Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

विद्यार्थीलाई 'बाधा नपरोस्' भन्दै परीक्षाकै दिन बन्द

मंगलबार, १२ चैत्र २०७५

काठमाडौं - आफूसँग सरोकारै नभएको विषयमा हुने बन्दका कारण आजित हुँदै  आएका विद्यार्थीले फेरी एक पटक हैरानी भोग्नु पर्ने भएको छ । आफ्ना गतिविधिमा सरकारले प्रतिबन्ध लगाएको र कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपा विप्लब समूहले गरेको बन्दको आह्वानले एसईई परीक्षामा सहभागी विद्यार्थी मर्कामा पर्ने भएका हुन् । 

विरोेधका विभिन्न कार्यक्रम सार्वजनिक गर्दै उक्त समूहले चैत १६ गते शनिबार बन्दको आह्वान गरेको छ । एसईई दिने विद्यार्थीलाई बाधा नपरोस् भन्दै शनिबार पारेको उक्त समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए पनि सो दिन समेत परीक्षा छ । उक्त दिन अनिवार्य  स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड र फलित ज्योतिषको परीक्षा छ । यसैगरी सोही  दिन अनिवार्य संस्कृत भाषा र प्राविधिक तर्फ विभिन्न ५ विषयको परीक्षा छ । 

'यो बन्दले कक्षा १० का विद्यार्थीहरुको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौं' उक्त समुहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

उक्त दल र उसको भात्रृ संगठनको आह्वानमा मात्रै चालु शैक्षिक सत्रमा यो सहित आठौं पटक विद्यार्थीको पढ्न पाउने हक खोसिईसकेको छ  । शैक्षिक सत्रको अन्तिमको समयमा गत फागुन ३० गते पनि सोही समूहले बन्दको आह्वान गरेको थियो । आफ्नो पार्टिलाई सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको दुई दिन पछि भएको उक्त बन्द प्रति पनि तिब्र विरोध भएको थियो । 

पढ्नुहोस् : फेरी पनि विद्यार्थी माथि नै अन्याय, चुपचाप शिक्षा मन्त्रालय !

चालु शैक्षिक सत्रमा मात्रै यो समूह सहित शिक्षक र सरकार आफैंले समेत गरेर झण्डै एक दर्जन पटक शैक्षिक संस्था बन्द भईसकेका छन् । 

सोही दलले गत असोज ७ गते काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल गरेको थियो । त्यस अघि गत माघ २४ गते, वैशाख २२ गते, जेठ २१ गते, गत असार ३ गते र साउन २९ गते उक्त दल र उसको भात्रृ सँगठनले शैक्षिक हड्ताल गरिसकेको छ ।  त्यसो त चालु शैक्षिक सत्रमा राज्य पनि आफैं शैक्षिक संस्था बन्दको घोषणा गरेर विद्यार्थीको पढ्न पाउने हक हननमा उत्रिएको थियो ।  काठमाडौंमा आयोजित विमस्टेकको चौथो शिखर सम्मेलनमा सुरक्षाको कारण देखाएर शिक्षा मन्त्रालयले नै गत भदौ १४ र १५ गते उपत्यकाका शिक्षण संस्था बन्द गर्न निर्देशन दिएको थियो । यही बीचमा आफ्ना माग पुरा गराउन माग गर्दै शिक्षक महासंघ र राहत शिक्षकले पनि विद्यालय बन्द गराएकै थिए ।

राजनीतिक माग र विरोधका कारण आह्वान भएको बन्दले विद्यार्थीले पढ्न नपाउनु भनेको ज्यादै लाजमर्दो कुरा हो । तर, आफ्नो राजनीतिक उद्धेश्य पुरा गर्न उक्त समूहले पटक पटक विद्यार्थीको हक हनन गरेको छ । जसको शन्देश उत्तः समूहका लागि नै प्रत्युत्पादक बन्ने पक्का छ । 

यस पटकको बन्द देशमा लागनी भित्र्याउन भन्दै सरकारले शुक्रबार आयोजना गर्न लागेको दुई दिने लगानी सम्मेलन प्रति पनि लक्षित देखिन्छ । उक्त सम्मेलन समेत यही बन्दका बेला पर्ने भएको छ । सम्मेलन मार्फत् सरकारले देशमा बन्द हड्ताल नहुने र लगानी सुरक्षित हुने शन्देश दिने तयारी गरेकै बेला विप्लब समूहले बन्दको आह्वान गरेको हो । उक्त बन्दलाई आन्तरिक विषय र सरकारको दमन विरुद्ध भएको भन्दै अन्र्तराष्ट्रिय समुदायलाई भ्रमित र तरंगित नहुन समेत विज्ञप्तिमा आग्रह गरिएको छ । 

प्रतिक्रिया