Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

परीक्षाका बेला बन्द नगर्न आग्रह

बुधबार, १३ चैत्र २०७५

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयमा बन्द नगर्न राष्ट्रिय मानव अधिकार आयोगले विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ । सरकारले आफ्ना नेता कार्यकर्तालाई धरपकड गरेको विरोधमा उक्त समुहले चैत १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ । सरकारले उसका  गतिविधिमा यस अघिनै प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । 

एसईई दिने विद्यार्थीलाई बाधा नपरोस् भन्दै बन्दको कार्यक्रम शनिबार पारेको उक्त समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो । तर सो दिन समेत परीक्षा छ । उक्त दिन अनिवार्य  स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड र फलित ज्योतिषको परीक्षा छ । यसैगरी सोही  दिन अनिवार्य संस्कृत भाषा र प्राविधिक तर्फ विभिन्न ५ विषयको परीक्षा छ ।

आयोगका तर्फबाट सचिव वेद भट्टराईले बुधबार विज्ञप्ति जारी गर्दै बन्दले शिक्षा, लगायतको अधिकार उपभोगमा बाधा पुग्ने भएकोले त्यस्ता गतिविधि नगर्न आग्रह गरेका छन् । 

आम नागरिकको स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउने अधिकार, स्वास्थ्य, शिक्षा, पेशा व्यवसाय र रोजगारी लगायतको अधिकार उपभोगमा बाधा पुग्ने भएकोले त्यस्ता गतिविधि नगर्न आयोगको आग्रह गरेको छ । चन्दा, विस्फोट, हत्या हिंसायुक्त काम नगर्न र भययुक्त वातावरण सिर्जना नगर्न पनि विज्ञप्ति मार्फत् विप्लव समूहलाई आग्रह गरिएको छ ।

एसईई परीक्षा र नेपाल बार एशोसिएसनको निर्वाचन समेत परेकाले चैत १६ गते नेपाल बन्द नगर्न आयोगको आग्रह छ । 

राजनीतिक विचार, आस्था र आशंकाका भरमा कुनै पनि नागरिकलाई धरपकड नगर्न र संविधान प्रदत्त अधिकार प्रयोगको वातावरण बनाउन सरकारलाई आग्रह समेत आयोगको आग्रह छ । ‘कुनै पनि द्वन्द्व, विमति वा संघर्षको स्थितिलाई प्रतिद्वन्द्व वा विवादबाट भन्दा वार्ता र संवादबाटै निराकरण गर्न सकिने भएको र नेपालमा पनि विगतमा भएका सशस्त्र द्वन्द्व तथा विभिन्न प्रकारका संघर्ष एवं आन्दोलनहरु वार्ता र संवादबाटै अन्त्य भएको दृष्टान्तलाई आत्मसात गर्दै त्यसतर्फ गम्भीर रहन पनि आयोग संवद्ध सबै पक्षलाई आग्रह गर्दछ’ वार्ताबाटै समस्याको निकास निकाल्न आयोगको विज्ञप्तिमा आग्रह गरिएको छ ।  

 

प्रतिक्रिया