Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

सिरहामा विद्यालय बन्द हुदाँ १ लाख विद्यार्थी प्रभावित 

विहीबार, १९ कार्तिक २०७२

काठमाडौँ, १९ कात्तिक । मधेसी मोर्चाका आन्दोलनका कारण सिरहमा १ लाख भन्दा बढी विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् । जिल्लाका ६ वटा नगरपालिका लहान, धनगढी, सुखीपुर, गोलबजार, मिर्चैया तथा सिरहाका प्रत्येक वडा र जिल्लाका ५३ वटा गाविस रहेका प्राथमिक र माध्यामिक तहका गरी ४ सय ३९ सामुदायिक विद्यालय बन्द हुँदा त्यहाँ अध्ययन गरिरहेका एक लाख नौ हजार ३ सय ८० विद्यार्थीको पठनपाठन अहिले बन्द छ ।

केही सामुदायिक विद्यालयले बन्दको बावजुद पनि कक्षा सञ्चालन गर्ने प्रयास भने नगरेका होइनन् तर विद्यालय सञ्चालन गर्ने वित्तिकै बन्दकर्ताले अवरोध गर्ने गरेका कारण सञ्चालन हुने प्रयासमा रहेका विद्यालय पनि बन्द भएका छन् । 

“विद्यालय शान्ति क्षेत्र” भनिए पनि मधेसी मोर्चाको आह्वानमा जारी लामो आमहड्तालले सिरहाका करिब साढे चार सयको संख्यामा रहेका सामुदायिक विद्यालय चार महिनाभन्दा लामो समयदेखि बन्द हुदाँ विद्यार्थी पढ्न पाउने आफ्नो नैसर्गिक अधिकारबाट बञ्चित भएकाले विद्यालय सुचारुका लागी गम्भिर बन्न अधिकारकर्मीले माग गरेका छन् । 

सिरहामा बन्दले गर्दा ३० प्रतिशत कोर्समात्र पढाई भएको छ भने बन्दपछि विद्यालय खोल्दा कोर्स कसरी सक्ने भन्ने विषयमा पनि शिक्षक र विद्यार्थीलाई चिन्ता बढेको छ।  जिल्लाका शैक्षिक सरोकारवालाहरुले आन्दोलनरत मोर्चाका नेताहरुसंग विद्यालय सञ्चालन गर्न दिन आग्रह गर्दा पनि उनीहरुले बन्द विद्यालय खुल्न दिन नमानेको उनीहरुको भनाई छ ।

(आजको गोरखापत्र दैनिकको पृष्ठ ८ मा प्रकाशित समाचार)

प्रतिक्रिया