Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

नक्कली शैक्षिक प्रमाणपत्र : त्रिविका सह प्रशासक सहित २ प्रहरी विरुद्ध मुद्दा

विहीबार, १४ चैत्र २०७५

काठमाडौं - नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर जागिर खाएको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयकी सह प्रशासक सहित २ प्रहरी विरुद्ध मुद्दा दायर गरेको छ । 

हाल व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, त्रि.वि.मा सह प्रशासकका रुपमा कार्यरत कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरकी तत्कालीन उपप्रशासक शारदा कुमारी पौडेलको शैक्षिक योग्यतकाो प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कार्यरत रहेकाले छानबिन गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा पौडेलले संस्कृत विश्वविद्यालय वाराणसी, भारतबाट प्राप्त उत्तर मध्यमा तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सेवामा प्रवेश तथा बढुवा लिई लाभ समेत लिएको अख्तियारको दावी छ । 

यस्तै प्रहरी नायव निरीक्षक खेमराज कठायत र प्रहरी प्रधान कार्यालय सुसेनि अंगरक्षक गणका प्रहरी नायव निरीक्षक सुरेशकुमार गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली भएको भन्दै अख्तियारले विशेष अदालतमै मुद्दा दायर गरेको छ । 

उनीहरुको छानबिन गरी पाउँ भन्ने व्यहोराका छुट्टा छुट्टै उजुरी माथि अनुसन्धान हुँदा कठायतले इलाहाबाद विश्वविद्यालय, इलाहाबाद, भारतबाट प्राप्त स्नातक तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा भएको फेला परेको हो । यसैगरी गुरुङले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, उत्तरप्रदेश, भारतबाट प्राप्त इण्टरमिडिएट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सेवामा प्रवेश तथा बढुवा लिई लाभ समेत लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रतिक्रिया