Edukhabar
शनिबार, १५ मंसिर २०८१
अन्तैवाट

सानदार सामुदायिक

सोमबार, ११ चैत्र २०७५

काठमाडौं ११ चैत / सरकारी विद्यालय सक्किइसके भन्ने आम धारणाविपरीत केही सामुदायिक विद्यालयले आफूलाई अब्बल सावित गरेका छन्। उनीहरू निजी (संस्थागत) विद्यालयभन्दा कम छैनन्। निजीलाई चुनौती दिने सामुदायिक विद्यालयसमेत संघीय राजधानी काठमाडौं प्रशस्त छन्। 

कुशल व्यवस्थापन, मिहिनेती शिक्षक र सहयोगी अभिभावकको समन्वय भए सरकारी विद्यालय पनि निजीभन्दा कमजोर हुँदैनन् भन्ने कुरा सावित गरेका छन् केही सामुदायिक विद्यालयले । माध्यमिक शिक्षा परीक्षा (एसईई)को आधार मान्दा विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, रत्नराज्य मावि बानेश्वर, जनकल्याण मावि महाँकाल बौद्ध र मंगलोदय मावि थानकोट काठमाडौंका अब्बल विद्यालय हुन्। 

त्यस्तै शिवपुरी मावि महाराजगन्ज, तरुण मावि बालाजु, तिलुङ्गाटार मावि धापासी, बलम्बु मावि बलम्बु, जनसेवा मावि पाँगा, पृथ्वीनारायण मावि गोलढुंगा, तारकेश्वर, प्रभाव मावि महादेवस्थान थानकोटलगायत सामुदायिक विद्यालयले निजीलाई चुनौती मात्र दिएका छैनन्, निजी विद्यार्थी नै तानेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका शाखा अधिकृत शेषकान्त पौडेल काठमाडौंमा एक दर्जनभन्दा बढी सामुदायिक विद्यालय पठनपाठन अब्बल रहेको बताउँछन्। 

उनीहरूले विद्यालयको चापसमेत थाम्न सकिरहेका छैनन्। निजी विद्यालयभन्दा कम छैन, उनीहरूको आकर्षण । उनीहरूले निजी विद्यालय जत्तिकै गुणस्तरीय शिक्षा दिएका छन्। अभिभावकको माग र समयसापेक्ष परिवर्तनका लागि उनीहरूले अंग्रेजी माध्यममा पठनपाठन गराएका छन्। प्रविधिमा पनि उनीहरू कम छैनन्। आईटी प्रविधिबाट शिक्षण गराउन थालेका छन्। कम्प्युटर शिक्षा सर्वसुलभ भइसकेको छ । निजीमा जस्तै मन्टेसोरी शिक्षण गराउन थालेका छन्। 

निजी छाडेर ती विद्यालय अभिभावक आफ्ना छोराछोरी भर्ना गराउन जान्छन्। उनीहरू अब्बल हुनुको राज नै गुणस्तरीय शिक्षा हो । अभिभावक सचेत मात्र नभई दृढ इच्छाशक्ति भए समुदायिक विद्यालयले पनि निजी स्कुलभन्दा राम्रो गर्न सक्छन् भन्ने उदाहरण उनीहरूले देखाएका छन्। 

काठमाडौंको अब्बलमध्ये एक विद्यालयका रूपमा रहेको ज्ञानोदय माविका प्रधानाध्यापक नातेकाजी महर्जन शिक्षकले जिम्मेवार भएर शिक्षण गराए गुणस्तरीय कायम हुने बताए । ‘कक्षाकोठाका शिक्षकले राम्रो शिक्षण गराइदिएमा स्कुल यत्तिकै राम्रा हुन्छन्’, उनले भने । 

प्रधानाध्यापक महर्जनका अनुसार ८ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । आईसीटी प्रविधि जडान गरिएको छ । कक्षा ४ देखि ८ सम्म अनिवार्य कम्प्युटर शिक्षाको पठनपाठनको व्यवस्था छ । त्यसभन्दा माथि कम्प्युटर ऐच्छिक छ । निजीमा जस्तै नर्सरी, एलकेजी, यूकेजी अध्यापन हुन्छ । कक्षा १ देखि ३ सम्म क्यास प्रणालीबाट पठनपाठन हुँदै आएको छ । ज्ञानोदयमा ग्रेड टिचिङमार्फत पढाइन्छ । 
 ज्ञानोदयमा व्यवस्थापन, विज्ञान र सिभिल इन्जिनियरिङका विषयको कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म २६ सय विद्यार्थी छन्। ‘शुक्रबार पाँचौं पिरियडपछि हप्ताभर हुने गतिविधि, विभिन्न विषयवस्तुमा छलफल गर्छौं । विद्यार्थीको रिजल्ट लिन अभिभावकलाई अनिवार्य रूपमा बोलाउँछौं’, महर्जनले भने । 

गत वर्ष २ सय ६ जना सहभागी एसईईमा ७४ जनाले ३.६ जीपीए ल्याएका थिए । ३ विद्यार्थीले भने ३.९५ जीपीए ल्याए ।  समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षकको समन्वयकै कारण राम्रो शिक्षा दिन सकेको जनसेवा माविकी प्रधानाध्यापक नन्दकुमारी महर्जन बताउँछिन्। ‘लोकतान्त्रिक विधि अपनाएकी छु, मैले त सबैलाई जिम्मेवारी दिएकी छु’, उनले भनिन्, ‘मलाई हल्का छ, सबैले आफ्नो जिम्मेवारी कुशलताका साथ निर्वाह गर्नुभएको छ, त्यसैले हाम्रो विद्यालय राम्रो हुँदै गएको छ ।’ तहगत इन्चार्ज, सहायक प्रधानाध्यापकको व्यवस्था जिम्मेवारी बाँडफाँट गरिएको छ ।

जनसेवामा अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराइन्छ । जनसेवामा प्राविधिक धारको इलेक्ट्रिकल इन्जिनियरिङ पनि पठनपाठन हुने गरेको छ । विद्यालयको गुणस्तर सुधारका लागि पाँचवर्षे कार्ययोजना नै बनाएको प्रधानाध्यापक महर्जन बताउँछिन्। सोही विद्यालयकी विद्यार्थी रहेकी उनले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा निजी स्रोतबाट रोखेर काम चलाउनु परिरहेको बताइन्। माविमा ८, निमाविमा ८ र प्राविमा १४ जनाको दरबन्दी छ भने विद्यालयमा १४ सय विद्यार्थी छन्। 

विद्यार्थीलाई असल नागरिक बनाउन व्यवहारमुखी शिक्षा दिनेतर्फ पनि ध्यान दिएको उनको दाबी छ । उनले एसईईमा २.८ जीपीएभन्दा कम नतिजा नझरेका दाबी गरिन्। 
विद्यालय गुणस्तरीय शिक्षाका लागि लागिपरेको प्रभात माविका प्रधानाध्यापक गोविन्दप्रसाद रूपाखेती बताउँछन्। प्रभाव माविले कक्षा १ देखि ७ सम्मका ३ सयभन्दा बढी विद्यालय दिनहुँ खाजा उपलब्ध गराएको छ । पोसाक, स्टेसनरीका छात्राका लागि सेनिटरी प्याडको निःशुल्क उपलब्ध गराएको छ । स्मार्ट र आईसीटी प्रविधिबाट शिक्षण व्यवस्था रहेको उनी दाबी गर्छन्।

कक्षा १ देखि १२ सम्म सञ्चालनमा रहेको प्रभातमा ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। भौतिक पूर्वाधार विकासमा पनि लागिपरेको उनले बताए । शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख नन्दलाल पौडेलले निष्पक्ष व्यवस्थापन र कुशल प्रशासक नै विद्यालय अब्बल बनाउने कडी रहेको बताए । ‘सामुदायिक विद्यालय ध्वस्त हुनुको मुख्य कारण नै कुशल व्यवस्थापक र प्रशासकको अभाव हो,’ उनले भने, ‘शिक्षक थुपारेर हुँदैन, दक्ष शिक्षक पनि यत्तिकै आवश्यक पर्छ ।’ 

उनका अनुसार भौतिक पूर्वाधार, विद्यालय प्रांगण शिक्षकको तहगत र विषयगत समायोजनले गुणस्तरीय शिक्षा प्राप्त हुन्छ। सरकारी निकाय, स्थानीय तह, गैरसरकारी क्षेत्रको असल समन्वय भए विद्यालयका गुणस्तरमा सुधार हुने उनको भनाइ छ । 

ललितपुर र भक्तपुरमा पनि छन् राम्रा विद्यालय 
ललितपुरका त्रिपदम विद्याश्रम मावि पुल्चोक, आदर्श सोलयुवक मावि बुङ्‍मती, प्रभात मावि ट्‍यागल, श्रमिक शान्ति मावि च्यासल र वज्रबाराही माव गोदावरी राम्रा विद्यालयका रूपमा चिनिएका विद्यालय हुन्। गत वर्षको एसईई परीक्षामा त्रिपद्म मावि राष्ट्रिय स्तरको दोस्रो विद्यालय उत्कृष्ट हो भने प्रदेश ३ को प्रथम भएको विद्यालय हो । आदर्श मावि, श्रमिक माविमा दुई हजारभन्दा बढी विद्यार्थी छन्। 

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख गुणराज पोखरेल सहरी क्षेत्रका सामुदायिक विद्यालय सुधारको प्रयत्न भइरहेको बताउँछन । उनका अनुसार सहरी क्षेत्रका सामुदायिक विद्यालयमा न्यून विद्यार्थी छन्। तर ग्रामीण क्षेत्रमा प्रशस्त विद्यार्थी छन्। संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्नकै लागि ललिपुरमा अंग्रेजी माध्यमबाट अध्यापन थालिएको उनले बताए । ‘अंग्रेजी माध्यम पनि सँगसगै लिएको छ, सामुदायिक विद्यालयले अंग्रेजी माध्यमको पठनपाठन सुरुवात गरेको छ,’ उनले भने, ‘यसले बिस्तारै सहरी क्षेत्रका समुदायिक विद्यालय सकारात्मक बाटो जाँदै छन्।’

उपत्यकाभित्रकै भक्तपुर जिल्लामा स्थानीय तह नै विद्यालयलाई नमुना बनाउन लागेको छ । भक्तपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिका स्थानीयस्तरमै विद्यालय अब्बल बनाउने योजना ल्याएका छन्। सूर्यविनायक नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले सामुदायिक विद्यालयको गिर्दो अवस्था देखेर व्यवस्थापनमा निर्वाचित जनप्रतिनिधि राख्ने व्यवस्था गरेको बताए । ‘हामी निर्वाचित भएर आउँदा सामुदायिक विद्यालयका अवस्था नाजुक देख्यौं, अनि तुरुन्तै ऐन नै बनाएर व्यवस्थापनको जिम्मा लियौं, सुरुमा विरोध पनि भयो । तर अहिले शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधारमा हामीले खेलेको भूमिका कारण सकारात्मक सन्देश आउन थालेको छ,’ उनले भने । 

शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरका प्रमुख हरि दाहाल स्थानीय तह नै सामुदायिक विद्यालय सुधारमा लागेको बताउँछन्। उनका अनुसार नतिजा र व्यवस्थापनका आधारमा वागेश्वरी मावि भुक्तपुर, शान्ति निकेतन राम मन्दिर, गणेश मावि, सरस्वती मावि, देवी मावि, ज्योति मावि, महेन्द्र शान्ति मावि बालकोट र पदम मावि दरबार स्क्वायर भक्तपुरका राम्रा विद्यालयका रूपमा चिन्छिन्। 

अन्नपूर्ण पोष्टमा सुरेन्द्र काफ्लेले लेखेका छन् । 

प्रतिक्रिया