Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

एसईई स्थगितको खबर : परीक्षा संयन्त्रमै प्रश्न

शनिबार, १६ चैत्र २०७५

काठमाडौं १६ चैत / लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने सरकारीे निर्णयको खबर आज संघीय राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाको प्राथमिकताको खबर रहेको छ । बिहीबार प्रश्नपत्र बाहिरिएपछि स्थगीत गरि २२ गतेलाई परीक्षा तोकिएपनि फेरी शुक्रबार समेत प्रदेश २ मै प्रश्नपत्र बाहिररिए पछि स्थगित गर्ने निर्णय गरेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेका थिए ।

प्रदेश २ को एसईई स्थगित परीक्षा संयन्त्रमा प्रश्न शिर्षकमा कान्तिपुरमा सुदीप कैनीले लेखेको खबर अनुसार प्रदेश २ मा एसईई प्रश्नपत्र लगातार बाहिरिन थालेपछि परीक्षा संयन्त्रमा प्रश्नचिह्न खडा भएको छ । चौबीसै घण्टा सुरक्षा घेराभित्र रहने प्रश्नपत्र परीक्षाको १२ घण्टा पहिल्यै सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । यसै कारण बिहीबारको विज्ञान र शुक्रबारको सामाजिक विषयको परीक्षा नै रद्द गर्नुपर्‍यो ।
परीक्षा सकिएका उत्तरपुस्तिकाको सुरक्षाबारे समेत चिन्ता र चासो बढेको छ ।

अन्य विषयको पनि प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि शिक्षा मन्त्रालयले गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लामा सुरक्षा सतर्कता अपनाउन अपिल गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई छानबिनको जिम्मेवारी दिइएको छ । आइतबार र सोमबार हुने ऐच्छिक विषयका लागि सबै प्रदेशमा एकै प्रश्नपत्र छन् । कुनै एक प्रदेशमा प्रश्न बाहिरिए मुलुकभरका १ हजार ९ सय ६९ परीक्षा केन्द्रमै असर पर्ने निश्चित छ ।

परीक्षा नियन्त्रण कार्यालयको सुरक्षण मुद्रण प्रेसमा छपाएर सिलबन्दी गरी प्रहरी र केन्द्राध्यक्षको जिम्मा लगाइएको प्रश्नपत्र बाहिरिएको हो । प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा एक घण्टाअघि मात्रै प्रहरी कार्यालयबाट निकाल्न र आधा घण्टा पहिले मात्र सिलबन्दी खोल्न पाइने प्रावधान छ । त्यो पनि प्रहरी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूको निगरानीमा मात्रै ।

‘प्रश्नपत्र कसरी बाहिरिन पुग्यो, हामीले पनि अनुमान गर्न सकेका छैनौं,’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘सामान्य प्रलोभनमा परेर वा व्यक्तिगत स्वार्थ पूरा गर्नेभन्दा पनि ठूलै गम्भीर प्रकारको अपराधका रूपमा यसलाई लिएका छौं ।’ व्यक्तिगत प्रलोभनका लागि मात्रै यस्ता कार्य गरिएको भए गोप्य रूपमा हुने उनको दाबी छ ।

प्रदेश २ को शैक्षिक स्तर अन्य प्रदेशको तुलनामा सबभन्दा कमजोर छ । परीक्षामा चिट चोर्ने गतिविधि त्यहीँ बढी हुने आरोप लाग्ने गरेको छ । पहिलो दिन सप्तरी र दोस्रो दिन सर्लाहीबाट प्रश्नपत्र बाहिरिएको आकलन गरिएको छ ।

प्रतिक्रिया