Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि

मंगलबार, १२ चैत्र २०७५

काठमाडौं १२ चैत / माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।
एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागिअनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाटपरीक्षा लिएको छ ।

प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको छ । प्रश्न नम्बर ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्नेमा ५ वटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किए । कतिपय ठाउँमा भाषागत त्रुटिसमेत छन् । सातवटै सेटको प्रश्न नम्बर ९ अस्पष्ट छ । त्यसमा भनिएको छ, ‘आफ्नो भाइका बारेमा तीन वाक्यमा वर्णन गर्नुहोस् ।’ यस्ता प्रश्नले विद्यार्थीलाई झुक्याउने नेपाली विषयका प्रश्न निर्माणविज्ञ देवीराम आचार्यले बताए । ‘३ वाक्यमा वर्णन हुनै सक्दैन,’ उनले भने, ‘३ पूर्णांकको प्रश्नमा विद्यार्थी झुक्किएर एक पेज उत्तर लेख्ने सम्भावना हुन्छ । अरू प्रश्नको उत्तर दिन समय नपुग्दा अनुत्तीर्ण हुन सक्छन् ।’

कर्णाली प्रदेशको प्रश्नपत्रको ५ नम्बरमा रेखांकित शब्दहरूको पदवर्ग छुट्याउन भनिएको छ । रातो कागजमा प्रश्न छापिएकाले रेखांकित गरिएका शब्द चिन्न मुस्किल पर्छ । प्रश्नपत्र छपाइ गर्न रातो कागज उपयुक्त नहुने विज्ञहरूको भनाइ छ। प्रश्नपत्रमा विद्यार्थीलाई ठाउँठाउँमा निर्देशन दिइएको छ ।

प्रश्न १७ मा ‘तलका कुनै एक प्रश्नको लामो उत्तर दिनुहोस्’ भनिएको छ । लगत्तै ‘क’ प्रश्न संकेत गरेर ‘कविताको तलको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्’ भनिएको छ । फेरि ‘अ’ प्रश्न संकेत गरेर ‘क’ प्रश्नसँगै सम्बन्धित अर्को प्रश्न सोधिएको छ । ‘गज्याङगुजुङ पाराले प्रश्नमाथि प्रश्न थुपारिएको छ,’ आचार्यले भने, ‘कुनै एउटा मात्र प्रश्नको उत्तर दिनुपर्ने ठाउँमा धेरै प्रश्न थुपार्दा विद्यार्थी कन्फ्युज हुन्छन् ।’ एउटै प्रश्नको जवाफ लेख्न विद्यार्थीलाई दोहोरो निर्देशन दिइएको छ ।

प्रदेश १ को प्रश्नपत्रमा ह्रस्वदीर्घसमेत अशुद्ध रहेको त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक केशव भुसालले बताए । ‘नेपाली विषयकै परीक्षामा वर्णविन्यासगत समस्या देखिन्छ,’ उनले भने । प्रदेश २ को प्रश्नपत्रमा सोध्ने तरिका गलत भएको, व्याकरणगत अशुद्धि रहेको उनले बताए । भुसालले भने, ‘खाली ठाउँ भर्ने प्रश्नमा कुनचाहिँ शब्द अनेकार्थी हो भनिएको छ तर छनोटका लागि दिएका शब्दमा अनेकार्थी शब्द नै छैन ।’

देशभर ४ लाख ७५ हजार विद्यार्थीले एसईई दिइरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले पनि त्रुटि भएको स्वीकार गरेको छ । त्रुटि र अस्पष्ट भएका प्रश्नबारे सकभर परीक्षा केन्द्रमा जानकारी गराइएको उपनियन्त्रक चेतनाथ शर्माले बताए । प्रदेशअनुसार प्रश्नपत्रको स्तर पनि फरक/फरक पाइएको विषयगत विज्ञहरू बताउँछन् ।

सामान्य त्रुटि धेरै भेटिएको शिक्षकहरूको भनाइ छ । प्रदेश ३ को प्रश्नपत्रको ११ नम्बरमा भाइटीकाका बारेमा सोधिएको छ । ‘यस्ता प्रश्नको उत्तर लेख्दा भाइटीका मनाउने विद्यार्थीले धेरै नम्बर र नमनाउनेले थोरै नम्बर ल्याउने सम्भावना हुन्छ,’ एक शिक्षकले कान्तिपुरसँग भने ।

आइतबार अंग्रेजीको प्रश्नपत्रमा पनि त्रुटि भेटिएको थियो । कर्णाली र गण्डकी प्रदेशका लागि सोधिएका प्रश्नपत्रको ९ नम्बरमा व्याकरणगत त्रुटि छ । प्रश्न दिइएको छ तर के जवाफ दिने भनिएको छैन । प्रत्यक्ष वाक्यलाई अप्रत्यक्षमा रूपान्तरण गर्न निर्देशन दिइएको प्रश्नमा वाक्य नै प्रत्यक्ष छ ।

शब्दचयनमा समेत अशुद्धि भेटिएको छ । ‘अंग्रेजी विषयको प्रश्नपत्रमा स्पेलिङ गलत छ,’ त्रिवि अंग्रेजी विभागका प्राध्यापक प्रेम फ्याकले भने, ‘प्रश्नपत्रको स्तर पनि निकै कमजोर छ ।’ प्रदेश १, २, ५ र गण्डकी प्रदेशको प्रश्नपत्रमा प्रश्न दोहोरिने, अर्थ नबुझिने प्रश्न रहेको उनले जनाए । उनले भने, ‘पहिलेभन्दा त्रुटि सुधार भएको देखिन्छ,’ फ्याकले भने, ‘सुधार गर्नॅपर्ने कुरा धेरै देखिन्छ ।’

प्रश्नपत्रमा त्रुटि भेटिए तत्कालै ७७ जिल्लाका परीक्षा केन्द्रमा जानकारी गराउने गरिएको उपनियन्त्रक शर्माले बताए । मुलुकभर एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । ‘बिहान ८ बजे परीक्षा सुरु हुन्छ, ७ः३० बजे नै विज्ञहरूको उपस्थितिमा प्रश्नपत्र हेरेर त्रुटि भए/नभएको एकिन गर्ने गरेका छौं,’ उनले भने, ‘गल्ती भेटिए सच्याउन सर्कुलर गर्ने गरेका छौं ।’

कुनै प्रश्नमा दुबिधा भए केन्द्राध्यक्षले बोर्डको टोल फ्री नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । बोर्डले छनोट गरेका विषय विज्ञहरूले प्रारम्भिक रूपमा प्रश्न तयार पार्ने गरेका छन् । उनीहरूले तयार पारेको प्रश्न संकलन गरेर केही विज्ञको संलग्नतामा मात्रै परीक्षा केन्द्रमा पठाउने प्रश्नपत्र बनाइन्छ ।

निश्चित समयमा, गोप्य तरिकाले गर्नुपर्ने काम भएकाले त्रुटि हुने गरेको बोर्डका अधिकारी बताउँछन् । तयार भएको प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रको सुरक्षित प्रेसमा छपाएर परीक्षा केन्द्रमा पठाइन्छ । परीक्षा सुरु हुनुभन्दा १५ मिनेटअघि मात्रै प्रश्नपत्रको सिलबन्दी खोल्न पाइने प्रावधान छ ।

कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् । 

प्रतिक्रिया