काठमाडौं - लगातार प्रश्नपत्र आउट भए पछि सरकारले प्रदेश २ का बाँकी परीक्षा स्थगित गरेको छ । शुक्रबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गरी परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको जानकारी दिए । बाँकी परीक्षाको तालिका यही महिना भित्र सार्वजनिक गर्ने उनले बताए । अन्य सबै प्रदेशमा परीक्षा यथावत रहने र यस अघि प्रश्नपत्र आउट भएको विज्ञानको परीक्षा भने २२ गते यथावत रुपमै सञ्चालन गर्ने उनले बताए ।
प्रश्नपत्र आउट गर्नेलाई अपराधी भन्दै मन्त्री पोखरेलले उक्त कार्यमा संलग्न जो सुकै भएपनि कडा कानूनी कारवाही गर्ने प्रतिवद्धता जनाए ।
सुरक्षित वातावरणमा परीक्षा सञ्चालन गर्ने गरी २२ गते देखिनै परीक्षा गर्न सकिने पनि उनले बताए । जिम्मेवार एवं संयमित भई परीक्षाको तयारीमा संलग्न हुन उनले विद्यार्थी र अभिभावकलाई आग्रह गरेका छन् ।
आइतबार देखि शुरु भएको परीक्षामा यस अघि नै भएका अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र गणित विषयको परीक्षा भने फेरी दिनु पर्ने छैन । एक पछि अर्को गर्दै प्रश्नपत्र बाहिरिए पछि सबै प्रश्नपत्र बाहिरिएको शंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि परीक्षा बोर्डले सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।
बिहीबार विज्ञानको प्रश्नपत्र आउट भएकोमा शुक्रबार सामाजिकको आउट भएपछि एसईई परीक्षाका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा गठित केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले छानविनका लागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआईवीलाई खटाउने निर्णय समेत गरको थियो । सो अनुसार शिक्षा मन्त्रीले गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरी उक्त निर्देशन दिन आग्रह गरेका थिए । सिआईवीको टोलीले अनुसन्धान शुरु गरेको पनि मन्त्री पोखरेलले बताए ।
सबै जिल्लामा यस अघिनै पठाईएको प्रश्नपत्र रुजु गर्ने पनि बैठकको निर्णय थियो । उक्त निर्देशन अनुसार जिल्लामा पठाईसकिएका प्रश्न पत्रको रुजु गर्दा सुरक्षित भएको मुचुल् का र रिपोर्ट आए पछि सरकारले २ नम्बर प्रदेशको बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
मुलुकभर १ हजार ९ सय ६९ वटा परीक्षा केन्द्र छन् । प्रदेश २ मा दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् । लगातार प्रश्नपत्र आउट भएको विरोधमा विद्यार्थीले प्रदर्शन समेत गरेका थिए ।
शिक्षा मन्त्री पोखरेलद्वारा सार्वजनिक प्रेस नोट
पत्रकार मित्रहरु,
सर्वप्रथम त म राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को प्रश्नपत्र परिक्षा अगावै बाहिरिएर विज्ञान विषयको परीक्षा रद्द तथा सामाजिक अध्ययन विषयको परीक्षा स्थगनका कारण परीक्षाको तयारी गरेर बसेका परीक्षार्थीहरुलाई परेको मर्का, असुविधा र मनोवैज्ञानिक तनावप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अति गोप्य रुपमा निर्माण, छपाई र वितरण गरी परीक्षा केन्द्रसम्म पु¥याइने प्रश्नपत्र जस्तो अति सम्वेदनशिल तथा लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको विषयलाई बाहिर ल्याएर कानुनको उल्लंघन गर्ने कार्यको घोर भत्र्सना गर्दछु । यस घटनाबाट प्रभावित परीक्षार्थी, अभिभावक लगायत सम्पूर्ण सरोकारवालाहरुलाई पर्न गएको असरप्रति मन्त्रालय गम्भीर रहेको जानकारी गराउन चाहन्छु ।
परीक्षा रद्द तथा स्थगनबाट विद्यार्थीहरुलाई पर्न गएको असुविधाप्रति अभिभावक, विद्यार्थी लगायत सम्पूर्ण सरोकारवालाहरुले चासो व्यक्त व्यक्त गर्नु स्वभाविकै हो । सुरक्षित वातावरणमा विद्यार्थीले परीक्षा दिन पाउने अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ । तसर्थ, संयम भई रद्द तथा स्थगित गरिएका विषयहरुको परीक्षा तयारीमा जुटिराख्न सम्पूर्ण परीक्षार्थीहरुमा हार्दिक अनुरोध गर्दछु । यो अप्रिय घटनालाई आपराधिक घटनाको रुपमा लिँदै थप जिम्मेवार एवम् सम्वेदनशिल भई विद्यार्थीको परीक्षा तयारी तथा परीक्षा सञ्चालनमा सहजीकरण गर्न प्रदेश सरकार, स्थानीय तह, अभिभावक, विद्यार्थी संगठन, शिक्षाप्रेमी, शिक्षक समुदाय लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछु ।
२०७५ साल चैत्र १० गतेदेखि सञ्चालन भइरहेको यस बर्षको माध्यमिक शिक्षा परीक्षा अन्तर्गत चैत्र १४ गते प्रदेश नंबर २ अन्तर्गतका परीक्षा केन्द्रहरुमा सञ्चालन भएको अनिवार्य विज्ञान विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएकोले सो विषयको प्रदेश नंबर २ अन्तर्गतका परीक्षा केन्द्रमा सञ्चालित परीक्षा रद्द गरी यही चैत्र २२ गते सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डबाट निर्णय भएको सर्वविदितै छ । त्यसै गरी सोही प्रदेश अन्तर्गत चैत्र १५ मा सञ्चालन हुने अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएको पाइएकाले सो परीक्षा स्थगित गरिएको सूचना समेत प्रकाशित भैसकेको छ ।
पत्रकार मित्रहरु,
लाखौं विद्यार्थीको भविष्यसँग गाँसिएको सार्वजनिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिर ल्याउने आपराधिक घटनामा संलग्न जोसुकै भए पनि कानुनको दायरामा ल्याइछाड्ने प्रतिवद्धता व्यक्त गर्दछु । यस सम्बन्धमा छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषी उपर कारबाहीको प्रव्रिmया अघि बढाउन राष्ट्रिय परीक्षा बोर्डले छानविन समिति गठन गरी आवश्यक अनुसन्धान प्रव्रिmया प्रारम्भ गरिसकेको छ । त्यसै गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयको निर्देशनबमोजिम केन्द्रिय अनुसन्धान ब्युरोबाट अनुसन्धानका लागि टोली खटाइसकिएको छ । आजै मध्यान्ह १२ बजे मेरो नेतृत्वमा रहेको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) सञ्चालन तथा व्यवस्थापन उच्चस्तरीय सुरक्षा समितिको आकस्मिक बैठकले उत्पन्न परिस्थितिको समीक्षा गरी छानबीन कार्यलाई द्रुत गतिमा अघि बढाउने तथा बाँकी विषयका परीक्षाका प्रश्नपत्रहरुको सुरक्षा सतर्कता अपनाउन सबै जिल्ला परीक्षा समन्वय समितिहरुलाई निर्देशन दिने निर्णय ग¥यो । निर्देशन बमोजिम सबै जिल्ला परीक्षा समन्वय समितिहरुले उच्च सुरक्षा सतर्कताकासाथ प्रश्नपत्रको प्याकेटको सिलबन्दी तथा खामबन्दी परीक्षण गरिरहेका छन् ।
श्रृखलाबद्ध रुपमा प्रश्नपत्र बाहिरिएको सन्दर्भमा उत्पन्न परिस्थिति र सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रीको अनुरोध समेतलाई ध्यानमा राखी प्रदेश नंबर २ अन्तर्गतका केन्द्रहरुमा चैत्र २१ गतेसम्म सञ्चालन हुने सबै विषयका परीक्षाहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिने निर्णय गरेको छ । यसबाट प्रदेश नंबर २ अन्तर्गतका २६२ परीक्षा केन्द्रहरुबाट परीक्षामा सहभागी भएका ७० हजार ५ सय ६८ जना परीक्षार्थीहरु प्रभावित भएका छन् । चैत्र २२ मा सञ्चालन हुने गरी तय भएको विज्ञान विषयको परीक्षा भने सोही दिन सञ्चालन हुने तथा बाँकी अन्य स्थगित विषयको परीक्षाको तालिका यसै महिनाभित्र हुने गरी राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गर्नेछ । प्रदेश नंबर २ बाहेक सबै प्रदेश अन्तर्गतका परीक्षा केन्द्रहरुमा परीक्षा यथावत रुपमा सञ्चालन हुने कुरा समेत जानकारी गराउँछु ।
स्मरण रहोस् यस बर्षको माध्यमिक शिक्षा परीक्षाका सञ्चालनका लागि १९६९ परीक्षा केन्द्र कायम गरिएको छ । ती परीक्षा केन्द्रमा मर्यादित ढंगले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्ष १९६९ जना, सहायक केन्द्राध्यक्ष ३१६७ जना, निरीक्षक २३७५० जना, परीक्षा सहायक ४७५० जना, कार्यालय सहयोगी ९५०० जना र सुरक्षाकर्मी २९५३५ जना गरी प्रत्यक्ष रुपमा ७२६७१ जना जनशक्ति परिचालन गरिएको छ ।
माध्यमिक शिक्षा परीक्षाको प्रश्नपत्र निर्माण गर्दा उच्च सुरक्षा सतर्कता अपनाइने गरेको छ । विज्ञहरुबाट निर्माण गरिएको प्रश्नपत्र तीन वटा सुरक्षा निकायको तीन वटा घेराभित्र जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण प्रेसमा छपाई गरी सुरक्षा संयन्त्रको निगरानीमा प्रत्येक जिल्लाको जिल्ला प्रहरी कार्यालयमा सुरक्षित ढंगले राख्ने गरिन्छ । परीक्षा शुरु हुुनभन्दा ३ दिन अघि मात्र परीक्षा केन्द्रको नजिकको प्रहरी चौकीमा प्रश्नपत्र पु¥याइन्छ । प्रत्येक दिनको परीक्षा शुरु हुनुभन्दा एक घण्टा अघिमात्र केन्द्राध्यक्षले प्रश्नपत्रको प्याकेट बुझेर रुजु गरी सुरक्षाकर्मीसहित परीक्षा केन्द्रमा लैजाने व्यवस्था छ । यति धेरै सुरक्षा सावधानीका बीचबाट प्रश्नपत्र बाहिरिनु गम्भीर घटना हो । सरकारले यसको छानबीन गरी यथाशीघ्र सत्य तथ्य बाहिर ल्याउने कुरा सबैमा विश्वास दिलाउन चाहन्छु ।
अन्तमा यस घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित सबैलाई संयमित रहन र परीक्षार्थीको मनोभावनामा कुनै पनि प्रतिकुल असर पर्ने व्रिmयाकलाप नगर्नहुन सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु ।
प्रतिक्रिया