Edukhabar
विहीबार, २७ मंसिर २०८१
विचार / विमर्श

कक्षामा वास्ता छैन, परीक्षा केन्द्रमा धुमधामको घुमघाम !

बुधबार, १३ चैत्र २०७५

जब जब देशमा राजनीतिक परिवर्तन हुन्छ, तब तब चर्का स्वरले शिक्षामा परिवर्तन पहिलो सर्त भन्न थालिन्छ । ००७ सालको प्रजातन्त्र प्राप्ति पश्चात २०१० मा गठन भई २०११ म आफ्नो प्रतिवेदन पेश गरेको नेपाल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन संगै पहिलो पटक औपचारिक रुपमा शिक्षा विकासको प्रयास थालिएको देखिन्छ । २०१८ को सार्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन, राष्ट्रिय शिक्षा सल्लाहाकार परिषद् २०२४, राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८, २०३८ को पाठ्यक्रम कार्यान्वयन योजना र २०४६ मा वहुदलीय प्रजातन्त्रको प्राप्ति पश्चात गठित २०४९ को राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५८ को शिक्षा सम्वन्धि उच्चस्तरिय कार्य समितिको प्रतिवेदन, २०६३ को राष्ट्रिय पाठ्यक्रम प्रारुप सरकारी तवरबाट गरिएका कार्यका केही उदाहरण हुन् । विभिन्न दातृ निकायको सहयोगमा लागु भएका सवैका लागि शिक्षा, विद्यालय क्षेत्र विकास कार्यक्रम, विद्यालय क्षेत्र विकास योजना जस्ता कार्यक्रम तथा योजनाहरुले एउटै कुरा बोलेको पाइन्छ – विद्यालयको स्तरनोन्नती, सिकाइ उपलव्धिमा सुधार, गुणस्तरीय शिक्षा अनि दिगो विकास । यी उद्धेश्य प्राप्तिका लागि आवश्यक विभिन्न निकाय र नियमन गर्ने नियमनकारीको व्यवस्थाको कुरा पनि जोड तोडले उठाईन्छ । कुरा अत्यन्तै सह्रानीय, साँच्चिकै जनपक्षीय, वदलिँदो परिवेश सुहाउँदो, देशलाई बोक्न सक्ने जनशक्ति उत्पादनको कुरा वा क्या बात् ! यो भन्दा बढि के चाहियो र ! 

तर, उपलब्धि उदेक लाग्दो ! 

प्रसंगको शुरुवात विद्यालय शिक्षाको फलामे ढोका मानिने हिजोको एसएलसी को वदलिदों रुप आजको एसईई बाट गरौं । उक्त परीक्षालाई हिजो राष्ट्रिय स्तरको भनियो आज प्रदेश स्तरीय भनिन्छ । प्रश्न पत्र हिजो विकास क्षेत्र स्तरीय थियो आज प्रदेशस्तरीय । जे भनिए पनि नामबाट मात्रै रुप परिवर्तन भयो । मुन्द्री लाउनेले ढुङ्ग्री लायो बस् तर गहनाको जमाना गएन । 

यस बर्षको एसईईको पहिलो दिन गत चैत १० गते संयोगले मैले पनि एसईई परीक्षा सञ्चालन भएको केन्द्रलाई बाहिरैबाट नियाल्ने अवसर पाएँ । हुम्लाको सदरमुकाम सिमकोटमा भएका  दुईवटा परीक्षा केन्द्र मध्ये बालमन्दिर मा.वि.मा मेरा विद्यालयका १६ जना पनि परीक्षा दिँदै थिए । गेटै बाहिर रहँदा त्यहाँको दृष्य देखेर मन अमिलियो ! 

फागुनमा शुरु भएर मंसिरमा शैक्षिक शत्र सकिने हुम्लाको नियती । कता कता लाग्यो यसरी नै आज सक्रीय हुने नियमनकारीले शैक्षिक सत्र भरीनै सक्रीय भएको भए शायद शिक्षाको क्षेत्रमा हुम्ला पछि नपर्दो हो ! खाई नखाई लगानी गर्ने अभिभावकको लगानी बालुवाको पानी पनि के हुँदो हो ! अनि उज्वल भविष्यको आशा बोकेका तर आर्थिक पछ्यौटेपनको पारिलो रापमा सेकुवा बनेका विद्यार्थी उच्च शिक्षाका लागि सर्वत्र स्विकार्य हुन्थे पनि । प्रतिष्पर्धाको बजारमा बिक्न कठिन पक्कै नहुँदो हो । 

परीक्षा सुरु भएको केही समय पनि वितेको थिएन । हुलका हुल भित्र पसेको देखेँ । कुरा बुझ्दा सि.डि.ओ.को टोली, डि.एस.पि.को. टोली, पत्रकारको टोली, नागरिक समाजको टोली, समन्वय समितिको टोली, राजनीतिक अगुवाको टोली, जिल्ला शिक्षा समन्वयको टोली ! परीक्षा केन्द्र भित्र टोलीका टोली !  

शिक्षण पेशामा संलग्न भएको ७ वर्ष वित्यो । सदरमुकाम देखी जम्मा ८ कोश टाढा छ मैले पढाउने विद्यालय । आज सम्म हेक्का छैन कोही पनि पठन पाठनको विषय लिएर विद्यालयमा निरिक्षणका लागि आएको ! 

शँका लाग्यो आफैँसँग कतै मेरो पागलपन त भएन ? आजकै जस्तो गर्विलो निरिक्षण भएको भए शायद शिक्षक पक्कै सिकाइ प्रति जवाफदेही हुँदो हो । शिक्षा गुणस्तरीय हुँदो हो अनि अभिभावकले चाहे जस्तो, विद्यार्थीले आशा गरे जस्तो शिक्षा प्राप्त हुँदो हो । तर सदरमुकाम नजिकैको विद्यालयमै छैन भने ५, ६ दिन लाग्ने मैला, यल्वाङ् तिर के होला ? अनुत्तरीत प्रश्न उत्पन्न भयो मनमा । 

के हामी सबैको भुमिका विद्यार्थीलाई परीक्षामा सहज वातावरण उपलब्ध गराउनु होइन र ? होला हदै भए सदरमुकामका विद्यार्थी त बानी परेका होलान् र केही असर नहोला तर मैले पढाउने जस्तै दुर दरारका विद्यालयका विद्यार्थीलाई यो हुलका हुल टोली कक्षामा छिर्दा  कस्तो भयो होला ? 

जबकी जोगी आयो भन्दा पनि तर्सिने गर्छन् अझै पनि गाउँमा । नयाँ मान्छे देख्दा नाजवाफ र शशंकित हुन्छन् वयस्क पनि । बालपनको त कुरै नगरौँ । बाल मनोबिज्ञानको जानकारी नराखी एका बिहानै ठाँटिएर अनुगमको नाममा परीक्षा हलमा एक पछि अर्को हुल छिर्दा ति गाउँबाट आएका विद्यार्थीले के लेख्लान् र राम्रो नतिजाको आशा गर्ने ? बल्ल आज पत्तो भयो विद्यार्थीको सिकाई स्तरीय हुँदा पनि नतिजा किन विपरित आउँछ भन्ने कुरा । 

हुन त थाहा छैन होला शिक्षकको लगानी अनि अभिभावकको बुहार्तन ति सुकिला हुलहरुलाई । उता विद्यार्थीको भविष्य चौपट यता शिक्षकलाई गाली । कारण त यो पो रहेछ । विद्यार्थीले चिट चोर्छन्, परीक्षा मर्यादित भयो या नाई भनेर परीक्षाका बेला मात्र चेत राख्नेले पठन पाठन अवधिभर गरेको भए आज यस्तो अनुगमन आवश्यक छ र ? कमसेकम विद्यार्थीले शान्त भएर लेख्न पाउने अधिकार खोई । परीक्षार्थीलाई आतंकित पारेर गुणस्तर सुध्रिन्छ भन्नु मुर्खता होइन र ? हामी शिक्षक तयार छौँ नियमति अनुगमन, दण्ड सजाय र पुरस्कारका लागि तर बेमौसमको बाजा अनि लगन पछिको पोतेले के प्राप्ति गर्छ सोच्न पर्ने होइन र ? पढाउँदाको दुःख र सफलताको प्रतिक्षा कस्तो हुन्छ थाहा हुनुपर्ने होइन र ? आखिर सबै हामी जस्तै शिक्षकले पढाएका, परीक्षामा सौहार्दता चाहेका व्यक्ति न हुन् तर यति चाँडै इतिहास विर्सने चेला उत्पादन गर्ने हामी जस्ता शिक्षकलाई पनि धिक्कार छ । 

लेख्न दिनुहोस् विद्यार्थीलाई शान्त वातावरणमा ! सक्छन् विद्यार्थीले बालमैत्री वातावरण पाए पछि । आदर्शमा वालमैत्रि व्यवहारमा प्रोढ मैत्री ?

कि त त्यहाँ तपाईंहरुले नै खटाएका प्रति विश्वाश छैन भन्नुहोस् नत्र विश्वास गर्नुहोस् शिक्षकलाई । आजैबाट छाड्नुहोस् यो कार्य । तपाईंहरुको यो कार्यले नतिजा विद्यार्थीको पोल्टामा पर्छ भन्ने लाग्दैन । हामीले त विद्यार्थीलाई हामी जस्तो होइन स्वयम् जस्तो बनाउनु छ । आदर्शमा भएको कायापलट गर्नु छ । न शैक्षिक सत्र भरी अपराधी शिक्षकलाई दण्ड दिन सक्ने, न राम्रालाई पुरस्कृत गर्न सक्ने । दलीय स्वार्थमा लुटपुटिएर ती निर्दोष भटमासलाई भुट्ने काम नगरौँ । अभिभावकको आशा आफ्ना सन्ततीमा टुसा पलाओस् भन्ने छ । हामीले भटमास भुटिदिन्छौँ । नभुटेको भटमासबाट पो टुसा पलाउँछ भुटेको भटमासबाट टुसाको आशा कसरी गर्न सकिन्छ ? हाम्रो जिम्मेवारी भटमास रोप्ने, टुसा उमार्ने, ओसिलो बोट बनाउने अनि पोटिलो भटमास उत्पादन गर्ने होइन र ?

नजाने र नसके कारवाहीको भागिदार हुन म पनि तयार छु । आफ्नो रोटि पकाउने बहानामा लाखौँका रोटि खोस्ने हैसियत राख्न हुँदैन । भोक आदर्शले होइन व्यवहारले भरिने हो । सस्तो लोकप्रयिताले कैयौँलाई भुटेको भटमास बनाउँदै छ । हामी सबैको दायित्व भटमास भुट्ने होइन टुसा उमार्ने हो । 

शाही मान्धार मा.वि. खार्पुनाथ, हुम्लाका शिक्षक हुन् ।

 

प्रतिक्रिया