Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

मुलुकभरका एसईई प्रश्नपत्र रुजु गरिने, छानविनमा सिआईवी

शुक्रबार, १५ चैत्र २०७५

काठमाडौं - लगातार प्रश्नपत्र आउट भए पछि एसईई परीक्षाका लागि गठित केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले ४ घण्टा भित्र प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रीको अध्यक्षतामा रहेको उक्त समितिको सिंहदरबारमा बसेको बैठकले यस अघि नै जिल्ला जिल्लामा पठाईसकिएका प्रश्नपत्रको रुजु गरी मुचुल्का तयार पारी रिपोटिङ् गर्न जिल्ला स्थित सुरक्षा समितिलाई निर्देशन दिएको हो । 

मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजकको रोहवरमा जाँच गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको उक्त समितिले गर्ने रिपोटिङ् पछि केन्द्रिय समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने तय भएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । 

उक्त बैठकले अभिभावक तथा विद्यार्थीलाई संयम हुन आग्रह गर्दै  छानविनका लागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआईवीलाई खटाउने निर्णय समेत गरको छ । त्यस अघि शिक्षा मन्त्रीले गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरी उक्त निर्देशन दिन आग्रह गरेका थिए । 

लगातार प्रशनपत्र बाहिरिएपछि बढ्दो विद्यार्थी अभिभावकको आलोचना र आक्रोश मत्थर पार्न समतिले संयमता अपनाउन आग्रह गरेको हो । प्रश्नपत्र बाहिरिएको विरोधमा प्रदेश २ का विद्यार्थीले सडकमै उत्रेर प्रदर्शन समेत गरेका थिए । 

प्रदेश २ मा दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् ।

परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भए पछि प्रदेश २ मा अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगित गरिएको छ । बिहीबार राती नै सामाजिक सञ्जाल मार्फत् प्रश्नपत्र सार्वजनिक भएको थियो । यस अघि प्रदेश २ मै प्रश्नपत्र आउट भएपछि बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो ।

प्रतिक्रिया