Edukhabar
शनिबार, १५ मंसिर २०८१
खबर/फिचर

अस्थायी शिक्षकका बारेमा परिपत्र, नतिजा प्रकाशनकै मितिबाट अवकास

विहीबार, १४ चैत्र २०७५

भक्तपुर - अस्थायी शिक्षकका बारेमा शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार कार्य गर्ने गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइहरु लाई परिपत्र गरेको छ । ऐनमा शिक्षक सेवा आयोगले नतिजा सार्वजनिक गरेको मितिबाट स्वतः अवकास हुने व्यवस्था छ । 

सचिव स्तरीय निर्णयको हवाला दिदैं केन्द्रले बिहीबार गरेको उक्त परिपत्रमा शिक्षक सेवा आयोगबाट सम्बन्धित तहको योग्यताक्रम सहितको एकिकृत नतिजा प्रकाशन गरेको मितिबाट अवकास दिने व्यवस्था गर्न भनिएको छ । 

'यसरी अवकास हुने अस्थायी शिक्षक, उमेरहदबाट यस अघि नै अवकास भएका अस्थायी शिक्षक, सुविधा प्राप्त गर्ने सर्तमा राजिनामा स्विकृत गराएका अस्थायी शिक्षक तथा मृत्यु भएका शिक्षकहरुको अस्थायी शिक्षकको सेवा सुविधा सम्बन्धि संलग्न सिफारिस पत्र र सेवा सुविधा प्राप्त गर्न चाहिने आवश्यक कागजातहरु संलग्न गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय शिक्षक कितावखानामा अविलम्ब पठाउने व्यवस्था गर्न' परिपत्र मार्फत् निर्देश गरिएको छ । 

यस अघि शिक्षकलाई दिने सेवा सुविधाको व्यवस्था कार्यान्वयनमा ढिलाई भएको भन्दै शिक्षकका नेताहरुले उनीहरुलाई केही समय करारमा नियुक्ति दिन लविङ् गर्दैै आएका थिए । विद्यालयमा पठन पाठन प्रभावित हुने भन्ने उनीहरुको तर्क थियो ।  

उनीहरुको उक्त लविङ्कै प्रभावमा केन्द्रले पनि असार सम्म अस्थायी शिक्षकलाई करारमा राख्न सकिने प्रस्ताव गरेको सार्वजनिक गरेको थियो । 

पढ्नुहोस् : अस्थायी शिक्षक असार सम्म करारमा !

मंगलबार सञ्चारकर्मीसँग गरिएको छलफलमा केन्द्रका महानिर्देशक बाबुराम पौडेल र निर्देशक नगेन्द्र रेग्मीद्वारा सार्वजनिक उक्त धारणा पछि त्यसको पक्ष विपक्षमा तर्क भएका थिए । 

तर बिहीबार केन्द्रका निर्देशक रेग्मीद्वारा हस्ताक्षरित उक्त परिपत्रमा सोमबार भएको सचिवस्तरीय निर्णयको हवाला दिईएको छ । 

यो पनि  पढ्नुहोस् : अस्थायी शिक्षकको नतिजा, मन्त्रालयको ढिलाइले नयाँ उल्झनको खतरा

 

प्रतिक्रिया