुसँग गरेको कार्यक्रममा मन्त्री पोखरेलले मुल्य मान्यता विहीन शिक्षा दिईएकोले नयाँ ढंगले सोच्नु पर्ने धारणा व्यक्त गरेका हुन् । 

जसरी पनि सफल हुन चाहने भन्दा पनि मूल्य मान्यताका साथ अघि बढ्दा पनि सफलता प्राप्त हुन्छ भन्ने कोणबाट शिक्षा प्रणाली विकास गर्नु पर्ने खाँचो रहेको उनले बताए । 

जेठ १५ भित्र पठन पाठन प्रकृया अघि बढाउने गरी हरेक प्रदेशमा कम्तिमा एउटा विद्यालय छानेर सिटिईभिटि मार्फत् कार्यक्रम शुरु गर्ने तयारी गरिएको मन्त्री पोखरेलले जानकारी दिए । योग, प्राकृतिक चिकित्सा, आर्युवेद तथा जडीबुटीका क्षेत्रमा यस अघि सञ्चालित कार्यक्रम वा विषयलाई यो कार्यक्रममा जोडेर स्वयंसेवी रुपमा साझेदारी गर्न उनले कार्यक्रममा सहभागी संस्थाका प्रतिनिधि तथा व्यक्तिहरुलाई आग्रह समेत गरे । 

पाठ्यक्रम निर्माणको सरकारी प्रकृया लामो भएकोले आफूलाई 'पर्खने सहुलीयत नभएको' बताउँदै मन्त्री पोखरेलले विज्ञहरुको समिति मार्फत् छिटो लागू गर्ने गरी काम गर्ने तयारी गरेको पनि बताए । 

कार्यक्रममा सहभागी यस क्षेत्रका विज्ञ र प्रतिनिधिहरुले उक्त विषयको सम्भावना औल्याउँदै विगतमा तयार पाठ्यक्रमहरुलाई समेत ध्यान दिदैं कार्य गर्नु पर्ने सुझाव दिएका छन् ।  

 

प्रतिक्रिया